Breaking News

सगरमाथाको देश मात्रै होइन, गैंडाको देश भनेर नेपाललाई चिनाऔंः वन मन्त्री आले

Banner

चितवन, चैत ९–

वन मन्त्री प्रेम आलेले नेपाललाई गैँडाको देश भनेर चिनाउन आवश्यक रहेको बताउनु भएको छ ।

राष्ट्रिय गैँडा गणनाको शुभारम्भका अवसरमा सोमबार सौराहामा आयोजित कार्यक्रममा बोल्दै उहाँले गैँडाको संरक्षण गरेर नेपाललाई गैँडाको देशका रुपमा परिचित गराउन आवश्यक रहेकामा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘दुर्लभ एक सिङ्गे गैँडा नेपाल र भारतमा मात्रै पाइने भएकाले यसलाई संरक्षण गर्न जरुरी रहेको छ ।’

चोरी–शिकारी हुने क्षेत्रमा कडाइ गर्न आवश्यक रहेको भन्दै उहाँले चोरी–शिकारीमा संलग्नलाई कडा कारवाही गर्न निकुञ्ज कर्मचारीहरुलाई निर्देशन दिनुभयो । मन्त्री आलेले भन्नुभयो, ‘विभिन्न तस्करहरुबाट खागका लागि गैँडा मारिने गरेको छ । यस्ता नाकाहरुमा कडाइ गर्दै जानुपर्छ ।’ पहिराका कारण गैँडा विस्थापित हुने खतरा बढेको उहाँको भनाइ थियो । संरक्षणमा देखिएका समस्याहरुलाई न्यूनीकरण गर्दै जानुपर्ने उहाँले बताउनुभयो । मन्त्री आलेले आन्तरिक पर्यटक मात्र नभएर बाह्य पर्यटकहरु पनि गैँडा हेर्नकै लागि नेपाल आउने गरेको भन्दै यसको संरक्षणमा सरकार गम्भिर बनेको बताउनुभयो ।

कार्यक्रममा स्वागत गर्दै चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले पछिल्लो ६ वर्षमा गैंडाको अवस्था बारे जानकारी गराउनु भएको थियो । उहाँले यसअवधिमा १६१ वटा गैंडा मरेको जानकारी दिनुभयो ।

सो अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद ओली, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, वन मन्त्रालयका सचिव डा विश्वनाथ ओली, राष्ट्रिय निकुञ्ज तथा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, राप्ती नगरपालिका प्रमुख प्रभा बराल, वाग्मती प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव सूर्यप्रसाद ढुङ्गाना, चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गाना, क्षेत्रीय होटेल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईलगायतले बोल्नुभएको थियो ।

कार्यक्रम वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा दीपककुमार खरालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>