Breaking News
विप्लव समूहका नेता बास्तोला भन्छन्ः ‘सरकार बनाउन सहयोग गर्छौ’

चितवन, फागुन २३–
नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता धमेन्द्र बास्तोलाले पार्टीमाथि लगाइएको प्रतिबन्ध फुकुवापछि सरकार बनाउन सहयोग गर्ने बताएका छन् ।
पार्टीको कार्यक्रममा सहभागिता जनाउन चितवन आएका नेता बास्तोलाले भरतपुर विमानस्थलमा नारायणी अनलाइनसंग कुरा गर्दै सरकार बनाउने कुरामा नेपाल कम्युनिष्ट पार्टीले साथ दिने बताए । ‘सरकारमा जादै नजाने भन्ने कुरा हुँदैन, पार्टी भनेकै सरकार बनाउने हो’ नेता बास्तोलाले भने ‘वैज्ञानिक समाजवादी सरकार बनाउन हामी सहयोग गर्छौ ।’
प्रधानमन्त्री ओलीले सरकारमा तपाईहरु आउनुस् भन्नुभयो भने सरकारमा जानुहुन्छ भन्ने पत्रकारको प्रश्नमा नेता बास्तोलाले भने–‘अहिले तीन बुँदा मात्रै सहमति भएको छ, अहिले त्यसलाई कार्यान्वयमा लैजान्छौं, बाँकी कुरा खुल्दै जान्छ ।’
नेता बास्तोलाले देशको राजनीतिक, आर्थिक समस्यालाई स्पष्ट रुपमा छलफल गेर समाधान गर्ने गरी सरकारसंग सहमति गरेको भन्दै देशलाई सुखी र समृद्ध बनाउन आफ्नो पार्टी लागि पर्ने बताए । सरकारसंग सहमति गरेपछि काँग्रेसले हतियार व्यवस्थापनको विषयमा प्रश्न उठाएपछि नेता बास्तोलाले त्यसलाई ठूलो विषय नभएको प्रतिक्रिया दिए । ‘हतियार व्यवस्थापनको विषय गौण हो, अहिले मूख्य समस्या देशको राजनीतिक आर्थिक समस्या हो’ नेता बास्तोलाले भने ‘त्यही समस्यालाई समाधान गर्न हामी अघि बढेका हौं, हामीसंग हतियार छैन ।’
नेता बास्तोला पार्टीको कार्यक्रममा सहभागि हुन सौराहा पुगेका छन् ।
























