Breaking News

दुग्ध उत्पादक किसानको प्रश्नः ‘बजारको सुनिश्चितता खोई ?’

Banner

ध्रुवराज खनाल

चितवन, चैत २८–

दुग्ध उत्पादक किसानहरुले उत्पादित दुधको बजार सुरक्षित हुनु पर्ने माग राखेका छन् । हुन त यो माग किसानको वर्षौदेखी पुरा हुन सकेको छैन् । राष्ट्रिय दुग्ध विकास वोर्डले शुक्रबार चितवनको रत्ननगरमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा पनि किसानको यस्तै माग प्रस्तुत भए । किसानले न त दुधको उचित मूल्य पाउन सकेका छन् न त बजार ग्यारेन्टी । बजारको सुनिश्चितता नहुँदा किसानहरुले बेला बेलामा मिल्क होलिडेको समस्या झेल्दै आएका छन् । उत्पादित दुधको उचित मूल्य नहुनु र बजार ग्यारेन्टी हुन नसक्दा किसान पशुपालनको जोखिममा पनि छन् ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव किशोर बगाले सरकारले बजारको ग्यारेन्टी गर्नु पर्ने बताउँछन् । ‘दुग्ध उत्पादक किसान प्रति सरकार उदार हुनु पर्छ’ जिल्ला सचिव बगालेले भने ‘ढुक्कसंग व्यवसाय संचालन गर्न दुध विक्री हुने सुनिश्चितता आवश्यक छ ।’ खपत हुने बेलामा समेत दुध विक्रीमा समस्या रहेको उनको भनाई छ । सरकारले बजारको सुनिश्चिततासंगै दुधको फाईदा, आवश्यकताका बारे जनचेतनामुलक कार्यक्रमलाई जोड दिनु पर्ने बगालेले बताए । निजी डेरीले दुध नउठाए मिल्क होलिडे हुने अवस्था अहिले पनि छ । ‘किसानले उत्पादन गरेको दुध डिडिसीले मात्र धान्न सक्दैन बगालेले भने ‘दुधको खपत बढाउने क्रियाकलापलाई बढावा दिनु पर्छ ।’

दुध उत्पादनमा नेपाल आत्मनिर्भर तर्फ उन्मुख छ । राष्ट्रिय दुग्ध विकास बोर्डले शुक्रबार चितवनको रत्ननगरमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा केन्द्रिय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायण देवकोटाले किसानलाई प्रोत्साहन हुने खालका गतिविधी गर्दै दुधको बजारीकरणमा ध्यान दिनु पर्ने बताए । कार्यक्रममा राष्ट्रिय दुग्ध विकास बोर्डका उपकार्यकारी निर्देशक बाबुकाजी पन्त र प्रदेश दुग्ध विकास बोर्डकी कार्यकारी निर्देशक डाक्टर सुलोचना श्रेष्ठले दुध उत्पादनको अवस्था, बजारीकरणका बारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
सो अवसरमा बागमती प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले दुध उत्पादन किसानको समस्या समाधानका लागि सरकारले पाउडर दुध प्लान्ट, चकलेट उद्योग,दाना उद्योगको निर्माण कार्य धमाधम गरिरहेको बताए । बागमती प्रदेश सरकारको लगानीमा मकवानपुरमा पाउडर प्लान्ट र चितवनमा चकलेट उद्योग निर्माण भईरहेको छ ।

राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डाक्टर राजेन्द्र यादवको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष टिका बल्लभ सापकोटा, केन्द्रिय पशुपंक्षी सहकारी संंघका अध्यक्ष बाबुराम अधिकारी,डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहाल लगायतले मन्तव्य राखेका थिए । जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवनका अनुसार यस जिल्लामा मात्रै दैनिक ३ लाख लिटर दुध उत्पादन हुँदै आएको छ । यहाँ उत्पादित दुध हेडौडा, पोखरा, काठमाडौ र ठिमुरास्थित पाउडर कारखानामा खपत हुने गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>