Breaking News

राजनीतिक दाउपेचको मारमा चितवन मावि, अभिभावक भेलामा कोरम नै पुगेन

Banner

चितवन, फागुन २४-

विद्यालय व्यवस्थापन समितिमा आफ्नो मानिस चयन गर्न राजनीतिक दलहरुको राजनीतिक दाउपेच हुन थालेपछि चितवन माविमा आज बोलाइएको अभिभावक भेला संख्या नै नपुगी स्थगित भएको छ ।

भेलामा जम्मा १० प्रतिशत जति जम्मा ८९ जना अभिभावक मात्र उपस्थित भएको विद्यालय स्रोतले नारायणी अनलाइनलाई जानकारी दिएको छ । विद्यालयको अभिभावक भेलामा पुगेका एक अभिभावक रामचन्द्र न्यौपानेले भने, ‘ अभिभावकलाई भेलामा बोलाउने तर व्यवस्थापन समितिमा भने दलको आफ्नो मानिस चयन गर्ने भएकोले पनि कसैले आउन चासो दिएनन् ।’ उनले विद्यालयको वास्तविक अभिभावक भन्दा पनि दलको झण्डा बोक्ने कार्यकर्ता छान्ने प्रवृत्तिले विद्यालयले गति लिन नसकेको गुनासो गरे ।

यसअघि पनि विद्यालयले व्यवस्थापन समिति चयन गर्न नसक्दा भरतपुर महागरको नियमअनुसार वडाअध्यक्ष अरुणपीडित भण्डारीको अध्यक्षतामा व्यवस्थापन समिति गठन गरिएको थियो । उनको पनि ६ महिनाको कार्यकाल माघबाट सकियो अब थप्न मिल्ने प्रावधान छैन तर विद्यालयमा फेरि व्यवस्थापन समिति चयन गर्न समस्या देखिएको छ । सामान्यतया भरतपुरमा तीन ठूला माध्यमिक विद्यालयहरुले दलीय आधारमा विगतमा व्यवस्थापन समिति भागबण्डा गरेका थिए । जसमा व्यवस्थापन समितिको अध्यक्षमा भरतपुर माध्यमिक विद्यालय साबिक एमालेको भागमा, नारायणी माध्यमिक विद्यालय साविक माओवादीको भागमा र चितवन मावि कांग्रेसको भागमा परेको थियो । अहिले नेकपामा देखिएको विवादसँगै राजनीतिकरुपमा देशको राजनीतिको शक्ति सन्तुलन खलबलिन जाँदा चितवन माध्यमिक विद्यालयमा व्यवस्थापन समिति चयन गर्नु पनि निकै कठिन बनेको छ । कांग्रेस भित्र पनि विभिन्न समूहका आकांक्षीहरु भएकोले पनि व्यवस्थापन समिति गठन झनै पेचिलो बन्न गयो ।

किन बढ्यो दाउपेच ?

विद्यालयमा शिक्षक तथा शिक्षिका नियुक्तिदेखि साधनस्रोतसम्मको परिचालन व्यवस्थापन समितिकै जिम्मेवारीभित्र पर्छ । त्यसमा पनि चितवन मावि देशकै धेरै आम्दानी गर्ने साधनस्रोत सम्पन्न विद्यालय पर्छ । जसले चितवन मेडिकल कलेजदेखि विद्यालयको जग्गामा रहेको सटरहरुबाट वार्षिक लाखौं भाडा उठाउँछ । विद्यालयको क्यान्टिसमेत दलकै नेता आर्शिवादमा चलेको छ । विद्यालयको व्यवस्थापन समितिको अध्यक्षले मेडिकल कलेजदेखि सटरका व्यववसायीहरुसम्म आर्थिक फाइदा लिन चलखेल गर्न पाइने भएकोले पनि राजनीतिक दलहरुको दाउपेच यस विद्यालयमा बढेको हो ।

विद्यालयका शिक्षक विश्व वास्तोलाले चितवनमा पहिलोपटक अंग्रेजी माध्यममा पढाइ सुरु गर्ने यो विद्यालय भए पनि जुनरुपमा गति लिनुपर्ने हो सो रुपमा विद्यालयले गति लिन नसकेको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘राजनीतिक हस्तक्षेपको बारेमा मैले बोल्ने विषय होइन, सबैले बुझ्ने विषय हो । राजनीति भन्दा समाज बाहिर रहन सक्दैन ।’

त्यसैगरी भरतपुर महानगरको शैक्षिक योजना निर्माणमा विज्ञको रुपमा खटिएका बाबुराम दवाडीले प्रधानाध्यापकले राम्रो समन्वय गर्न नसकेकोले पनि विद्यालयको शैक्षिक गुणस्तर खस्किएको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘व्यवस्थापन समितिमा बस्नेहरुको विभिन्न आर्थिक फाइदा र स्वार्थ जोडिने भएकोले पनि त्यसलाई तोड्न कठिन भएको छ । शैक्षिक गुणस्तर भन्दा आर्थिक फाइदाले बढी प्राथमिकता पाएको छ ।’ कतिपय व्यवस्थापन समितिका मानिसहरुलाई विद्यालयको सटर आफ्नो मानिसलाई पार्नको लागि मरिहत्ते गर्ने गरेको उनले अनुभव सुनाए । उनले व्यवस्थापन समिति गठन गर्न नसके खाली भएको दुई जना शिक्षक राख्न पनि कठिन हुने जानकारी दिए । यसरी राजनीतिक प्रभावले संसदीय निर्वाचन जस्तै विद्यालयको व्यवस्थापन समिति गठन गर्न कठिन हुन थालेपछि पक्कै पनि शिक्षाको मन्दिर मानिएको विद्यालयको गुणस्तर बढ्ने सम्भावना नै नभएको विद्यालयका अभिभावकहरु बताउँछन् । सरकारबाट दिइने पाठ्यपुस्तक वापतको रकम अभिभावकहरुलाई फिर्ता नगरेको, राज्यबाट निःशुल्क घोषणा गरिए पनि विद्यार्थीबाट रकम असुल गर्ने गरेको, आफै व्यवस्थापन समितिमा रहेर विद्यालयको जग्गा लाई निकै कम शुल्क लिई भाडामा दिएर आर्थिक फाइदा गर्ने गरेको आरोप अभिभावक र सरोकारवालाहरुले लगाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>