चितवन विशेष
नेपालीलाई घुम्न मात्रै विदेश जाने बनाउँछौंः मन्त्री लामा

चितवन, फागुन ११–
बागमती प्रदेशका भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले स्वदेशमै रोजगार सृजना गरेर युवाहरुलाई विदेशिनबाट रोक्न सरकारले काम गरिरहेको बताएका छन् ।
पूर्वी चितवनको खैरहनी–१० स्थित शान्तिबजार आधारभुत विद्यालयमा निर्माण गर्न लागिएको भवनको शिलान्यास गर्दै मन्त्री लामाले अध्ययनको लागि विदेशिने युवाहरुलाई यही शिक्षासंगै रोजगार सृजना गर्नु पर्ने बताएका हुन् । ‘विदेशिने क्रमलाई रोक्न नसके वृद्धवृद्धा र बालबालिका मात्रै स्वदेशमा हुन्छन्’ मन्त्री लामाले भने ‘नेपाली घुम्नका लागि मात्रै विदेश जाने गरि सरकारले काम गरिरहेको छ ।
कृषि र पर्यटनको माध्यमबाट स्वदेशमै प्रशस्त रोजगारी सृजना हुने समेत मन्त्री लामाको भनाई थियो ।
‘लेखेपढेका मान्छे विदेश जानु पर्छ भन्ने सोच त्याग्नु पर्छ’ मन्त्री लामाले भने ‘त्यस्ता व्यक्तीलाई स्वदेशमै राखेर समृद्धि गर्नुपर्छ ।’ कृषि मन्त्री लामाले रोजगारी सृजना गर्नका लागि डेरीजन्य उद्योग स्थापनामा प्रदेश सरकारले प्रशस्त लगानी गरेको पनि बताए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष डिल्लीराम सापकोटाको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा खैरहनी–१० का वडाध्यक्ष कारीराम चौधरी, कठार माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद घिमिरेले मन्तव्य राखेका थिए । विद्यालयका प्रधानाध्यापक लेखराज धरेलका अनुसार मन्त्री लामाको प्रदेश साँसद विकास कोष मार्फत विनियोजित १० लाख रुपैयाँले भवन निर्माण गर्न लागिएको हो । उपभोक्ता समिति गठन गरेर चैत मसान्तभित्र निर्माण सम्पन्न गर्ने गरि काम सुरु भएको प्रधानाध्यापक धरेलले जानकारी दिए ।
























