Breaking News
चितवनमा राष्ट्रिय जनगणनाको लागि सात कार्यालय स्थापना, ८९५ गणक खटिँदै

चितवन, चैत १०-
चितवनमा राष्ट्रिय जनगणनाको तयारी तीव्र पारिएको छ ।
चैत १ गतेदेखि जिल्ला जनगणना कार्यालय स्थापना गरी तयारीलाई तीव्र पारिएको हो । तथ्यांक कार्यालय चितवनको भवन भरतपुरमा नै कार्यालय स्थापना गरिएको छ । यस कार्यालयले चितवनसहित नवलपरासी पूर्व र पश्चिम हेर्छ । चैत १ गतेदेखि २०७८ असार मसान्तसम्म चार महिनाका लागि कार्यालय स्थापना गरिएको हो ।
चितवनमा जनगणनाका लागि ८९५ गणक र २०३ जना सुपरिबेक्षकको दरबन्दी प्राप्त भएको छ । गणकले एक महिना र सुपरिवेक्षकले दु्ई महिना काम पाउनेछन् । दुवै पदका लागि चैत १५ गतेसम्म अनलाइनमार्फत फर्म भर्न सकिनेछ । गणकका लागि १२ कक्षा र सुपरिवेक्षकका लागि स्नातक उतीर्ण गरेको हुनुपर्दछ । गणकहरुले अवको एक महिनापछि प्रत्येकको घरमा पुगेर विवरण संकलन गर्दैछन् ।
जनगणना समन्वय र सहजीकरण समितिहरुको गठन
राष्ट्रिय जनगणना सञ्चालन तथा व्यवस्थापन आदेश–२०७६ बमोजिम चितवनमा जिल्ला जनगणना समन्वय समिति गठन गरिसकिएको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको हो । जसमा प्रमुख कोष नियन्त्रक, प्रमुख प्रहरी उपरीक्षक, शिक्षा इकाइ प्रमुख, महानगरपालिकाका अधिकृत स्तरको कर्मचारी, जिल्ला समन्वय अधिकारी र जिल्ला जनगणना अधिकारी सदस्य सचिव रहने व्यवस्था छ । आवश्यकता अनुसार तीन जना आमन्त्रित सदस्यको रुपमा राख्न सकिनेछ । समितिको पहिलो बैठक गत चैत ४ गते सम्पन्न भइसकेकको छ । जिल्ला स्तरीय जनगणना सहजीकरण सयन्त्र निमार्णको चरणमा छ । जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा सातै स्थानीय निकायका प्रमुख तथा उपप्रमुख समिति सदस्य रहनेछन् । यस समितिको सदस्य सचिवमा जिल्ला जनगणना अधिकारी रहनेछन् । यस्तै प्रत्येक वडामा वडाध्यक्षको संयोजकत्वमा वडास्तरीय जनगणना सहजीकरण समिति बन्ने क्रममा छ ।
सात स्थानीय जनगणना कार्यालय स्थापना
देश संघीयतामा गइसकेपछि पहिलो पटक हुन लागेको यस जनगणना कार्यलाई महत्वका साथ हेरिएको छ । चितवनमा सात वटा स्थानीय जनगणना कार्यालय रहनेछन् । जसअन्तर्गत भरतपुर, गीतानगर, चनौली, माडी, टाँडी जुटपानी र भण्डारामा कार्यालय रहनेछ । भरतपुर महानगगरपालिकामा मा तीन वटा, माडी नगरपालिकामा एक, रत्ननगर नगरपालिकामा एक, राप्ती नगरपालिकामा एक र कालिका नगरपालिकामा एक कार्यालय स्थापना गरिने जिल्ला जनगणना अधिकारी यज्ञमूर्ति भण्डारीले जानकारी दिए । इच्छाकामना गाउँपालिका क्षेत्रलाई जुटपानी जनगणना कार्यालयले हेर्नेछ । सात वटै स्थानमा स्थानीय जनगणना समन्वय समिति गठन गर्ने तयारीमा रहेको उनले बताए । समितिको प्रमु्खमा स्थानीय जनगणना अधिकारी रहने व्यवस्था छ ।
३४ प्रक्षिशक तालिममा पठाइयो
चितवनमा मात्र तीन महिलासहित ३४ जना गणक प्रशिक्षक खटाइँदैछ । उनीहरुलाई आजदेखि १५ गतेसम्म हेटौडामा तालिम हुदैंछ । विभिन्न कलेजमा जनसंख्या विषय अध्यापन गराउने शिक्षक तथा तालिम केन्द्र रहेका विद्यालयका जनसंख्या र गणित विषयका शिक्षकहरुलाई प्रशिक्षकको रुपमा खटाइन लागिएको हो । यसैगरी स्थानीय जनगणना अधिकारीको तालिम भने चैत १९ देखि २५ सम्म हुँदैछ ।
गणना सामग्री आइपुग्यो
गणनाका लागि आवश्यक ११५ बोरा सामग्री चितवनमा आइसकेको र भण्डारण गरिएको जिल्ला जनगणना अधिकारी भण्डारीले जानकारी दिए । गणनाका लागि जिल्लाका सबै स्थानीय निकायमा पत्राचार गरिसकिएको छ । आगामी दिनमा प्रचार प्रसारलाई तीव्र पारिने, विभिन्न चरणमा सरोकारवाला निकायसँग अन्तरक्रिया गोष्ठी गरिने, पर्चा पम्लेट वितरण गरिनेछ । यस्तै रेडियो तथा टेलिभिजनबाट जिङलहरु बजाइँदैछ ।
१९६८ सालदेखि प्रत्येक १०\१० वर्षमा हुँदै आएको राष्ट्रिय जनगणना २०७८ मा छुट्टै महत्वको हुनेछ । ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नाराका साथ आगामी जेठ २५ देखि असार ८ गतेसम्म १५ दिन राष्ट्रिय जनगणनाको मिति तय गरिएको छ । कोही नछुटोस् कोही नदोहरियोस् भन्ने उद्देश्यले सबैको घरमै पुगेर गणना गरिदैंछ । यसअघि २०५८ र २०६८ मा पूर्णगणना विधि र नमुना छनोट विधिबाट जनगणना गरिएको थियो। यसपटक भने पूर्णगणना विधिबाट जनगणना हुनेछ । ‘विगतमा बहुविधिबाट जनगणना हुन्थ्यो । यसपटक एकल विधिबाट जनगणना गर्दैछौं’, जनगणना अधिकारी भण्डारीले भने , ‘पहिले ८ घरमध्ये १ घर हुन्थ्यो भने यसपटक सबै घरमा पुगेर जनगणना गरिनेछ ।’
पारिवारिक विवरण तथा घरपरिवारको सूचीकरण सुपरिवेक्षकले स्थानीय तहमा पुगेर संकलन गर्नेछन् । यो काम २०७८ वैशाख २६ देखि जेठ १८ गतेसम्म हुनेछ । मुख्य प्रश्नावलीका लागि गणकहरू घरघरमा पुग्नेछन् । यो घर तथा पारिवारिक गणना जेठ २५ देखि असार ८ सम्म गर्ने तयारी गरिएको छ। जनगणनामा घरधनी बसोबास नगर्ने घर÷भवन÷मल पनि गणनामा समेटिँदैछ । अर्को सामुदायिक प्रश्नावली मुख्य जनगणनाको अवधिमा भरिनेछ । सुपरिवेक्षकले नै सामुदायिक प्रश्नावली भराउनेछन् । गाउँ, सहर छुट्ट्याउने गरी प्रश्नावली तयार गरिएको छ।
मातृभाषा थप
यसपटक जनगणनामा पुख्र्यौली भाषाको प्रश्न थप गरिएको छ । मातृभाषा र दोस्रो भाषा समावेश गरिएको छ ।
२०६८ को जनगणनामा नेपालको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ थियो । पुरुषको जनसंख्या एक करोड २८ लाख ४९ हजार ४१ र महिलाको जनसंख्या एक करोड ३६ लाख ४५ हजार ४६३ थियो । घरपरिवार संख्या ५४ लाख ५३ हजार २९७ थियो । जनसंख्या वृद्धिदर १.३५ प्रतिशत थियो । हालको जनसंख्या तीन करोड एक लाख ८० अनुमान गरिएको छ ।
























