Breaking News

चितवन मेडिकल कलेजमा ३० भेन्टिलेटर थपिएसँगै भेन्टिलेटरको संख्या ९८ पुग्यो 

Banner

चितवन, फागुन २५-

जटिल बिरामीको उपचारमा अत्यावश्यक हुने भेन्टिलेटर चितवन मेडिकल कलेजमा ९८ पुगेको छ ।

रोटरी इन्टरनेशनलले ३० वटा भेन्टिलेटर सहयोग गरेपछि कलेजमा संख्या थपिएको हो ।

यसअघि कलेजमा ६८ वटा भेन्टिलेटर रहेका थिए । तीमध्ये नौवटा बच्चाको उपचारमा प्रयोग गरिएको थियो भने अन्य विभिन्न विभागमा जडान गरिएका थिए । अस्पतालका अध्यक्ष एवम् प्रबन्ध निर्देशक प्राडा हरिश्चन्द्र न्यौपानेका अनुसार झण्डै  आठ करोड रुपैयाँ पर्ने ३० थान भेन्टिलेटर रोटरी क्लब अफ चितवनको सहकार्यमा रोटरी इन्टरनेशनलबाट प्राप्त भएको हो ।

रोटरी क्लब अफ चितवनका पूर्वअध्यक्ष राजु पौडेलका अनुसार रोटरीबाट प्राप्त भएका भेन्टिलेटरमा उपचार गराउने बिरामीका लागि शुल्क २५ प्रतिशतदेखि शतप्रतिशतसम्म छुट गरिनेछ ।

त्यसैगरी भेन्टिलेटरबाट बचेको रकम सुधार र अन्य समाजसेवामा खर्च गरिनेछ । उनले भने, ‘चतवन मेडिकल कलेजले सहकार्य गरेर मानवीय सेवामा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।’ यससँगै भेन्टिलेटरको अभावमा बिरामी राजधानी काठमाडौँ पठाउनुपर्ने बाध्यता केही हदसम्म हट्ने पौडेलको भनाइ छ ।

प्राडा न्यौपानेले एउटा भेन्टिलेटर जडान र सञ्चालन गर्न  ५० लाख रुपैयाँ हाराहारी खर्च हुने बताए । यस्तै क्रिटिकल केयरसम्बन्धी विज्ञ चिकित्सक र स्वास्थ्यकर्मी आवश्यक पर्ने भएकाले ठूलो संख्यामा यसको व्यवस्थापन गर्न कठिन भए पनि कलेजले व्यवस्थापन गरिरहेको उनको भनाइ छ ।

नेपालमा नै यो संख्यामा भेन्टिलेर अन्य अस्पतालमा सम्भवत नरहेको भन्दै उनले यससँगै चितवन र छिमेकी जिल्लाका बिरामी लाभान्वित हुने बताए ।  अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाका अनुसार गत वर्ष बहिरंग सेवामा चार लाख बिरामीले सेवा लिएका थिए जसमध्ये तीन लाख नयाँ थिए । यस्तै आकस्मिक ३६ हजार, भर्ना भएर उपचार लिने ३५ हजार, बिमाका ७५ हजार, जटिल शल्यक्रिया गराउनेको संख्या दुई हजार, निःशुल्क प्रसूति गराउने तीन हजार ५०० रहेको उनले जानकारी दिए ।

जटिल रोग भएर एक लाख रुपैयाँ सरकारको सहयोग पाउने ३७० जनाले सेवा लिएका छन् । निःशुल्क आठ हजारलाई डायलासिस, भरतपुर महानगरपालिकाका तीन हजार ५०० महिलालाई निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । ३२ हजार गरिब तथा विपन्नलाई छुट सुविधा दिएको उनले जानकारी दिए । छुटमा मात्रै रु तीन करोड ८५ लाख रुपैयाँ अस्पतालले खर्च गरेको देवकोटाले बताए ।

अस्पतालमा आएका बिरामीमध्ये ६१ प्रतिशत चितवनका थिए भने अन्य धेरै बिरामी नवलपरासी, गोरखा, लमजुङ, तनहुँ र मकवानपुरका रहेको उनको भनाइ छ । यस अस्पतालमा कतिपय रोगका बिरामीहरु काठमाडौँबाट समेत रिफर भएर आउने गरेको देवकोटाले जीकिर गरे । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>