Breaking News

भरतपुरमा धनगढा खानेपानी आयोजना उद्घाटन, १४ हजार बढीलाई स्वच्छ पानी वितरण

Banner

चितवन, फागुन २५-

भरतपुर महानगरपालिका–१२ मा धनगढा सहलगानी खानेपानी आयोजनाको उद्घाटन भएको छ ।

भरतपुर महानगर प्रमुख रेनु दाहालबाट उद्घाटन भएको यो आयोजना निर्माण अवधिभन्दा दुई महिना अगाडि सकिएको हो ।

नेपाल सरकार भरतपुर खानेपानी ब्यवस्थापन बोर्ड र संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भरतपुर महानगर र उपभोक्ताको समेत संयुक्त लगानीमा भरतपुर महानगरपालिका–१२ मा निर्मित खानेपानी आयोजना शर्मा सगरमाथा भिमेश्वर जेभीले निर्माण गरेको हो । आफूहरुले निकै मेहनत र सबैको साथका कारण समयभन्दा अगाडि निर्माण कार्य पूरा गर्न सफल बनेको निर्माण ब्यवसायी सहदेव खड्काले बताए ।

दुई हजार ११९ घरधुरीका १४ हजार ५६३ जनालाई स्वच्छ खानेपानी प्रदान गर्ने उद्देश्यले खानेपानी आयोजना निर्माण थालिएको भरतपुर खानेपानी ब्यवस्थापन बोर्डका कार्यकारी निर्देशक प्रजापति दाहालले बताए । यो आयोजना निर्माणका लागि २१ करोड ७७ लाख इस्टिमेट भएको र निर्माण ब्यवसायीले १२ करोड ७७ लाखमा ठेक्का लिएर काम सुरु गरी तोकिएको अवधिभन्दा दुई महिना अगाडि नै काम सकेको उनी बताउँछन् ।

आयोजना निर्माण पूरा भई पानी वितरण गरिरहेको र खानेपानी पाइप मर्मत् र सञ्चालनमा अहिले चुनौती भएको उनको भनाइ छ । सडक विस्तार नाला बिस्तारका क्रममा खानेपानीको पाइप काटिने कारणले मर्मत सम्भारमा समस्या भएको दाहालको भनाइ छ । ७१ सालमा सामान्य डिप बोरिङ र ६०० मिटर पाइप बिस्तार गरी पानी वितरण गरेको यो आयोजनालाई बिस्तार गरी भरतपुर महानगरका ९, ११ र १२ का वडावासीलाई नियमित पानी प्रदान गर्ने उद्देश्यसहित सबै प्रक्रिया पूरा गरी १८ महिनामा निर्माण सक्ने उद्देश्यसहित २०७४ साल जेठ २१ गते निर्माण सम्झौता भएको र अवधिभन्दा दुई महिना पहिले नै काम सकिएको दाहाल बताउँछन् । दाहालले अवधि अगाडि नै काम सकेको भन्दै निर्माण व्यवसायीलाई आभार प्रकट गरे ।

भरतपुर महानगर प्रमुख दाहाल र उपप्रमुख पार्वतीशाह ठकुरीले निर्माण ब्यवसायी सहदेव खड्कासहित खानेपानी आयोजना निर्माणमा लाग्ने उपभोक्ता समितिका पदाधिकारीहरुलाई प्रशंसापत्रद्वारा सम्मान गरेका थिए । कार्यक्रममा भरतपुर महानगर प्रमुख तथा खानेपानी ब्यवस्थापन बोर्डकी अध्यक्ष रेनु दाहालले महानगरवासीलाई सर्वसुलभ र स्वच्छ खानेपानी पु¥याउने उद्देश्यका साथ महानगरमा धमाधम खानेपनी आयोजना सञ्चालन भएको बताइन् ।

भरतपुर महानगर–२९ चौकीडाँडादेखि २८ गोलाघाटसम्मका स्थानीय बासिन्दाको स्वच्छ पिउने पानी खान पाउने अधिकार रहेको र ती सबै नागरिकलाई स्वच्छ खानेपानी प्रदान गर्न आफनो टिम निरन्तर लागिरहेको दाहालको भनाइ छ । आफूहरुले महानगरमा धेरै राम्रा र महत्वपूर्ण दीर्घकालीन महत्व राख्ने कामहरु गरेको र अब केही समयमै सबैको नतिजा देखिने उनले दाबी गरिन् । सिटी हल, गोन्द्राङ–पुलचोक सडक, ८८ किलोमिटर रिङरोड, लिङ्करोड, ८० किलोमिटर सडकमा एकनासको स्मार्ट सडक बत्ती जडान, नदी किनारलाई सि बिच निर्माण, लायन्सचोकमा तीन अर्ब लगानीमा अत्याधुनिक बहुउद्देश्यीय भवन निर्माण लगायतका कामहरु थालनी भएको दाहालले बताइन् ।

अबको बाँकी समयमा जनतामा गरेका प्रतिबद्धता पुूरा गर्ने र यस अगाडि थालनी भएका कामलाई पूर्णता दिने गरी आफूहरु लागिपरेको दाहालको भनाइ छ । महानगरले कृषि, शिक्षा, पर्यटन पूर्वाधार सबैमा निरन्तर काम गरिरहेको र अबको केही वर्षमा चितवन देशको प्रमुख विकसित सहर बन्ने मेयर दाहालले बताइन् ।

महानगर उपप्रमुख पार्वती शाह ठकुरीले चितवन विकासमा तीव्ररुपमा अगाडि बढेको र राज्यलाई नै चिनाउने ठूला महत्वपूर्ण आयोजनाहरु चितवनमा बनेको बताइन् । विकासका लागि यो पार्टी उ पार्टी नभनी सबै मिलेर हातेमालो गर्नुपर्ने उनको भनाइ छ ।

वडा नम्बर ९ का अध्यक्ष यमलाल कँडेलले आफ्ना वडामा केही निकै विपन्न समुदाय रहेको र उनीहरुका लागि खानेपानी जडान गर्दा सकेसम्म निःशुल्क जडान गरिदिन आवश्यक रहेको बताए । कोकाकोला कम्पनीले प्रभावित समुदायका लागि खानेपानीका लागि भनी २७ लाख बजेट दिएको र त्यो बजेट पानी ट्यांकी निर्माणमा लगानी भएकाले त्यही बजेटबाट आफ्ना उपभोक्ताका लागि निःशुल्क धारा जडान गर्न उनको आग्रह थियो ।

भरतपुर १२ का अध्यक्ष नरेन्द्र कन्दङ्वाले भरतपुर महानगरको पहलमा खानेपानी ट्यांकी निर्माणसँगै घरघरमा धारा बिस्तार भएपछि आफ्ना वडावासीलाई धेरै लाभ भएको बताए । उनले आफ्नो वडाको विकासका लागि वडाबाट गएको कुनै पनि फाइल आजका मितिसम्म महानगरबाट फिर्ता नआएको र हरेक योजनामा महानगर प्रमुख र उपप्रमुखको साथ रहेको बताए ।

संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजनाका प्रमुख जगन्नाथ दासले सबैको साथ र सहयोगले निर्धारित अवधिभन्दा अगाडि नै कामले पूर्णता पाएको बताए । उपभोक्ता समितिका अध्यक्ष मदन घिमिरेले सबै सरोकारवाला निकायको साथ र सहयोगका कारण निर्धारित मितिभन्दा चाँडो काम सम्पन्न गरी उपभोक्तालाई खानेपानी प्रदान गर्न सकिएको भन्दै सबैलाई आभार प्रकट गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>