चितवन विशेष
एमाले पार्टी कार्यालय चितवनमा युवा र विद्यार्थीलाई समसामयिक राजनीतिबारे प्रशिक्षण

चितवन, चैत १-
नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ चितवनले आज एमाले पार्टी कार्यालयमा आफ्नो साइन बोर्ड राख्दै युवाहरुलाई प्रशिक्षण दिएको छ । यसअघि नै अनेरास्ववियुले पनि आफ्नो बोर्ड राखेको थियो ।
विगतमा माओवादी केन्द्रसँग एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएपछि सबै बोर्ड हटाइएकोले पुन आज राखिएको हो ।
युवा संघ नेपाल चितवनका संयोजक सुशील केसी र अनेरास्ववियु चितवनका संयोजक प्रकाश आचार्यको संयोजनमा प्रशिक्षण कार्यक्रम तथा साइनबोर्ड राख्ने कार्यक्रम राखिएको हो ।

बोर्ड राखेपछि आयोजित प्रशिक्षण कार्यक्रममा वाग्मती प्रदेशका मुख्य मन्त्रीका राजनीतिक सल्लाहकार जेएन थपलिया, प्रदेश सांसदहरु कृष्ण भुर्तेल र विजय सुवेदी, एमालेकी राष्ट्रिय सभा सदस्य पार्वती रावल, एमाले नेता पुरुषोत्तम न्यौपाने लगायतले प्रशिक्षण दिएका थिए । कार्यक्रममा पार्टी नेता कमल पाठक र युवा संघ नेपालका केन्द्रीय सचिव प्रताप डल्लाकोटीको पनि सहभागिता रहेको थियो । कार्यक्रममा नेताहरुले समसामयिक राजनीतिक परिस्थितीको बारेमा युवा विद्यार्थीलाई प्रशिक्षण दिएको युवा संघ चितवनका सहसंयोजक शंकर अधिकारीले नारायणी अनलाइनलाई जानकारी दिए ।

























