Breaking News

संविधानमा नभएको व्याख्या सर्वोच्च अदालतले गर्दैनः अध्यक्ष दाहाल

Banner

कास्की, पुस २८–

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतको फैसलाबाट नै प्रतिनिधिसभा पुनःस्थापना हुने बताउनुभएको छ । पार्टी गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई आज पोखरामा सम्बोधन गर्दै उहाँले अदालतले संविधानको सही व्याख्या गर्ने र पुनःस्थापना हुन्छ भन्नेमा आफूहरु विश्वस्त रहेकाले कार्यकर्तालाई ढुक्क हुन आग्रह गर्नुभयो ।

पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो, “सर्वोच्च अदालतले संविधानको अक्षर, भावना र मर्मको व्याख्या गर्ने हो, आफूखुशी संशोधन गर्ने होइन । संविधानमा हुँदै नभएको व्याख्या गर्छ भन्ने मलाई पटक्कै विश्वास छैन, तपाईँहरु ढुक्क हुनुहोला, प्रतिनिधिसभा पुनःस्थापना भइछाड्छ ।”

अध्यक्ष दाहालले संविधानविद्, पूर्वन्यायाधीश र धेरै मानिससँगको अन्तक्र्रियाबाट प्रतिनिधिसभा पुनःस्थापना हुने विश्वास रहेको बताउँदै उहाँले संविधान र लोकतन्त्र अप्ठ्यारो परेको बेला राष्ट्रका जिम्मेवार नागरिकले यसबारेमा आवाज उठाउनुपर्नेमा जोड दिनुभयो ।

“माथिदेखि तलसम्म सबै पार्टी सङ्गठन विघटनको घोषणा गरेका छौँ, राजनीतिक प्रतिवेदन र विधान नयाँ बनाएका छौँ र त्यहीअनुसार परिचालित छौँ । अब पुनः पछाडि फर्काउने षड्यन्त्र परास्त गरी छाड्छौँ”, अध्यक्ष दाहालले भन्नुभयो । उहाँले संवैधानिक अङ्गले कानूनबमोजिम पार्टी आधिकारिकताको विवाद निरुपण गर्ने विश्वास गर्नुभयो । आफूहरुले बहुमत केन्द्रीय सदस्यको प्रतिनिधित्व गरेको जिकिर गर्दै उहाँले नेकपा र चुनाव चिह्न सूर्य पनि आफूहरुले पाउनुपर्ने दाबी निर्वाचन आयोगसमक्ष गरिएको बताउनुभयो ।

पार्टीका अर्का अध्यक्ष माधवकुमार नेपालले बाटो बिराएर गएकालाई गल्ती स्वीकार गरेर पार्टीमा फर्कन आग्रह गर्दै पार्टीलाई एकीकृत र गतिशील बनाउन आफूूहरु लागिपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “विधि, विधान र अनुशासनको पालना नगर्दा मात्र पार्टी कमजोर हुन्छ, अन्तरसङ्घर्षले पार्टी कमजोर हुँदैन । गुटवादी, व्यक्तिवादी र अहङ्कार त्यागौँ र पार्टीलाई एक ढिक्का बनाऔँ ।”

पूर्वप्रधानमन्त्री नेपालले सबै संविधानमा बाँधिएकाले संवैधानिक सर्वोच्चताभन्दा माथि कोही नहुने बताउँदै आफ्नो समूहले प्रतिनिधिसभा विघटनविरुद्ध संयुक्त सङ्घर्षको पहल गरिरहेको जानकारी दिनुभयो ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले कम्युनिष्ट आन्दोलन र पार्टीलाई एकताबद्ध बनाउनुपर्ने प्रमुख दायित्व रहेको बताउँदै संवैधानिक अङ्गले कहीँकतैबाट पनि दबाब र प्रभावमा परेर निर्णय गर्न नहुनेमा जोड दिनुभयो । कार्यक्रममा पार्टी गण्डकी प्रदेशका इञ्चार्ज देवेन्द्र पौडेल, सहइञ्चार्ज यशोदा सुवेदी, प्रदेश कमिटीका सचिव श्रीमाया थकालीलगायतले प्रदेशमा पार्टी सङ्गठन सुदृढीकरण र प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलन प्रभावकारी बनाइने बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>