Breaking News

सबै परिवारका सदस्य गुमाएकी अशक्त सानुमाया साहाराको खोजीमा

Banner

मनिका विश्वकर्मा

चितवन, पुस १९-

 पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको डडुवा चोक पुगेर राजमार्गबाट चार मिनेट उत्तर लागेपछि राप्तीको चार नम्बर वडाको डडुवा गाउँ पुगिन्छ । साना साना खर र जस्ताका घरहरु देखिने त्यो गाउँमा राममायाका माटाले लिपेको सानो घर छ । त्यही घरमा सानुमाया र राममायाको दैनिकी बित्ने गरेको छ । उनीहरु नातामा दिदीबहिनी हुन् ।

हातका औंलाहरु फुटेर चरचर भएकी डडुवाकी की ६८ वर्षीय सानुमाया प्रजाको अवस्था अहिले दयनीय छ । सानो माटाले बनेको घरको भूँइमा भतिजीको साथमा उनले आफ्नो दिनचर्या बिताउँदै आएकी छन् । सानै उमेरमा बाबुआमा गुमाएकी सानुमाया अहिले उठेर शौचालयसम्म पनि जान सक्दिनन् । न अहिले उनी बोल्न सक्छिन् त न हिड्डुल गर्न नै सक्छिन् । उनकी भतिजी राममायाले भनिन्, ‘ दुई वर्षदेखि थलापरेकी दिदीको विगत १५ महिनादेखि मैले स्याहार गरिरहेको छु ।’ सामान्य खेतीकिसान र मजदूरीबाट जीवन निर्वाह गर्ने उनीहरुले सानुमायालाई लोथरको होटलमा काम गर्दागर्दै थला परेपछि आफ्नै घरमा ल्याएर राखे ।

१२ वर्षकै उमेरमा मकवानपुरका चेतबहादुर प्रजासँग विवाह बन्धनमा बाधिएकी सानुमायाले कुनै अक्षर चिन्ने मौका पाइनन् । सानो झुप्रोमा रमाइरहेकी उनको दुई सन्तान भए । दोस्रो सन्तानको जन्म भएपछि बिरामीको कारण श्रीमान्ले पनि संसार छोडे । झन् उनको जीवनमा पीडामाथि पीडा थपियो । श्रीमानको मृत्यु भएपछि उनलाई छोराछोरी पाल्न मुस्किल भयो । छोराछोरीलाई कसरी खुवाउने, कसरी पाल्ने भन्ने चिन्ता बढ्न थाल्यो । त्यसपछि उनले दाउरा बेच्ने काम गर्न थालिन् । आर्थिक अवस्था कमजोर भएको सानुमायाले जसोतसो गरेर छोराछोरी हुर्काइन् । छोराछोरीहरु पनि बिस्तारै ठूला हुन थाले । उनीहरुले  काम गरी सानुमायालाई सघाउन थाले । जेठो छोराले मजदूरी काम गर्थे । सानी छोरीले पनि अलिअलि मेलापात गर्थिन् । विस्तारै केही विश्राम पाएको महसुस हुदै थियो सानुमायालाई तर फेरि अर्को पीडा थपियो । जेठो छोराको पनि मजदूरी काम गर्दै गर्दा लडेर ज्यान गयो । छोरा गुमाउँदा केहि समय सानुमाया इन्तु न चिन्तु भइन । । उनलाई झन् धेरै समस्या भयो ।

शरीरमा उर्जा कम भएपछि दाउराको भारी बेच्न छोडेर उनले होटलमा भाडा माज्ने काम गर्न थालिन् । फेरी छोरा बितेको केही महिना नपुग्दै कान्छी छोरीको पनि ३० वर्षको उमेरमा रोग लागेर मृत्यु भयो । उनको लागि छोरी नै साहाराको टेकोसो भएको बेला छोरी बितेपछि उनको अन्तिम साहारा पनि गुम्यो । उनले लोथरको होटलमा नै बसेर त्यही नै काम गर्ने त्यही खाने बस्न थालिन् ।

छोराछोरीको चिन्ताले पिरोलिएकी सानुमायालाई विभिन्न प्रकारका रोगहरु लाग्न थाले । उनलाई चिसोले गर्दा निमोनियाले छोयो । मधुमेह, उच्च रक्तचाप जस्ता रोगहरुले पनि सानुमायालाई कमजोर बनाइराखेको थियो । सानुमाया होटलबाट घर आउने क्रममा बाटो वारपार गर्दा मोटरसाइकलले ठक्कर दिएपछि घाइते भइन् । मोटरसाइकल चालकले उपचार गरे । निको हुदैँ गएकी सानुमायालाई उच्च रक्तचापले पनि ओछ्यानमा नै पल्टायो । दुखै दुःखमा झेलिएकी सानुमायालाई पीडाले पनि कहिल्यै छोडेन । त्यसपछि उनी हिडडुल गर्न नै सकिनन् । दिसापिसाब पनि अरुको साहारामा गर्नुपर्ने अवस्था आयो । उनीलाई अहिले भतिजीले आश्रय दिएकी छन् । भतिजीको पनि आर्थिक अवस्था अली कमजोर नै छ । भतिजी राममाया चेपाङ भन्छिन्, ‘उहाँको निम्ति कोही छैन । उहाँको साहारा म नै हो । उहाँलाई मैले हेर्न थालेको १५ महिना भयो ।’ सानुमायाको छोराछोरी कोही नभएको राममायाले बताइन् ।

सानुमाया अहिले भतिजीको सानो कोठामा बस्छिन् । भतिजीको पनि आफ्नै समस्या भएकोले सानुमायालाई  भनेको जस्तो समय र आर्थिक साहयता दिन सक्दिनन् । माटोको चिसो भूइँमा, कहिले त लुगा फेरिदिने पनि कोही नहुँदा दिसापिसाबमा लतपतिएर बस्छिन् सानुमाया । उनको दुवै खुट्टा चल्दैनन् ।  सानुमायाको वृद्धाभत्ता त आउँछ नै तर उनको थप उपचारको लागि कसैले केही गरेको छैन । स्थानीय सरकारलाई यसबारे केही जानकारी नै छैन । राप्ती नगरपालिका वडा नं ४ का अध्यक्ष शम्शेर लामा भन्छन् ‘मलाई यसबारे केही थाहा छैन । खोजतलास गरेर सहयोग गर्नेछु ।’ उनले सानुमायालाई सहयोग गर्ने प्रतिबद्धता भने जनाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>