Breaking News

चितवनमा वायु प्रदूषण फेरि बढ्यो, घर बाहिर ननिस्कन विज्ञको सुझाव

Banner

मधुसूदन दवाडी

चितवन, चैत २३-

चितवनमा फेरि वायु प्रदूषण बढेकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन जनस्वास्थ्य विज्ञले सुझाव दिएका छन् ।

वायु प्रदूषणले स्वाशप्रश्वासमा कठिनाइलगायत विविध स्वास्थ्य समस्या देखा पर्नसक्ने भएकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र निस्कनैपर्ने अवस्था भए मास्कको प्रयोग गर्न आग्रह गरेका छन् ।

वातावरण विभागका वातावरण निरीक्षक राजेश्वर पौडेलले चितवनको वायु प्रदूषण बढेको नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘ चितवनको वायु प्रदूषण मापदण्ड १०० भन्दा माथि पुगेको छ । नेपालमा ४० सम्मलाई स्वस्थ्य मानिन्छ ।’ उनले विश्व स्वास्थ्य संगठनले त २५ सम्मलाई स्वस्थ्य भन्ने मापदण्ड बनाएको जानकारी दिए ।

उनले वायु प्रदूषणका कारणले फोक्सोमा क्यान्सर, मुटुसम्बन्धी रोग, मस्तिष्कघात, हृदयघात जस्ता समस्या देखिने भएकोले बाहिर ननिस्कन अनुरोध गरे ।

वायु प्रदूषणका कारणले आँखा रातो हुने, घाँटीमा समस्या आउने र टाउको दुख्ने जस्ता समस्या आउने गर्दछन् । नेपालमा वर्सेनि वायु प्रदूषणका कारण उत्पन्न हुने रोगका कारणले ३० देखि ३५ हजार मानिसको मृत्यु हुने गरेको छ । विश्वमा ७० लाख मानिसको मृत्यु हुने गरेको छ ।
भरतपुर अस्पतालका प्रवक्ता तथा बाल रोग विशेषज्ञ युवानिधि बसौलाले चितवनको निजी अस्पताल र सरकारी अस्पतालमा प्रदूषणको असरले बिरामी परेका बालबालिकाको संख्या बढिरहेको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ प्रदूषणले बालबालिका बढी प्रभावित हुन्छन् । उनीहरुमा विशेष त छातीको समस्या, रुघा, खोकी र झाडा वान्ताको समस्या देखिन्छ ।’ बालरोग विशेषज्ञ बसौलाले बालबालिका घर बाहिर ननिस्कन अनुरोध गरेका छन् ।

यसअघि चितवनमा यही चैतको १३ गतेदेखि पनि यस्तै किसिमको प्रदूषण भएको थियो । प्रदूषणका कारणले चितवनको हवाइ उडान र शैक्षिक संस्थाहरु सबै बन्द भएका थिए । फेरि प्रदुषण बढेसँगै आज भरतपुर विमानस्थलबाट पोखरा र काठमाडौँमा हुने सबै उडान बन्द भएका छन् । भरतपुर विमानस्थलका प्रवन्धक योगेन्द्र कुँवरले आज कुनै पनि उडान नभएको नारायणी अनलाइनलाई जानकारी दिए । भरतपुरमा बुद्ध एयरलाइन्सका ८ वटा उडान र यतीका चार उडान हुँदै आएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>