Breaking News

गृहजिल्ला अछाममा भीम रावल अल्पमतमा, सहकर्मी सबैले छाडे साथ

Banner

काठमाडौँ, माघ २५-

प्रधानमन्त्री केपी शर्मा ओलीसँग राजनीतिक रुपमा विभाजित भएर गएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावल गृहजिल्ला अछाममा कमजोर भएका छन् ।

एकपछि अर्काे सहकर्मीले साथ छाडेर ओली समूहमा लागेपछि नेता रावल अल्पमतमा परेका हुन् ।

ओलीसमूहसँग अलग भएर पुष्पकमल दाहाल नेतृत्वको नेकपामा लागेका पूर्वगृहमन्त्री रावल निर्वाचन क्षेत्र नम्बर १ मा ५० प्रतिशत र क्षेत्र नम्बर २ मा २५ प्रतिशतमा खुम्चिँदा गृह जिल्लामा नै कमजोर देखिएका हुन् ।

विघटित प्रतिनिधिसभामा दुई जना सांसदले प्रतिनिधित्व गर्दै आएको अछामको क्षेत्र नम्बर २ का सांसद यज्ञबहादुर बोगटी ओली समूहमा खुलेर लागेका छन्। ‘निर्वाचन क्षेत्र नम्बर १ मा ५० प्रतिशत नेता कार्यकर्ता ओली पक्षमा खुलेका छन्। निर्वाचन क्षेत्र नम्बर २ मा ७५ प्रतिशत खुलेको अवस्था छ,’ निर्वतमान सांसद बोगटीले भने, ‘जिल्ला भरीमा हाम्रो नै बहुमत देखिएको छ, जिल्ला कमिटी, स्थानीय तहदेखि पार्टीका विभिन्न कमिटीहरूमा हाम्रो पक्षमा जनमत देखिएको छ ।’

बोगटीकाअनुसार पूर्वमाओवादीको अलि बढी संख्या रावलसँगै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपामा लागेका छन्। पूर्वएमालेका ७५ प्रतिशत नेता तथा कार्यकर्ता ओली समूहमा खुलेका छन् ।

सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला योजनामन्त्री झपटबहादुर बोहोराले मन्त्री पद त्यागेर प्रधानमन्त्री ओलीलाई साथ दिएका छन् । उनी अछाम( १ (ख) बाट प्रदेशसभा सांसद निर्वाचित भएका हुन् । तत्कालिन माओवादी केन्द्रबाट विजयी भएका बोहोरा मन्त्री पदबाट राजीनामा दिएर ओलीको पक्षमा उभिएका हुन् ।

यसैगरी, पूर्वसभासद तथा विना विभागीय मन्त्री रहेका भीमबहादुर कडायत, पूर्वसभासद भैरे कामी पनि ओलीको पक्षमा खुलेर लागेका छन् । जिल्ला समन्वय समितिका सभापति कृष्णप्रसाद जैसी पनि ओलीको कित्तामा लागेका छन् ।

तत्कालिन एमालेका अध्यक्ष कमल तिमल्सिना, मंगलसेन नगरपालिकाको मेयर पदम बोहोरा र उपमेयर सरिता उपाध्याय पनि ओलीको पक्षमा खुलेका छन् । अछाम जिल्लामा क्षेत्र नम्बर( २ मा विजयी नेकपाले मंगलसेनमा मात्रै स्थानीय तहमा विजयी हासिल गरेको थियो ।

बामपन्थी आन्दोलनमा योगदान पु¥याएका प्रभावशाली नेता चन्द्र बोहोरा ओली समूहका अध्यक्ष बनेका छन् । माओवादीनिकट तत्कालिन अखिल क्रान्तिकारीका सचिव डिबी साउँद ओलीको पक्षमा लागेका छन् । हाल उनलाई ओली समूहले जिल्ला कमिटी सचिवको जिम्मेवारी दिएको छ ।

तत्कालिन संविधानसभाका उम्मेदवार शिवप्रसाद उपाध्यायदेखि केन्द्रीय सदस्यहरू कटक साउद, भीम जनला, कमल रावल, मना अधिकारी, देवबहादुर कुवँर र पृथ्वी भण्डारी पनि ओलीको पक्षमा खुलेका छन्।

उद्योग मन्त्री लेखराज भट्टले तत्कालिन माओवादीबाट प्रतिनिधित्व गर्ने स्थानीय तहका प्रतिनिधिहरूलाई पनि ओली समूहमा ल्याउनका लागि पहल गरिरहेका छन् । पूर्वमाओवादीले जितेका दुई स्थानीय तहका प्रमुख र उपप्रमुख र वडा अध्यक्षलगायतका नेताहरू पनि ओलीको पक्षमा खुल्ने दाबी गरिँदै आएको छ ।

निवर्तमान सांसद बोगटी र एमाले जिल्ला कमिटीका अध्यक्ष तिमल्सिनाले संगठन विस्तारका लागि प्रयत्न गरिरहेको ओलीनिकट नेताहरूले बताए । पूर्व एमालेमा रहेका ६० प्रतिशतभन्दा बढी समर्थक ओलीको पक्षमा रहेको नेताहरूले दावी रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>