Breaking News
चितवनमा गैंडा मारेको अभियोगमा थप तीन जना पक्राउ

चितवन, फागुन १३–
चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एक सिंगे गैंडा मारी खाग विक्री गरेको अभियोगमा थप तीन जना पक्राउ परेका छन् ।
प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्जबाट खटिएको प्रहरी टोलीले फरार रहेका थप तीन जना प्रतिवादीहरुलाई पक्राउ गर्न सफल भएको हो ।
पक्राउ पर्नेमा काठमाडैंको धापासीबाट सल्यान शारदा नगरपालिका–५ बस्ने ३१ वर्षीय पुरन रेउले र सितापाईलाबाट काभ्रे मन्डन देउपुर नगरपालिका–१० ज्यामिरे बस्ने ४८ वर्षीय आइत तामाङ र रसुवा साविक सरमथली गाविस–६ हाल नौकुण्ड गाँउपालिका–३ वस्ने ३६ वर्षीय ज्ञानबहादुर रुम्वा रहेका छन् । ब्युरोले उनीहरुले गैंडाको खाग ओसारपसार एवं खरिद बिक्री गर्न प्रयोग गरेको ना २ च १४५८ नम्बरको गाडी समेत बरामद गरेको छ ।
पक्राउ परेका र उनीहरुबाट बरामद सामानलाई आवश्यक कानुनी कारबाहीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरामा राखिएको छ । यसअघि निकुञ्जले केहीदिन पहिले गैंडा मारेको अभियोगमा १४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।
पछिल्लो समय चितवन राष्ट्रिय निकुञ्जमा गैंडा तस्करीको घटना बढ्दो अवस्थामा रहेको छ । पछिल्लो गणना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६०५ वटा गैंडा छन् ।
























