Breaking News

चितवनमा पहिलोपटक भित्रियो ६ लाइन रोप्ने चार चक्के मेसिन, रत्ननगर र खैरहनीमा धमाधम रोपाइँ (फोटोफिचर)

Banner

चितवन, चैत १–

चितवनमा पहिलोपटक चार चक्के मेसिनबाट धान रोपाइँ गरिएको छ । रत्ननगर नगरपालिका–६ मा रहेको साना किसान कृषि सहकारी संस्था बछौली र खैरहनी–१२ स्थित साना किसान कृषि सहकारी संस्था कुमरोजले खरिद गरेको चार चक्के मेसिनबाट रोपाइँ गरिएको हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनले सहकारी संस्थामार्फत् धान रोप्नका लागि चीनबाट दुई वटा चारचक्के मेसिन मगाएको थियो । २० लाख ९० हजार रुपैयाँका दरले खरिद गरिएका दुई वटा मेसिनमा परियोजनाले ५० प्रतिशत अनुदान दिएको छ ।

मेसिन प्राप्त भएपछि शनिबारबाट दुई दिन सोही मेसिनबाट धान रोपाइँ गरिएको हो । परियोजनाको धान जोन कार्यक्रमका अधिकृत माधव पौडेलले यस मेसिनबाट धान रोप्दा उत्पादकत्व बढ्ने र खर्च घट्ने बताए । ‘यो प्रविधि सस्तो र सरल छ’ उनले भने ‘उत्पादकत्व बढ्ने भएकाले किसानको आकर्षण बढ्छ भन्नेमा विश्वस्त छौं ।’

सहकारी संस्थामार्फत् सञ्चालनमा आएको यस मेसिन देशमै पहिलो पटक हो । यसअघि झपाको महारानीझोडामा एक जना व्यवसायीले यस्तो मेसिन भित्र्याएका थिए । चितवनमा यसअघि तीन पांग्रे मेसिनबाट धान रोपाइँको थालनी भएको थियो । तर त्यसमा किसानको रूची खासै नदेखिएपछि परियोजनाले नयाँ विकल्पको रुपमा चार चक्के मेसिन ल्याउन तयारी थालेको थियो । यस मेसिनबाट भने किसान सन्तुष्ट देखिएका छन् ।

रत्ननगर–६ बछौलीकी इन्दिरा महतो मेसिनको रोपाइँबाट सन्तुष्ट छन् । ‘खेताला लगाएर रोपाईँ गर्दा खाना खुवाउने झन्झट हुन्थ्यो, अहिले धेरै सहज भयो’–उनले सुनाइन् । मेसिनको प्रयोगले खाना खुवाउने झन्झट मात्रै टरेन यसले लागत खर्च पनि घटाई दियो । ‘मेसिनको प्रयोगले झण्डै आधा खर्च कम गरेको छ, रोपाइँ गर्न हौसला मिलेको छ’–इन्दिराले भनिन् ।

यो मेसिनलाई किसान तहमा पु¥याउनका लागि डिको माइक्रोसिस्टमले काम गरिरहेको छ । यस कम्पनीका प्रवन्ध निर्देशक प्रकाश विष्ट भन्छन्–‘अहिले टेक्नोलोजी ट्रान्सफरको काम गरिरहेका छौं, त्यसपश्चात आउने समस्यालाई निराकरण गर्न हामी लागि परिरहेका छौं ।’
यस मेसिनले एक दिनमा ५ विगाहा जमिनमा धान रोप्न सक्छ । मेसिनको प्रयोग गरी धान रोप्नका लागि ब्याडको छुट्टै व्यवस्था गर्नुपर्छ । खेताला खोजेर खेतमै ब्याड राख्ने गरिएकोमा मेसिनले रोप्ने बीउ भने ‘ट्रे’(बीउ जमाउन प्रयोग गरिने भाँडो)मा जमाउनुपर्छ । उस्तै आकारका ट्रेमा माटो र मल राखेर जमाइएको बीउ रोप्न योग्य भएपछि मेसिनले खेतमा लगेर लाइन मिलाएर रोप्छ ।

बीउ लगाउने मेसिन पनि स्वचालित र मेनुअल पाइन्छन् । साना किसान कृषि सहकारी संस्था बछौलीसँग स्वचालित र कुमरोजसँग मेनुअल सिडर मेसिन छ । स्वचालित मेसिनले १ घन्टामा ५०० वटा ट्रेमा बीउ राख्न सक्छ । १६० वटा ट्रेमा हुर्किएको बीउले १ बिगाहा क्षेत्रफलमा रोप्न पुग्छ। एक दिनमा राखेको बीउले २५ बिगाहासम्म रोप्न सकिन्छ ।

नेपालका पहाडी क्षेत्रमा धान रोप्ने काममा महिलाहरू बढी खट्ने गर्छन्। तराई क्षेत्रमा भने पुरुषहरूले धान रोप्ने चलन बढ्दो क्रममा छ। चितवनमा चैते धान र वर्षे धान रोप्न पूर्वी र पश्चिम तराईबाट ठूलो संख्यामा पुरुष आउने गर्छन्। उनीहरू समयमै आएनन् भने यहाँ धान रोप्ने जनशक्तिकै अभाव हुनेगर्छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>