Breaking News

हेटौंडाको नेपाली घ्यू जापानमा लोकप्रिय, १० महिनामा ५१ हजार लिटर निर्यात

Banner

हेटौंडा, फागनु ११-

सरकारको स्वामित्वमा सञ्चालित हेटौंडा दुग्ध वितरण आयोजनाद्वारा उत्पादित घ्यू जापानमा निर्यात हुन थालेपछि माग समेत बढेको छ ।

आयोजनाका प्रमुख नरेश जोशी अनुसार गत वैशाख देखि माघ महिनासम्ममा ५१ हजार लिटर घ्यू निर्यात भएको थियो । उनले जापानमा नेपाली घ्यूको माग बढ्दै गएको र एक पटकमा सात÷आठ हजार लिटर घ्यू निर्यात हुने गरेको बताए । अहिलेसम्म सात पटक घ्यू निर्यात भइसकेको छ । आयोजनाले दैनिक ५०० लिटर घ्यू उत्पादन गर्ने गर्छ ।

हेटौंडा औद्योगिक क्षेत्रमा ३८ रोपनी जमीनमा विसं २०३० को वैशाखमा डेनिस सरकारको आर्थिक एवम् प्राविधिक सहयोगमा दुग्ध विकास संस्थान अन्तर्गत आयोजना स्थापना भएको थियो । आयोजनाबाट दैनिक २५ हजार लिटर दुग्ध मकवानपुर, वारा, पर्सा , सर्लाही र रौतहट जिल्लामा संकलन भइरहेको छ ।

ती मध्ये प्रशोधित छ हजार ५०० लिटर दुग्ध र १५ सय लिटर दही दैनिक बिक्रीवितरण हुने गरेको आयोजनाले जनाएको छ । आयोजनाले दैनिक ६ हजार कृषक घरपरिवारबाट दुग्ध खरिद गरी उनीहरुलाई मासिक तीन करोड रुपैयाँदेखि पाँच करोडसम्म भुक्तानी गर्दै आएको छ ।

बेमौसममा तीन करोड र अन्य मौसममा पाँच करोड भुक्तानी भएको छ । आयोजनाको प्रशोधित क्षमता प्रतिघण्टा तीन हजार लिटर दुग्ध रहेको छ । यसका साथै दही, पनीर, घ्यू, मख्खन फ्रसमिल्क, लालमोहन, रसबरी, आइसक्रिम, प्रशोधित क्रिम, पेडा र खुवालगायतका दुग्ध पदार्थ उत्पादन गरी बिक्रीवितरण भइरहेको बताइएको छ ।

उत्पादित उपरोक्त दुग्ध पदार्थ वीरगन्ज, नारायणघाट र हेटौँडाको शहरी तथा ग्रामीण बजार क्षेत्रमा बिक्री हुने गरेको र थप बजार क्षेत्र बढ्दै गएको आयोजनाले जनाएको छ । आयोजना अन्तर्गत सात चिस्यान केन्द्र क्रमश ः चन्द्रनिगाहपुर, गरुडा ,नवलपुर , बरहथवा, हरैया, बसवरिया र सिम्रोनगढमा रहेको छ । मकवानपुरलगायत अन्य जिल्लाको दुग्ध उत्पादक सहकारी संस्थाबाटसमेत दुग्ध संकलन हुने गरेको आयोजनाका अधिकृत ठाकुरदास श्रेष्ठले भने, ‘आयोजनाले आवश्यकता अनुसारको दूध खपतगरी बढी भएको दूध बालाजुलगायत अन्य आयोजनामा पठाउने गरेको छ ।’

आयोजनाको ६० हजार लिटर दूध भण्डारण क्षमता रहेको छ । दही तीन हजार लिटर, घ्यू, मख्खन ,पनिर उत्पादन क्षमताप्रति दिन ५०० केजी , फेसमिल्क , एक हजार ५०० बोतल प्रति सिफ्ट, पेडा ३६० प्याकेट प्रतिदिन र लालमोहन ९०० प्याकेट प्रतिदिन उत्पादन हुने गरेको उनले जानकरी दिए । बिक्रीवितरण क्षेत्रमा तीन वितरक, २८ डिलर र १९७ बिक्री बुथमार्फत बिक्री भइरहेको छ । लकडाउनमा पनि आयोजनाले आफ्नो सेवालाई निरन्तरता दिएको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>