Breaking News

चितवनसम्म पेट्रोलियम पाइप लाइनः प्राविधिक प्रतिवेदन अन्तिम चरणमा,डीपीआरको तयारी

Banner

चितवन,माघ २२-

अमलेखगन्ज–लोथर पेट्रोलियम पाइप लाइनको प्राविधिक प्रतिवेदन अन्तिम चरणमा पुुगेको छ । नेपाल आयल निगमको प्राविधिक कमिटीले अध्ययन प्रतिवेदन तयारी अवस्थामा रहेको जनाएको छ । प्रतिवेदनका आधारमा थप काम अघि बढाइने निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुुभयो ।

मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइप लाइनलाई विस्तार गरी चितवनको लोथरसम्म ल्याइने छ । त्यहाँ भण्डारण पनि निर्माण गरिनेछ । गत आर्थिक वर्षमा निगमले पाइप लाइनको प्रारम्भिक सर्भे गरेको थियो । पाइप लाइन र जग्गाको सर्भे सकिएको छ । अब डीपीआर निर्माण प्रक्रियामा अघि बढ्ने निगमले जनाएको छ ।

निगमका अनुसार ६५ किलोमिटर लामो अमलेखगन्ज–लोथर पाइप लाइनको नक्साङ्कन गरिएको रुटको प्राविधिक अध्ययन गरिएको छ । नक्सा तथा लेआउटको काम सकिएको छ । डीपीआरलगायत आयोजनाको मोडालिटीबारे भारतसँग छलफल गरिने प्रवक्ता उपाध्यायले जानकारी दिनुुभयो । लोथरमा एक लाख किलोलिटर पट्रोलियम पदार्थ भण्डारण गरिने छ ।

त्यस्तै, सिलगुढी–झापा पेट्रोलियम पाइप लाइन परियोजनाको प्राविधिक प्रतिवेदन पनि अन्तिम चरणमा रहेको छ । डिटेल इन्जिनियरिङ सर्भे सपन्न भएको छ । नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनको संयुक्त प्राविधिक अध्ययन टोलीले सर्भे गरेको हो । सर्भेले झापाको चारआलीदेखि मेचीभन्सार हुँदै भारतीय सीमासम्मको नेपालतर्फको १५ किलोमिटर पाइप लाइनको रुट पहिचान गरेको छ ।

पाइप लाइनबाट ल्याएको पेट्रोलियम पदार्थलाई चारआलीमा भण्डारण गरिने छ । कुल ४१ हजार ६५० किलोलिटर क्षमताको पेट्रोलियम पदार्थ भण्डारण निर्माण हुनेछ ।
१२ हजार किलोलिटर पेट्रोल, २८ हजार किलोलिटर डिजेल, चार सय किलोलिटर मट्टितेल र १२ सय किलोलिटर हवाई इन्धन भण्डारण क्षमताको भण्डारण कक्ष निर्माण गरिने छ । यहाँ प्रदेश १ लाई ९० दिनसम्म पुग्ने पेट्रोलियम पदार्थको भण्डारण हुनेछ ।

चारआलीमा एलपी ग्यास भण्डारण र बोटलिङ प्लान्टको निर्माण कार्य पनि सुरु भएको छ । आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रमअन्तर्गत निगमको वार्षिक कार्यक्रमअनुसार पाइप लाइनको काम अघि बढाइएको निगमले जनाएको छ । गोरखापत्रबाट

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>