Breaking News

अमलेखगंजदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइनः १३ अर्बको बजेट लाग्ने

Banner

चितवन,फागुन २६-

बाराको अमलेखगंजदेखि चितवनको लोथरसम्म निर्माण हुने पेट्रोलियम पाइपलाइनको लागि विस्तृत अध्ययनको कार्य पूरा भएको छ। विस्तृत अध्ययन पूरा भइ प्रतिवेदन आपूर्ति मन्त्रालयमा बुझाइएको नेपाल आयल निगमको सर्वे टोलीले जनाएको छ। प्रतिवेदनमा पाइपलाइनको नक्सांकन,लाग्ने कुल खर्च तथा समयको बारेमा विस्तृत रिपोर्ट उल्लेख गरिएको जनाइएको छ।

नेपाल आयल निगम प्रादेशिक कार्यालय २, अमलेखगंज डिपोका प्रमुख भरत रेग्मीका अनुसार केही दिन अघि पाइपलाइनको विस्तृत अध्ययन प्रतिवेदन सर्वे टोलीले मन्त्रालयमा बुझाएको र मन्त्रालयले भारतको आईओसीसँग छलफल अगाडि बढाएपछि पाइपलाइन निर्माण कार्य अघि बढ्ने बताइएको छ। यसअघि नै बाराको अमलेखगंजदेखि लोथरसम्म पेट्रोलियम पाइपलाइन निर्माण बारे नेपाल-भारतबीच आपसी सहमति भइसकेको छ।

६९ किलोमिटर लम्बाइमा निर्माण हुने अमलेखगंज–लोथर पेट्रोलियम पाइपलाइनको लागि करिब १३ अर्ब आवश्यक बजेट लाग्ने अनुमान गरिएको छ। एशियाको प्रथम नेपाल-भारत अन्तरदेशीय पाइपलाइनको रुपमा मोतिहारी–अमलेखगंज पाइपलाइन एक वर्षदेखि सञ्चालनमा आएपछि अमलेखगंजदेखि लोथरसम्म पाइपलाइनलाई विस्तार गरेको खण्डमा नेपालका इन्धन आपूर्ति सहज तथा ढुवानी खर्च झण्डै वर्षको डेढ अर्ब बचत गर्ने सरकारको योजना छ।

एक वर्षदेखि मोतिहारीबाट पाइपमा अमलेखगंजसम्म डिजेल मात्र आइरहेको अवस्थामा भारतीय आयल कर्पोरेशन लिमिटेडले मोतिहारीमा पेट्रोल भण्डारण गरी सोही पाइपलाइनमा पेट्रोल पठाउन भर्टिकल ट्यांकी निर्माण गरिएको छ भने अमलेखगंजमा पनि पेट्रोल भण्डारण गर्ने आवश्यक पूर्वाधार निर्माण तथा तयारी भइरहेको अमलेखगंज प्रादेशिक कार्यालयका प्रमुख रेग्मीले बताए।

डिजेल आउने पाइपमै केही केमिकल राखेर पेट्रोल आयात गर्न सकिने छ। केमिकलले डिजेललाई सफा गरिदिएपछि मात्र पेट्रोल आउने छ। पाइपलाइन सञ्चालनपछि ट्यांकीबाट रक्सौलबाट डिजेल ढुवानी गर्न खर्च घटेर अहिले झण्डै एक अर्ब नेपाल आयाल निगमलाई बचत भइरहेको बताइएको छ। अमलेखगंज–लोथर पाइपलाइन सञ्चालनमा आएपछि उत्तरी र पश्चिमी नेपालमा इन्धन आपूर्ति थप सहज र कम खर्चिलो हुने छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>