चितवन विशेष

चितवनका पत्रकार पराजुलीको कथासंग्रह‘कुमाता’ माथि विमर्श

Banner

चितवन, फागुन २९-

पत्रकार एवम् कथाकार वसन्त पराजुलीको कथासङ्ग्रह ‘कुमाता’ को विमर्श कार्यक्रम शनिबार काठमाडौँमा सम्पन्न भएको छ । लघु कथा समाजको आयोजनामा विमर्श कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा लघु कथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले कथा साहित्यको क्षेत्रमा कुमाताले फरक धार अंगालेको स्पष्ट पार्दै कथाहरु नारी प्रधान रहेको बताए । ‘कुमाताले नेपाली कथा साहित्यको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको छ’, उनले भने, ‘किताव प्रकाशन भएको एक वर्षमा तेस्रो संस्करण आउने अवस्था बन्नु र तीन तीन वटा पुरस्कार हात पार्नु कथासंग्रहको वलियो पक्ष हो ।’

कार्यक्रममा कृति माथि समीक्षा गर्दै समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतमले कथाको विषय वस्तुहरु समसामयिक र हाम्रै समाज वरिपरीका रहेकाले पाठकहरुले रुचाएको बताए । ‘लेखकको पहिलो कृति भएकाले केही त्रुटि अवश्यनै छन्’, उनले भने ‘प्रस्तुतीको शैलीलाई आगामी सिर्जनाहरुमा ख्याल गर्न लेखकलाई सुझाव दिन्छु ।’

त्यसैगरी अर्की समीक्षक उपप्राध्यापक ज्ञानु अधिकारीले कुमाताका लेखक पराजुलीले कुमातामा राम्रा कथाहरु समावेश गरेको बताउँदै शीर्षकले नकारात्मक अर्थ दिए पनि कथाहरुमा समेटिएको विषयवस्तुले नारी अस्मिताकै पक्षमा बोलेको बताए । ‘कथाले समाज बोल्नु पर्छ, कुमाताभित्र समाज प्रस्ट झल्किएको छ’, उनले भने । कुमाता कथा संग्रह समग्रमा राम्रो भए पनि आगामी कृतिहरुमा नारी अस्मिताप्रति अझ संवेदशील हुनु पर्ने औल्याए ।

कुमाता कथासंग्रहका लेखक वसन्त पराजुलीले नारी सम्वेदनमा केन्द्रित भएर कथाहरु लेखिएको बताए । ‘नारीप्रधान विषयवस्तुलाई टपक्क टिप्दै काल्पनिकताको जलप लगाएर कथाहरू तयार भएकोले पाठकहरुले यसलाई मन पराइ दिएको मैले पाएको छु’,उनले भने । भुँडी पुराण प्रकाशन प्रालिका प्रवन्ध निर्देशक केशव पराजुलीले पुस्तकको तेस्रो सस्करण प्रकाशनको प्रकृया सुरु भएको जानकारी दिए ।

भुँडी पुराण प्रकाशन प्रालिले गत वर्षको फागुन २६ गते प्रकाशन गरेको कुमाता संग्रहले गत असारमा दोस्रो संस्करण निकालेको हो । यो पुस्तक चितवन साहित्य परिषद्को चिसाप राजकृष्ण कँडेल साहित्य पुरस्कार, राउण्ड टेवुल गसिफ हेटौंडाको सम्मान र हाम्रो मझेरी प्रतिष्ठानको स्रष्टा सम्मानबाट सम्मानित भएको कृति हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>