Breaking News
चितवनमा ट्राफिक जरीवाना अब बैंकिङ प्रणालीबाट तिर्न पाइने

चितवन,फागुन ५-
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन र मातहतका कार्यालयले लिँदै आएको ट्राफिक जरिवाना बैंकिङ प्रणालीमार्फत लिन सुरु गरेको छ । जरिवाना बुुझाउनुपर्ने सवारी साधनका चालकले ग्लोबल आईएमई बैंकको चितवनमा रहेका शाखामा जरिवाना तिर्न सक्नेगरी व्यवस्था गरिएको छ ।
बैंकमा जरिवाना बुुझाएपछि चालक गोविन्द प्रसाद तिवारीलाई कागजपत्र फिर्ता गर्दै वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाले कार्यक्रमको शुुभारम्भ गर्नुभएको हो । ट्राफिक जरिवाना बैंकिङ प्रणालीबाट संकलन गर्ने कार्यको शुुभारम्भ गर्दै प्रहरी नायब महानिरीक्षक लामाले प्रहरीले गर्ने कामलाई प्रविधिमैत्री बनाउन अग्रसर रहेको बताउनुभयो । सहज र प्रभावकारी ढंगले सेवाग्राहीको काम गर्न प्रहरी प्रतिवद्ध भएको भन्दै लामाले सहज रुपमा जरिवाना तिर्ने व्यवस्था मिलाउन आग्रह गर्नुभएको छ ।
बैंकिङ प्रणालीले प्रहरीको कामलाई सहज बनाउने भन्दै लामाले जरिवाना तिर्ने व्यक्तिलाई झण्झटिलो नहुनेगरी काम गर्न निर्देशन दिनुभयो । प्रहरी कर्मचारी आर्थिक लोभ लालचबाट टाढा रहनुपर्ने भन्दै लामाले यसको नियन्त्रणको लागि आफू लागिरहेको बताउनुभयो । प्रहरीलाई इमान्दार बनाउनका लागि सबै जिम्मेवार हुनुपर्ने भन्दै लामाले प्रहरी ठीक नभएसम्म सेवा प्रवाह समेत ठीक नहुने भएकाले शुद्धिकरण अभियान सञ्चालन गरेको बताउनुभयो ।
कार्यक्रममा वाग्मती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बाटो बाटोमा पैसा उठाउने कार्य अन्त्य गर्नका लागि बैंकिङ प्रणालीको सुरुआत गरिएको बताउनुभयो । प्रहरीको सेवा प्रवाह समय सापेक्ष परिवर्तन गर्दै बैंकिङ प्रणाली लागू गरिएको कोइरालाको भनाइ छ । बैंकिङ प्रणालीबाट जरिवाना संकलन गर्दा सजिलो र पारदर्शी हुने भन्दै कोइरालाले ट्राफिक प्रहरीको कामकाज समेत छिटो छरितो हुने बताउनुभयो ।
सो कार्यक्रममा नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका उपाध्यक्ष रामप्रसाद सुवेदीले सडकका कारण दुर्घटना बढ्दै गएको बताउनुभयो । बैंकिङ प्रणालीमार्फत कारोबार गर्दा ट्राफिक प्रहरीलाई सहज भए पनि सवारी साधनका चालकहरुलाई भने समस्या हुने भन्दै उहाँले जरिवाना तिर्नका लागि छुट्टै काउण्टर सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । बैंकमा लामो समयसम्म लाइन लाग्नुपर्ने, बजारमा पार्किङ गर्ने स्थानको अभाव हुँदा चालकलाई थप समस्या हुने सुवेदीको भनाइ थियो ।
सो कार्यक्रममा कोष तथा लेखा नियन्त्रकको कार्यालय चितवनका प्रमुख महेन्द्र भण्डारी, ग्लोबल आईएमई बैंक लिमिटेड शहीदचोक शाखाका प्रबन्धक नारायण प्रसाद पौडेल, सामुदायिक सेवा केन्द्र नारायणगढकी अध्यक्ष मिना खरेललगायतले मन्तव्य राख्नुभएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओम प्रसाद अधिकारीले धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेका थिए ।


























