Breaking News

अण्डाको खपत बढ्दा मूल्यमा मनपरी, प्रतिक्रेट फार्म भन्दा ५० रुपैयाँसम्म बढी मूल्य

Banner

चितवन,पुस २४-

आन्तरिक खपत बढ्न थालेपछि व्यापारीले आफुखुशी अण्डाको मूल्यनिर्धारण गर्न थालेका छन् । सामान्यतयाः चिसो मौसममा अण्डाको खपत बढी हुने गर्छ । तर हाल कोभिड महामारीका कारण रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि पनि अण्डाको उपभोग धेरै हुने गरेको छ । अण्डाको माग बढ्न थालेपछि व्यापारीहरुले मनपरी मूल्य बढाएका हुन् ।

पछिल्लो समय बजारमा अण्डाको मूल्य आकासिन थालेको छ । उपभोक्ताले फार्म मूल्य भन्दा प्रतिक्रेट ५० रुपैयाँसम्म बढी तिर्नु परेको छ । गत महिना प्रतिक्रेट ३९० रुपैयाँसम्ममा बिक्री भइरहेको अण्डा हाल ४२० देखि ४४० रुपैयाँसम्म तिर्नु परेको छ । यति बेला पसलै पिच्छे अण्डाको मूल्य फरक–फरक रहेको छ । खुद्रा किन्दा प्रतिगोटा १७ रुपैयाँसम्म पर्न थालेको छ । यसअघि अण्डाको सबैभन्दा बढी मूल्य २ वर्षअघि क्रेटको ४६० रुपैयाँसम्म पुगेको थियो । हालसालै अण्डाको नयाँ मूल्य कायम नगरे पनि बजारमा मूल्य बढिरहेको पाइएको नेपाल अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीले बताउनुभयो । केही समय अघिमात्रै संघले फार्म मूल्य प्रतिक्रेट ३७५ रुपैयाँ तोकेको थियो ।

हाल फार्ममा यही मूल्यमा अण्डाको बिक्री वितरण भइरहेको छ । तर जाडोयाम र कोभिड महामारीपछि अण्डाको उपभोग बढेपछि व्यापारीहरुले भाउ बढाएको हुन सक्ने अध्यक्ष केसीले बताउनुभयो । ‘चितवनमा फार्म मूल्य प्रतिक्रेट ३६० रुपैयाँ रहेको छ । यो मूल्य उपत्यकासम्म पुग्दा प्रतिक्रेट १५ रुपैयाँ ढुवानी खर्च हुन्छ ।
डिलरले प्रतिक्रेट ३ सय ७५ रुपैयाँमा खरिद गर्ने गरेका छन् । अण्डाको मूल्य बढ्नुपर्ने कुनै अवस्था छैन’–पोल्ट्री व्यवसायी प्रदिप खनालले भन्नुभयो । डिलरबाट व्यवसायीहरुले खरिद गर्दा प्रतिगोटा १२ रुपैयाँदेखि १३ रुपैयाँसम्म पर्दछ । यसमा प्रतिगोटा २ रुपैयाँ भन्दा बढी फाइदा व्यापारीले लिन नहुने खनालको भनाइ छ । ‘जाडोले गर्दा खपत राम्रो छ । उत्पादनमा पनि कुनै समस्या छैन । माग अनुसारको उत्पादन भइरहेको छ’ –खनालले भन्नुभयो ।

उत्पादनमा कमी आएर मूल्य बढाउनुपर्ने अवस्था आएको नभई साना व्यापारीले बढी फाइदाका लागि मात्र अण्डाको मूल्य बढाएको खनालले बताउनुभयो । हाल देशभर दैनिक २५ देखि ३० लाखको हाराहारीमा अण्डाको उत्पादन भइरहेको छ भने यही अनुपातमा खपत पनि बढेको छ । यस अघि उत्पादन घटेर दैनिक २३ देखि २४ लाख अण्डाको उत्पादन हुँदै आएको थियो ।

होटल, रेष्टुरेन्ट, कलेजहरु पूर्णरुपमा नखुले पनि उपभोक्ताले प्रोटिन प्राप्त हुने मुख्य खानाका रुपमा दैनिक अण्डाको प्रयोग गर्न थालेपछि यसको खपतमा कुनै कमी आएको छैन । यस कारण संघले अण्डाको नयाँ मूल्य पनि तोकेको छैन । हाल किराना पसलहरुमा भने अण्डाको मूल्यमा एकरुपता नभएकाले नै उपभोक्ताहरु मारमा परेको अण्डा उत्पादक संघका अध्यक्ष केसीको भनाइ छ । दैनिक उपभोग्य बस्तु भएकोले उपभोक्तालाई मार पर्ने गरी अण्डाको मूल्य बढाउनु नहुने उहाँको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>