क्रिकेट

माडी क्रिकेट कपको सेमीफाइनल समीकरण पूरा

Banner

चितवन, फागुन २९–

माडीको वसन्तपुरमा माडी क्रिकेट कप राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ । शनिबार सम्पन्न खेलमा पोखरीया ११ वीरगञ्ज र देवेन्द्रपुर क्रिकेट क्लब विजयी भएसँगै सेमीफाइनल समीकरण पूरा भएको हो ।

शनिबारको पहिलो खेलमा पोखरीया ११ वीरगञ्जले भरतपुर स्टार क्रिकेट क्लबलाई ५ विकेट पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको भरतपुरले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १३४ रन बनाएको थियो । गुड्डु यादवले २९ बलमा ४६ रन बनाउनुभएको थियो । वीरगञ्जका लागि अभिषेक सिंह र विकास शाहले ३–३ विकेट लिनुभयो ।

जवाफमा १३५ रनको विजय लक्ष्य पछ्याएको वीरगञ्जले १६ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । वीरगञ्जका विकास दासले ६६ रनको योगदान तथा म्यान अफ द म्याचसमेत भएका अभिषेक सिंहले २३ रन प्रहार गर्नुभएको थियो ।
अर्को खेलमा भरतपुर २४ लाई १० विकेटले पराजित गदै देवेन्द्रपुर क्रिकेट क्लब माडी विजयी भएको छ । टस हारेर ब्याटिङको निम्ता पाएको भरतपुर २४ ले १७ ओभरमा अलआउट हुँदै ९४ रन बनाएको थियो । ९५ रनको विजयी लक्ष्य लिएर जवाफी ब्याटिङ गरेको देवेन्द्रपुरले बिना विकेटको क्षतिमा ४ ओभरमा लक्ष्य पूरा गर्न सफल भयो ।

सो खेलमा ६६ रन बनाएर नटआउट रहेका देवन्द्रपुरका धरमवीर चौधरी म्यान अफ द म्याच घोषित हुनुभएको छ । प्रतियोगिता अन्तर्गत आजको पहिलो सेमीफाइनल खेलमा दियो क्लब माडी विरुद्ध पोखरीया ११ वीरगञ्ज र दोश्रो खेलमा देवेन्द्रपुर क्रिकेट क्लब विरुद्ध वैरिया क्रिकेट क्लब टाँडीका बीचमा हुने खेल संयोजक सन्देश पौडेलले जानकारी दिनुभयो । १६ वटा समूहको सहभागिता रहेको सो प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँ तथा उपविजेताले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताको म्यान अफ द सिरिजले सात हजार ५०० रुपैयाँ, उत्कृष्ट ब्याट्स्म्यानले पाँच हजार रुपैयाँ, उत्कृष्ट फिल्डरले तीन हजार ५०० रुपैयाँ, उदयीमान खेलाडीले तीन हजार ५०० रुपैयाँ, प्रत्येक खेलका म्यान अफ दी म्याचले दुई हजार रुपैयाँ, अनुशासित टिमले पाँच हजार रुपैयाँ र सेमीफाइनलबाट बाहिरिने दुईवटै समूहलाई दश÷दश हजार रुपैयाँ प्रदान गरिने आयोजक कमिटीका अध्यक्ष पदम विलास पन्तले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>