Breaking News

उवा संघ खैरहनीको पाँचौ अधिवेशनः दुई प्यानलबीच कडा प्रतिस्पर्धा

Banner

ध्रुबराज खनाल,

चितवन,माघ १९-

पूर्वीचितवनको खैरहनीमा रहेको उद्योग वाणिज्य संघ खैरहनीको १०औँ वार्षिक साधारण तथा पाँचौँ अधिवेशन सुरु भएको छ । आइतबार सुरु भएको साधारण सभाको खैरहनीका नगरप्रमुख लालमणि चौधरीले उद्घाटन गर्नुभयो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख चौधरीले विकास रिले दौड भएकाले क्रमशः हुदै जाने बताउनुभयो । ‘एकै पटक विकास खोजेर हुँदैन’ नगरप्रमुख चौधरीले भन्नुभयो, ‘रिले दौडमा तीन चार जना मिलेर दौडिएर जित हासिल गरे झैँ क्रमिक रुपमा विकास निर्माणको काम गर्नुपर्छ ।’ यहाँका जनताले विकासको अनुभूति गर्नेगरि खैरहनीमा शीत भण्डार, मह प्रशोधन केन्द्र, दुग्धजन्य पदार्थ उद्योग निर्माण भइसकेको र दाना उद्योग निर्माणको क्रममा रहेको चौधरीले बताउनुभयो ।

यस्ता परियोजनामा निजी क्षेत्रको साझेदारी पनि आवश्यक रहेको चौधरीको भनाइ छ । यहाँका उद्योगी, व्यवसायीलगायत सम्पूर्ण नगरवासीको सहयोगकै कारण आन्तरिक आम्दानी बढ्दै गएको चौधरीले बताउनुभयो । संघका अध्यक्ष चन्द्रप्रसाद सापकोटाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा उद्योग वाणिज्य संघ वाग्मती प्रदेश अध्यक्ष दिलसुन्दर श्रेष्ठ, प्रदेश कोषाध्यक्ष एवं उद्योग वाणिज्य संघ खैरहनीका निवर्तमान अध्यक्ष गुणराज श्रेष्ठ, नेकपा प्रतिनिधि कुलप्रसाद भुसाल, नेपाली कांग्रेस नगर सभापति शशिकुमार खनिया, रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठ, उद्योग वाणिज्य संघ खैरहनीका महासचिव कुमार खनाल लगायतले मन्तव्य राख्नुभएको थियो ।

संघको नयाँ कार्यसमिति चयनका लागि आज सोमबार मतदान हुँदैछ । अधिवेशनमा नेकपा निकट व्यवसायीको प्रगतिशील समूह र नेपाली कांग्रेस निकट व्यवसायीको लोकतान्त्रिक समूह चुनावी मैदानमा छन् । प्रगतिशील समूहको नेतृत्व शेषकुमारी सडौला ओलीले गर्नुभएको छ भने लोकतान्त्रिक समूहको नेतृत्व दिपेन श्रेष्ठ हिराले गर्नुभएको छ ।

प्रगतिशील समूहबाट अध्यक्षमा ओली तथा लोकतान्त्रिक समूहबाट श्रेष्ठले अध्यक्षमा उम्मेदवारी दिएका छन् । ११ वर्षअघि संघमा प्रवेश गर्नुभएकी ओली कार्यसमिति सदस्य, महासचिव हुँदै हाल द्वितीय उपाध्यक्ष हुनुहुन्छ । लोकतान्त्रिक समूहबाट अध्यक्ष पदका उम्मेदवार श्रेष्ठ भने कार्यसमिति सदस्य, द्वितीय उपाध्यक्ष र हाल सदस्यमा रहेर काम गर्नुभएको छ ।

प्रगतिशील समूहबाट वाणिज्यतर्फ सदस्यमा अर्जुन लम्साल, विनोद नेपाल, लक्ष्मण निरौला, तिलकमणि पाठक, प्रेमनारायण जोशी, प्रेमबहादुर विक, अजयकुमार रावल र दुर्गा घिमिरे तथा उद्योगतर्फ सदस्यहरुमा रामेश्वर पोखरेल, चिरञ्जीवि अर्याल, नवीनकुमार श्रेष्ठ, अम्मरराज उप्रेती, लालमणि कुँवर, रामशरण कार्की र रामकृष्ण चौधरीको उम्मेदवारी छ ।

त्यस्तै, लोकतान्त्रिक समूहबाट वाणिज्यतर्फ सदस्यमा कुमार खनाल, केदारनाथ बर्तौला, विनोद अर्याल, अनिल श्रेष्ठ, विक्रम खड्का, प्रशान्त अधिकारी, रामेश्वर चौधरी, रामचन्द्र विश्वकर्मा र क्षेत्रबहादुर रावलले उम्मेदवारी दिनुभएको छ । उद्योग सदस्यमा किरण बुर्लाकोटी, अनुप अधिकारी, शङ्कर कँडेल, कृष्णबहादुर श्रेष्ठ, जगतबहादुर पाण्डे र विक्रम चौधरीको उम्मेदवारी परेको छ ।

दुवै समूहले चुनाव जित्नका लागि घरदैलो अभियानै सञ्चालन गरेर मत मागिसकेका छन् । यो चुनावलाई कतिपयले राजनीतिक प्रतिष्ठाको विषयको रुपमा समेत लिएका छन् । मतदानबाट बहुमत सदस्य प्राप्त गर्ने समूहले पदाधिकारी चयन गर्ने व्यवस्था छ । एसोसिएट सदस्यबाट निर्विरोध निर्वाचित हुनुभएका शिवराज उप्रेती भने निर्विरोध तृतीय उपाध्यक्षमा चयन हुनुभएको छ । एसोसिएट सदस्य तृतीय उपाध्यक्ष हुने व्यवस्था छ । नयाँ कार्यसमिति चयनका लागि यहाँका १ हजार ४३० उद्योगी तथा व्यवसायीले मताधिकार प्रयोग गर्नेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>