Breaking News

प्रचण्डलाई चितवनमा अब चुनाव लड्ने आँट नै आउँदैन: नेता सापकोटा

Banner

हरि सापकोटा चितवनको कम्युनिस्ट आन्दोलनमा चिरपरिचित नाम हो । विसं २०१८ असोज १७ गते पर्वतको मोदी गाउँपालिका वडा नम्बर ५ मा जन्मिएका सापकोटा १० वर्षको हुँदा २०२८ सालमा परिवारसहित चितवन बसाइँ झरे । भरतपुर महानगरपालिका–६ केशरबागमा स्थायीरुपमा बस्न थालेका सापकोटा अरुणोदय माध्यमिक विद्यालय गीतानगरमा पढ्दै गर्दा १५ वर्षको उमेरबाटै कोअर्डिनेसन केन्द्रमार्फत् कम्युनिस्ट राजनीतिमा प्रवेश गरे ।

कम्युनिस्ट नेता नरबहादुर खाँडबाट प्रभावित भएर सुरुमा स्टुडेण्ट रेडगार्ड दलबाट राजनीतिमा प्रवेश गरेका सापकोटा २०३८ सालमा नेकपा मालेमा आवद्ध बने । भूमिगत कालमा सापकोटा पूर्वी चितवनको भण्डारा, पिप्लेदेखि महाकालीको दार्चुलासम्म पार्टीको संगठन विस्तारमा पुगे । केहीसमय जेल जीवन पनि बिताएका सापकोटा २०४६ सालको राजनीतिक परिवर्तनपछि २०४८ सालमा महाकाली अञ्चल संगठन कमिटीको उपसचिव हुँदै कपिलवस्तुमा पार्टी सचिवको जिम्मेवारी निभाए । २०४९ सालमा नेकपा एमालेको नारायणी अञ्चल कमिटी सदस्य, विसं २०५४ सालदेखि २०५८ सालसम्म एमालेको जिल्ला सचिव भएर काम गरे । त्यसैगरी २०६५ सालको बुटवल महाधिवेशनबाट केन्द्रीय अनुशासन आयोगको सचिवमा उनी नियुक्त भए । २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारले सापकोटालाई चितवनको सुकुमबासी समस्या समाधान आयोगको अध्यक्ष बनायो । सोही समय उनले चितवनमा एक हजार ४४९ पुर्जा सुकुमबासीलाई बाँड्न सफल भए । झण्डै पाँच दशकदेखि कुनै लाभको पद नलिई निरन्तर कम्युनिस्ट राजनीतिमा लागेका सरल जीवनशैलीका उदाहरणीय व्यक्तित्व सापकोटालाई हालसालै ओली पक्षले नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यमा मनोनित गरेको छ । देशको बदलिँदो राजनीतिक अवस्थाबारे नेता सापकोटासँग नारायणी अनलाइनले कुराकानी गरेको छ । प्रस्तुत छ अन्तर्वार्ताको सम्पादित अंशः

प्रश्न : त्यो बेलाको कम्युनिस्ट राजनीति र अहिलेको राजनीतिमा के अन्तर छ ?

आकाश जमिनको फरक छ । तत्कालिन समयमा कम्युनिस्ट नेताहरुको फरक पहिचान रहेको थियो भने जीवनशैली पनि अहिलेको भन्दा धेरै फरक थियो । अहिले कम्युनिस्ट दलका नेताहरु र अन्य दलका नेताहरुको जीवनशैली र व्यवहार उस्तै उस्तै देखिन्छ ।

प्रश्न : कम्युनिस्ट नेताहरुको बानीव्यवहार र जीवनशैली अन्य दलका नेताहरुको भन्दा पृथक हुन नसक्नुको कारण के होला ?

सिंगो देश संक्रमणकालबाट गुज्रिरहेको छ । हाम्रो राजनीति र राजनीतिक संरचनाहरु संस्थागत हुन सकेका छैनन् । संक्रमणकालमा संसारभर नै यस्ता चरित्र देखिने गर्छन् । नेतृत्वले आफ्नो आम कार्यकर्ता र समर्थकलाई अनुशासनमा नराख्दा समस्या आएको हो । नेतृत्व नै भीडको पछाडि कुद्न थालेको देखिन्छ । कम्युनिस्ट पार्टीको नाममा अनेकखाले व्यक्तिगत फाइदाका लागि हुने दृश्य र अदृश्य होडले नै समाजमा विकृति बढिरहेको छ ।

प्रश्न : अहिले देशको ठूलो पार्टी नेकपाभित्र विकसित घटनाक्रमलाई कसरी विश्लेषण गर्नुहुन्छ ?

यो घटना नेकपाभित्रको राजनीतिक बिचलनको परिणाम हो । एकैचोटी सबैलाई अवसर चाहिने भएकोले पनि यस्तो अवस्था आएको हो । २०७४ सालको निर्वाचनमा राष्ट्रवादी अडानका कारणले एउटा ब्राण्डको रुपमा प्रधानमन्त्री केपी ओली निर्वाचित हुनु भएको थियो । सारा जनमत मुख्य त उहाँको कारणले आएको भन्नेमा अन्य नेताहरु स्वीकार गर्न तयार थिएनन् । जनताको बीचमा स्थिर सरकारको नारा दिएर बनेको सरकार केही व्यक्तिहरुको प्रधानमन्त्री र मन्त्रीको रहर नपुगेका कारणले सरकारलाई काम गर्न नै दिइएन । सरकारले राम्रोसँग काम गर्न नै पाएन । प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव ल्याएर हटाउन खोज्ने, राष्ट्रपतिलाई समेत महाअभियोग लगाइ हटाउन खोज्ने जस्तो षडयन्त्रहरु थाहा पाएर प्रधानमन्त्री ओलीले जनताको ताजा जनादेश लिने भनेर संसद विघटन गर्नु भएको हो ।

यो विभाजन भन्ने कुरा परिवारदेखि सुरु गरौं । परिवारमा पनि विभाजन भयो भने हामीलाई नराम्रो लाग्छ । सामाजिक संघसंस्थामा पनि विभाजन भन्ने कुरा नराम्रो लाग्छ, अप्रिय नै लाग्छ । यति ठूलो पार्टी दुई तिहाइ बहुमतको पार्टी विभाजन हुनु पक्कै पनि नराम्रो कुरा हो पीडादायी नै कुरा हो । नहुनुपर्दथ्यो, अहिले पनि औपचारिकरुपमा विभाजन भएको छैन । एकदमै निकट पुगेको छ । अलगअलग भेला बैठक राख्ने काम भइरहेको छ । यसले म एकदमै दुःखी छु । जुन परिवेश बन्यो । परिवेश निर्माण गर्ने जुन नेताहरु छन् उनीहरुको कारणले यस्तो हुन गयो ।

प्रश्न : फुटको परिस्थिति निर्माण हुनुमा को दोषी हो जस्तो लाग्छ ?

दोषको मात्रा कम र बेसी जरुर छ । धेरै लामो अन्तर संघर्ष भयो । अन्तिममा विभाजनको कारण चाही कार्यकारी अध्यक्षको भूमिका निर्वाह गरिरहनु भएका कमरेड पुष्पकमल दाहालले जुन लिखित आरोपपत्र तयार गरेर आरोप लगाउनु भयो । पार्टी भित्र पार्टीको लोगो राखेर वितरण पनि गर्नुभयो । त्यो प्रमुख कारण बन्यो । प्रधानमन्त्रीले अन्तिममा प्रतिवाद पनि गर्नुभयो । आरोपको जवाफ पनि दिनुभयो । अन्तिममा पार्टी एकताका लागि दुवै आरोप पत्र फिर्ता लिने पनि कुरा भयो तर कमरेड प्रचण्डले अस्विकार गरेको कारणले अहिले पार्टी फुटको दिशामा गइरहेको छ । कारण त्यही नै हो ।

प्रश्न : कार्यकर्ताको भावना, इच्छा, आकांक्षा के छ ? आम नागरिकलाई कसरी बुझाउनुहुन्छ ।

केपी ओली अध्यक्ष भएको पार्टीले मलाई केन्द्रीय सदस्यमा मनोनयन गरेपछि हामीले छलफल भेला, बैठक चलाइरहेका छौं । कमरेड मदन भण्डारी र बहुदलीय जनवादको बेला नेपालको सिंगो कम्युनिस्ट आन्दोलनले सर्वाधिक लोकप्रियता हासिल गरेको अवधि हो । हामीलाई सजिलो र हामीले कार्यकर्तालाई बुझाउनु पर्ने कुरा के हो भने कमरेड मदन भण्डारीको लिगेसी हामीसँग छ । कमरेड मदन भण्डारीको नेतृत्वको निरन्तरताको रुपमा कमरेड केपी ओली देशभक्त नेता, विकास प्रेमी नेता हामीसँग हुनुहुन्छ । हामीले देखि पनि रहेका छौं । जनमत र कार्यकर्ताको संख्या यतातिर नै बढी ढल्किरहेको र बढी आकर्षित भएको छ ।

प्रश्न : तपाइँले यसो भनिरहँदा झलनाथ खनाललगायत थुप्रै शीर्ष नेताहरु प्रचण्डको पक्षमा हुनुहुन्छ ?

त्यो टाउको एकातिर आधार वा बेस अर्काेतिर । टाउकोको हिसाबले तपाइँले भनेको कुरा ठिक हो । उहाँहरु त्यता देखिनु भएको छ । तर, उहाँहरुको पछाडि जनमत छैन । जनमत त केपी ओली नेतृत्व वाला पार्टीको पक्षमा देखिरहेका छौं । पुस २० गते मात्र पनि हामीले चितवनमा भेला ग¥यौं । संयोगवश उहाँहरुले पनि सोही दिन भेलाको आयोजना गर्नुभयो । दुई भेलाको मानिसले तुलना गरे । मिडियाहरुले पनि तुलना गरे । प्रचण्ड र महासचिव सुरेन्द्र पाण्डेकै जिल्लामा उहाँहरुको पक्षमा भेलाको उपस्थिति र हाम्रो पक्षमा भेलाको उपस्थिति त्यो दाँज्नै सकिँदैन । तुलना नै हुन सक्दैन । कताकता हामीतिरको प्रभाव चाही एकदमै यस्तो उत्साहित खालको थियो । हामीले सेलेक्टेड कार्यकर्तामात्र उपस्थिति गराउँदा पनि आयोजना गरेको हल साघुँरो भयो । खचाखच थियो नेता कार्यकर्ता दुवैमा अत्यन्त राम्रो उत्साह थियो भने उतातिर कुण्ठा र चिम्रिएको अनुहार देखिरहेका छौं । यसले नै संकेत गर्छ हामी कता जाँदैछौं ।

प्रश्न : यहाँले पूर्व एमालेका जो कार्यकर्ताहरु थिए ती हामीसँग छन् भन्न खोज्नु भएको हो ?

त्यो त हुँदै हो । ती त छँदै छन् । साथै अब मानिसहरुलाई परिवर्तन चाहिएको छ । एजेण्डा चाहिएको छ, जीवनमा सुख चाहिएको छ । मानिसहरुलाई अनुहार चाहिएको छैन । हामीसँग एजेण्डा छ, बुहदलिय जनवाद छ । नेतृत्व छ । त्यतैबाट हुन्छ भन्ने आशा भरोसा कार्यकर्तामा छ । अरु पंक्ति पनि हामीतिर फर्किएर आउँछ । परिवर्तन चाहने पंक्ति एतैतिर आउँछ भन्ने हाम्रो विश्वास छ ।

प्रश्न : यदि संसद पुर्नस्थापना भयो भने । सूर्य चिन्ह अर्काे पक्षमा गयो भने अहिले प्रचण्ड–नेपाल समूह जसरी सडकमा जानु परेको छ । त्यसरी नै सडकमा झर्ने दिन आउँछ भनेर अर्काे पक्षले आरोप लगाइरहेको छ नि ?

आरोप त जे पनि लगाउन सकिन्छ तर त्यसको कुनै आधार छैन । पहिलो कुरा संसद पुर्नस्थापना हुँदैन, निर्वाचन हुन्छ । दोस्रो कुरा निर्वाचन चिन्ह हामीसँगै रहन्छ । हामीसँग त्यसको आधारहरु छन् । निर्वाचन चिन्ह प्राविधिक कुरा हो । मुख्य कुरा भनेको एजेण्डा हो । विषयवस्तु हो । विषयवस्तु हामीतिर भएको हुनाले त्यसले खासै असर पार्देन भन्ने मलाई विश्वास छ ।

प्रश्न : चितवन प्रचण्डको जिल्ला र सुरेन्द्र पाण्डेको गृह जिल्लाको रुपमा पनि परिचित छ । यहाँ ओली निकट समूह कमजोर हो भन्ने गरिएको छ । तपाइँहरुको उपस्थिति कस्तो हो चितवनमा ?

चितवनमा यस्तो कालखण्ड रह्यो । नवौं जिल्ला अधिवेशनमा नहुनुपर्ने दुर्भाग्य भयो । त्यतिखेर मिलाएर नै लिएर जानुपर्ने अवस्था थियो । त्यो हुन सकेन । कमिटीगत हिसाबले एउटा पक्ष बलियो देखियो । तर, त्यो जनमत होइन । कमिटीगत हिसाबले मिलाएर ल्याएका प्रतिनिधिका कारणले त्यस्तो देखिन पुग्यो । माओवादी केन्द्रसँग एकता भइसकेपछि पछिल्लो चरण त्यो दुईवटा पक्ष पूर्वएमालेको माधव नेपाल पक्षधरका साथीहरु र प्रचण्ड पक्षका साथीहरु हेर्दा त्यस्तो देखियो । अब के भयो भने मानिसले त विश्लेषण गर्छन् । विश्लेषण गरेर कता ठीक भनेर छुट्याउँछन् । विस्तारै यतातिरको माहोल बलियो हुँदै जाने अवस्था सिर्जना भएको छ । हाम्रो आत्मविश्वास छ कि चितवन चाही हाम्रो पक्षमा धेरै राम्रो हुन्छ । त्यो परिस्थिति हाम्रो पक्षमा राम्रो हुँदै गइसकेपछि कमरेड प्रचण्डले निर्वाचन क्षेत्र फेर्नुहुन्छ ।

प्रश्न : अब प्रचण्डलाई चितवन–३ मा निर्वाचन लड्ने आँट आउँदैन ?

आँट नआउने स्थिति बन्दै गइरहेको छ । अझ बन्छ । जनमत उहाँको पक्षमा हुँदैन । कार्यकर्ता शक्ति पनि यता आउँछ । त्यसपछि उहाँले आशा नदेखेपछि निर्वाचन क्षेत्र फेर्नुहुन्छ भन्ने हामीलाई लाग्छ ।

प्रश्न : सबिकको एमालेकै जनमतको आधारमा उहाँले चुनाव जित्नु भएको हो ?  

त्यो त भनिरहनु नै परेन । हामी पूर्व एमाले सबै नलागेको भए उहाँले त जित्ने आधार नै थिएन । त्यो त जगजाहेर नै कुरा हो ।

प्रश्न : आगामी दिनहरुमा फुटको संघारमा रहेका दुई पक्षहरुबीच फेरि एकीकरण हुने र पुरानै ठाउँमा आउने सम्भावना तपाइँ देख्नुहुन्छ कि हुन्न ?

इतिहासको कालखण्डमा विभिन्न समूह मिलेर नेकपा एमाले बनेको थियो भने अर्काेतिर धेरै विभाजित समूहहरु जम्मा भएर जुट्दै आएर नै माओवादी केन्द्र बनेको थियो । ती दुईवटै मिलेर अझ राम्रो स्थिति आएको थियो । अहिले विभाजन भएको छ । जे जस्ता कमजोरीहरु जोजसले गरे । सबै महसुस गरेर हामीले ठूलै गल्ती गरिएछ भनेर ती गल्तीहरुप्रति पश्चाताप गर्दै आउने दिनमा इतिहासको अर्काे कालखण्डमा त एकता हुन पनि सक्छ । अहिले तत्कालै त त्यो सम्भावना एकदम कम देखिएको छ । जनमत त एकताकै पक्षमा देखिन्छ । नेताहरुको कमजोरीका कारणले नेताहरुको निजी लाभ र अपेक्षाको कारणले विभाजन हुन पुग्यो । त्यो चिजलाई सच्याएर जनता र राष्ट्रप्रति समर्पित भएर जानुपर्छ । कतिपय कुरा त्याग गर्नुपर्छ पालो कुर्न सक्नुपर्छ । सिस्टमबाट जानुपर्छ भन्ने कुरामा साथीहरु आउनु भयो भने त एकता हुन सक्छ ।

प्रश्न : कार्यकर्ताहरुमा पनि निराशा आइरहेको छ । कार्यकर्ताहरुलाई तपाइँ एउटा पुरानो कम्युनिस्ट नेताको तर्फबाट के भन्नुहुन्छ ?

क्रान्ति, परिवर्तन, राजनीतिक पार्टी, पार्टीको अस्तित्व पार्टीको आवश्यकता भनेको सामाजिक आवश्यकता हो । समाजमा जबसम्म वर्गहरु रहन्छन् । वर्गहरु भन्नुको अर्थ हुदा खाने र हुने खाने को बीचको अन्तर रहिरहन्छ । त्यो बेलासम्म क्रान्तिको आवश्यकता रहन्छ । क्रान्तिको आवश्यकता रहँदा क्रान्तिको नेतृत्व गर्ने क्रान्ति परिचालन गर्ने कम्युनिस्ट पार्टीको आवश्यकता रहन्छ । त्यो हाम्रो समाजमा मौजुद छ । हाम्रो समाज वर्ग विभाजित समाज हो । सानो तप्का हुने खानेमा छ । मोजमस्तीमा छ । ठूलो तप्का हुदा मात्र खाने अवस्थामा छ । यो चिज रहँदासम्म कम्युनिस्ट विचारको कम्युनिस्ट अन्दोलनको आवश्यकता रहन्छ । त्यो बनाएर लिएर जानुपर्छ यी विचारहरु हामीले जनता कार्यकर्तालाई सम्झाउँछौं । आशा जगाएर नै अगाडि जान्छौं । त्यसमा हाम्रो विश्वास छ । त्यही कुरामा लाग्नुपर्छ । सबै समर्थक, शुभचिन्तकहरुमा यही अनुरोध गर्न चाहन्छु ।

धन्यवाद ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>