खेलकुद
रत्ननगरमा बहुउद्देश्यीय कभर्ड हल निर्माण हुँदै

चितवन, चैत १९–
पूर्वी चितवनको रत्ननगरमा बहुउद्देश्यीय कभर्ड हल निर्माण हुने भएको छ । भरतपुर महानगरपालिका पश्चात जिल्लाकै ठूलो नगरपालिकामा पर्ने रत्ननगरमा खेलकुदका गतिविधि बढाउन रत्ननगर–४, देवौलीमा बहुउद्देश्यीय कभर्ड हल निर्माण गर्न लागिएको हो ।
कभर्ड हलको एक कार्यक्रमकाबीच रत्ननगरका मेयर नारायण वनले शिलान्यास गरेका छन् । सो क्रममा बोल्दै उनले यस कभर्ड हलले युवाहरुलाई खेलकुदमा प्रेरित गर्ने विश्वास व्यक्त गरे । शिलान्यास कार्यक्रममा रत्ननगर–४ का वडाध्यक्ष तथा वडा सदस्यहरु, स्थानीय समाजसेवीलगायतको उपस्थिति रहेको थियो ।
कभर्ड हल निर्माणका लागि छुट्टै निर्माण समिति बनाईएको छ । जसको अध्यक्षमा शंकर प्रकाश श्रेष्ठ, सचिवमा कपिल अधिकारी, सदस्यहरुमा सुरेश चौधरी, केदार थापा र लक्षमण परियार रहेका छन् ।
बागमती प्रदेश सरकार र रत्ननगर नगरपालिकाको संयुक्त लगानीमा कभर्ड हल निर्माण हुन लागेको हो ।
























