Breaking News

ओलीले देशलाई प्रतिगमनको साँघुरो गल्लीमा उभ्याए: लिलामणि पोख्रेल

Banner

हिरालाल आचार्य ‘डायमण्ड’

चितवन, माघ ५–

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका केन्द्रीय नेता लिलामणि पोख्रेलले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई प्रतिगमनको साँघुरो गल्लीमा उभ्याएको बताएका छन् ।

नेकपा भरतपुर महानगरपालिका संघर्ष समितिले आज चौबिसकोठीमा गरेको वृहत् बिरोध सभामा उनले यस्तो बताएका हुन् । संसद विघटन गरी ओलीले वैशाखमा चुनाव घोषणा गर्नु संविधान विपरित भएको बताउँदै उनले यस्तो कार्यले देशलाई प्रतिगमनको साँघुरो गल्लीमा उभ्याउने बताए ।

खड्कप्रसाद ओलीले संविधानमाथि खड्ग प्रहार गरेको बताउँदै उनले ओलीको कदमको सबैले बिरोध गर्नुपर्ने बताए । ओलीको कदमले कम्युनिस्ट पार्टी बदनाम हुनुपरेको भन्दै उनले ओलीले पार्टीमाथि गद्दारी गरेको आरोप लगाए । पार्टी एकता भएदेखि नै ओलीले पार्टी फुटाउने षड्यन्त्र गरिरहेको आरोप लगाउँदै उनले आफू अल्पमतमा परेपछि ओलीले संसद विघटन गरेको बताए ।

पटकपटक गृहमन्त्री र दुई पटकसम्म प्रधानमन्त्री हुँदा पनि मदन भण्डारीको हत्यारा किन पत्ता लगाउन नसकेको भन्दै प्रधानमन्त्री ओलीलाई पोख्रेलले कार्यक्रममा प्रश्न पनि गरेका थिए । मुलुकमा विदेशी शक्तिको चलखेल बढ्दै गएको बताउँदै उनले नेपाललाई रणभूमि बनाउने प्रयास भइरहेको धारणा राखे । प्रधानमन्त्री ओलीले विदेशी चलखेलविरुद्ध प्रतिवाद गर्न नसकेको बताउँदै उनले ओली विदेशी शक्तिसँग मिलेको आरोप लगाए । मुलक अध्यारोतिर धकेलिँदै गएको बताउँदै उनले यसलाई रोक्न जनताहरु सजग हुनुपर्ने धारणा राखे ।

विरोध कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले चुनाव चिन्ह नेकपाकै हुने बताउँदै उक्त नेकपाका बुहुमत सदस्य ओलीको विरोधमा रहेको बताए । प्रधानमन्त्री ओलीले सेटिङ् मिलाएर चुनाव चिन्ह र पार्टी लिन्छन् भनेर भ्रममा नपर्न उनले कार्यकर्तालाई आग्रह गरे ।

पूर्वएमाले र पूर्वमाओवादीको धारलाई पूर्णरुपमा भुल्न नसक्नु नै आजको समस्या भएको बताउँदै उनले अब यस्तो प्रवृत्तिलाई त्याग्नुपर्ने बताए । कुनै पनि नेताको पक्ष र विपक्षमा नभै सिंगो नेकपाको पक्षमा कार्यकर्तालाई रहन आग्रह गर्दे उनले पक्षविपक्षले गुट जन्माउने बताए । गुटले गर्दा नै पार्टीमा समस्या आउने बताउँदै उनले आगामी दिनमा गुटबन्दी बन्द गर्नुपर्ने धारणा राखे । संसद पुनः स्थापना भएपछि ओलीको दुष सपना चकनाचुर हुने बताउँदै उनले संसद पुनः स्थापना हुनुपर्ने धारणा राखे ।

पूर्वी चितवनका बाम बुद्धिजीवी प्रेम रिमालले संविधानमा संसद विघटनको कुनै धारा नभएको बताए । संसद विघटनको धारा कसैले देखाएमा आफू ओलीको जयजयकार गाउँदै हिँड्ने बताउँदै उनले उक्त धारा देखाउन चुनौती प्रस्तुत गरेका थिए । ओलीले आफ्ना सारा गल्तीहरु सच्याएर आएमा आफूहरु ओलीलाई नेकपाको अध्यक्ष मान्न तयार रहेको उनले बताए । आफूलाई विधि पद्धति चाहिएको बताउँदै उनले विधि पद्धति नमान्ने सबैको विरोध गर्नुपर्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>