Breaking News
मनकामना केवलकार डिजिटल प्रविधिमा स्तरोन्नति गरिँदै, सेवा अझै प्रभावकारी हुने कम्पनीको दाबी

चितवन, चैत १९-
चितवनको कुरिनटारमा रहेको मनकामना केवलकार डिजिटल प्रविधिमा स्तरोन्नति हुने भएको छ ।
२३ वर्ष अघि स्थापना भएको नेपालको पहिलो केवलकार एनालगबाट डिजिटल प्रविधिमा जाने तयारी गरेको हो ।
‘हामीले केवलकारलाई तीन चरण गरेर स्तरोन्नति गर्दैछौं’, ‘केवलकारमा विकास भएको पछिल्लो प्रविधि जडान गरेर स्तरोन्नति गरिनेछ । यसबाट सञ्चालन, मर्मत सम्भार खर्च समेत कम हुनेछ ।’ मनकामना दर्शन प्रालिले २०५५ साल मंसिरबाट सुरु गरेको यो केवलकार तीन चरणमा स्तरोन्नति गरिने कम्पनीका कार्यकारी सञ्चालक राजेशबाबु श्रेष्ठले जानकारी दिए।
उनका अनुसार पहिलो चरणमा तत्काल अति आवश्यक र मर्मत गर्न नसकिने पार्टपूर्जाहरु फेर्ने, दोस्रो चरणमा नयाँ प्रविधि मैत्री बनाउन पूर्वाधार तयार तथा केही पार्टपूर्जा फेर्ने र अन्तिम चरणमा एनालगबाट डिजिटलमा स्तरोन्नति गरिनेछ । यो बाहेक केवलकार चल्ने मुख्य लठ्ठा पनि फेरिने उनले जानकारी दिए ।
श्रेष्ठले कम्युनिकेशन केवललाई सेट्रा केवल र डिसी ड्राइभलाई एसी ड्राइभमा रुपान्तरण गरिने जानकारी दिए। ‘दुई वर्षको अवधिमा यी सबै काम सकिएर नयाँ प्रविधिबाट केवलकार सञ्चालन हुनेछ । यो स्तरोन्नति गर्दा सेवा पटकपटक अवरुद्ध पनि हुन सक्छ,’ उनले भने, ‘सेवा अवरुद्ध हुने सूचना जारी गर्नेछौ ं। सूचना जारी गरे बाहेकको समयमा केवलकार पूर्ववत रुपमा सञ्चालन हुनेछ ।’ श्रेष्ठले निश्चित समयपछि केवलकार मर्मत र स्तरोन्नति गर्नुपर्ने बताउँदै स्तरोन्नतिपछि सेवा अझै चुस्त हुने जीकिर गरे।
























