Breaking News

चितवनमा आजदेखि ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई खोप लगाईंदै

Banner

भरतपुर,फागुन २३-

चितवनमा दोस्रो चरणको खोप अभियानअन्तर्गत आजदेखि ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिदैछ । चितवनमा दोस्रो चरणका लागि आवश्यक पर्ने खोप आइपुगेकाले आजदेखि जिल्लाका सबै खोप केन्द्रबाट ज्येष्ठ नगारिकलाई खोप प्रदान गरिने स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले ६५ वर्षमाथिका जेष्ठ नागरिकहरुलाई खोप लगाउने जानकारी दिनुभयो । ६५ वर्षमाथिका जनसङ्ख्या कति छन् भन्ने तथ्याङ्क भने ननिकालिएको उहाँले बताउनुभयो । यद्यपि चितवनमा ६० वर्षमाथिका मानिसको सङ्ख्या ६५ हजार ८०६ जना रहेको तिवारीले बताउनुभयो । ६५ वर्षमाथिको उमेर भएको पहिचान खुल्ने जुनसुकै सरकारी परिचय पत्र देखाएर पनि खोप लगाउन सकिने उहाँको भनाइ छ ।

उहाँले जिल्लाका ७६ वटा स्वास्थ्य संस्थालाई खोप केन्द्र घोषणा गरिएको जानकारी दिनुभयो । सबैलाई आआफ्नो क्षेत्रबाट खोप लगाउन उहाँले आग्रह गर्नुभएको छ । बाहिर जिल्लाबाट आएका वृद्धवृद्धालाई अवस्था हेरेर खोप लगाउने व्यवस्था मिलाउने उहाँले बताउनुभयो ।

५५ देखि ६० वर्ष उमेरका नागरिक भने ५० हजारको हाराहारीमा रहेको तिवारीले बताउनुभयो । हाललाई ६५ वर्षमाथिका नागरिकलाई खोप लगाउने सरकारको योजना रहेकाले ६५ वर्षमाथिका नागरिकलाई लगाइ सकेपश्चात ६० माथि र ५५ माथिका उमेर समूहलाई लगाउन सकिने उहाँको भनाइ छ । आजदेखि शुरु हुने दोस्रो चरणको खोप अभियानमा पहिलो चारणमा छुटेकाहरुलाई पनि लगाइने तिवारीले बताउनुभयो । तर, पहिलो चरणमा त्यत्रो समय हुँदाहुँदै पनि नलगाएकाले छुटेका जति सबैले अवसर नपाउन सक्ने उहाँले बताउनुभयो ।

खोप लगाउनका लागि २५१ जना स्वास्थ्यकर्मी र २२८ जना स्वयंसेवकलाई तालिम दिएर तयारी अवस्थामा राखिएको तिवारीको भनाइ छ । उनीहरुलाई फागुन १७ देखि १९ गतेसम्म तालिम दिइएको थियो । खोपको एउटा भायलमा १० डोज हुने बताउँदै तिवारीले भायल खोलिसकेपश्चात त्यसलाई कतै नसारिकन सबै ६ घण्टाभित्र सकाउनुपर्ने जानकारी दिनुभयो ।

खोपको डोजलाई खेर जान नदिन ३ बजेपछि चाहीँ मान्छे जम्मा भएपछि मात्र खोल्न भनिएको उहाँले बताउनुभयो । सकभर १० जना नै पु¥याएर खोप लगाउन भनिएको भन्दै उहाँले नभए ७ जनासम्मलाई लगाउने गरीमात्र भायल खोल्न भनिएको बताउनुभयो । दोस्रो चरणका लागि चितवनमा २७ हजार डोज खोप प्राप्त भएको तिवारीको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>