नवलपरासी

नागरिक आरोग्य केन्द्र सञ्चालनमा

Banner

नवलपुर, चैत २-

नागरिकलाई आयुर्वेद चिकित्साप्रति आकर्षित गर्न नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र र हुप्सेकोट गाउँपालिकाको सहयोगमा आजदेखि नियमित सेवा दिने गरी केन्द्र सञ्चालन गरिएको हो । हराउँदै गएको आयुर्वेद चिकित्सा तथा यसको महत्वबारे बुझाउनसमेत केन्द्रको महत्वपूर्ण भूमिका रहने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख डा सुजाता शर्माले बताउनुभयो ।

हुप्सेकोट गाउँपालिका–१ मा स्थापना गरिएको केन्द्रबाट नागरिकलाई निःशुल्करुपमा आधारभूत सेवा प्रदान गर्ने शर्माको भनाइ छ । केन्द्रबाट आयुर्वेद सेवा, औषधि वितरण सेवा, ज्येष्ठ नागरिक आरोग्य सेवा, स्तनपायी कार्यक्रम, पूर्वकर्म, पञ्चकर्म, योग, जीवनशैलीलगायत विषयमा निःशुल्क सेवा प्रदान गरिने शर्माले जानकारी दिनुभयो । “सैद्धान्तिक हिसाबले आयुर्वेद चिकित्साका प्रमुख दुइ उद्देश्य रहेका छन्”, डा शर्माले भन्नुभयो, “स्वस्थ व्यक्तिको रक्षा गर्नु र रोगी व्यक्तिको रोग निर्मूल गर्नु नै आयुर्वेदको प्रमुख उद्देश्य हुन् ।” परापूर्वकालदेखि आयुर्वेद चिकित्सा अपनाउँदै आएको भए पनि पछिल्लो समय यो चिकित्सा पद्धति आझेलमा परेको भन्दै डा शर्माले आयुर्वेद चिकित्सा पद्धतिसँग हाम्रो जीवन जोडिएको बताउनुभयो । आयुर्वेदलाई धेरैले उपचार पद्धतिका रुपमा स्वीकार गर्न अनकनाइरहेका अवस्थामा एलोपेथिक उपचारपछि ठीक नभएका कतिपय बिरामी आयुर्वेदमा पुगेपछि निको हुने गरेका उहाँले बताउनुभयो ।

पछिल्लो समय विश्वमा फैलिएको कोभिड–१९ को महामारीका क्रममा धेरै मानिसले आयुर्वेदको महत्व बुझेका डा शर्माको भनाइ छ । आयुर्वेद चिकित्सा पद्धतिलाई हाम्रो जीवनसँग जोड्दै लैजानसके दीर्घ रोगबाट छुट्कारा पाउन सकिने उहाँले बताउनुभयो । जिल्लाका हरेक स्थानीय तहमा नागरिक आरोग्य केन्द्र स्थापनाका लागि काम थालिएको छ ।

सो कार्यक्रममा गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेले पूर्वीय सभ्यतामा आयुर्वेद विषयवस्तुबारे पहिलेदेखि वर्णन गरिएको बताउनुभयो । स्वस्थ रहनका लागि र रोगी अवस्थामा पनि निरोगी हुने उपायबारे हाम्रो पूर्वीय दर्शनमा उल्लेख गरिएको पाण्डेले बताउनुभयो । पौराणिककालदेखि नै आयुर्वेद चिकित्साको सबै व्यवस्थापन हुँदै आएको भए पनि त्यसलाई प्रयोगमा ल्याउने क्रममा आधुनिकतासँग समन्वय गरेर जाँदा पछाडि परिएको उहाँको भनाइ छ ।

सबै वडामा आधारभूत स्वास्थ्य केन्द्र

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिकाका सबै वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएको छ । जिल्ला सदरमुकामसमेत रहेको कावासोतीको १७ वटै वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएको हो ।

हरेक नगरवासीलाई सहजरुपमा आधारभूत स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले सबै वडामा स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ । नगरपालिकामा साबिकको पाँच गाविस रहँदाको स्वास्थ्य चौकी पाँचवटामा, शहरी स्वास्थ्य केन्द्र एउटामा र बाँकी ११ वटा वडामा आधारभूत स्वस्थ्य केन्द्र सञ्चालनमा ल्याइएको छ । पाँचवटा स्वास्थ्य चौकी र एउटा शहरी स्वास्थ्य केन्द्रको आफ्नै भवन भए पनि भाडाको घरमा सञ्चालित ११ वटा आधारभूत स्वास्थ्य केन्द्रका लागि आज एकै दिन भवन शिलान्यास गरिएको छ ।

नगरप्रमुख चन्द्राकुमारी पुनले गत वर्ष नै कावासोतीका सबै वडामा आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि बजेट विनियोजन गरिएको भए पनि भवन निर्माण गर्न लालपुर्जा भएको जग्गा नहुँदा बजेट फ्रिज भएको बताउनुभयो । भवन निर्माणका लागि यस वर्षदेखि लालपुर्जा भएको जग्गा अनिवार्य नभएका कारण असार मसान्तसम्म भवन निर्माण गरिसक्ने गरी काम अगाडि बढाइएको नगरप्रमुख पुनले बताउनुभयो । नगरपालिकाले आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माण गर्न प्रतिभवन रु ४५ लाखको दरले बोलपत्र आह्वान गरेको थियो ।

स्वास्थ्य सेवा केन्द्रको भवन निर्माणका लागि भ्याटबाहेक रु २४ लाखमा बोलपत्र स्वीकृत भएको नगरपालिकाका इन्जिनीयर पवन रुपाखेतीले जानकारी दिनुभयो । उक्त रकममा असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढेको रुपाखेतीले बताउनुभयो । वडावडा तहमा आधारभूत स्वास्थ्य केन्द्र पुगेपछि खुशी भएका वडावासीहरु आधारभूत स्वास्थ्य केन्द्रका लागि भवन नै निर्माण हुने भएपछि थप उत्साही देखिएका छन् । स्वास्थ्य आमनागरिकको नैसर्गिक अधिकार भएको भन्दै सहजरुपमा स्वास्थ्य सेवा प्रदान गर्न भवन निर्माणलाई प्राथमिकतामा राखिएको नगरउपप्रमुख प्रेमशङ्कर मर्दनियाले बताउनुभयो । स्वास्थ्य सेवा प्रदान गर्न आफ्नै भवन भएपछि स्वास्थ्य सेवा केन्द्रबाट प्रदान गरिने सेवासुविधालाई बढाउँदै लैजान सहयोग पुग्ने मर्दनियाको भनाइ छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>