प्रवास

थप तीनसहित कोरोनाबाट विदेशमा ज्यान गुमाउने नेपालीको संख्या ३३० पुग्यो

Banner

लण्डन, माघ १८-

कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप तीन जना नेपालीको निधन भएको छ ।

गैरआवासीय नेपाली संघले आज सार्वजनिक गरेको तथ्यांक अनुसार यो साता बेलायतमा तीन जनाको संक्रमणका कारण निधन भएको हो । योसहित विदेशमा कोरोना संक्रमणका कारण निधन हुने नेपालीको संख्या ३३० जना पुगेको छ ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५८ हजार ६९५ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ती मध्ये ५५ हजार ७९३ जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमितको ९४ प्रतिशत हो । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, मलेसिया, साउदी अरब, पोर्चुगल र नाइजेरियामा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।

यस्तै कोरोना भाइरसका कारण नेपालमा दुई हजार २७ जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या दुई लाख ७० हजार ८५४ जना छ भने दुई लाख ६६ हजार ४८ जना अर्थात ९८.२ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् ।

साक्षरतासम्बन्धी निर्देशिका जारी

गैरआवासीय नेपाली संघअन्र्तगतको स्वास्थ्य समितिले खोप साक्षरता सम्बन्धी निर्देशिका जारी गरेको छ ।

आम नेपालीलाई खोपको बारेमा सचेत र सतर्क बनाउने उद्देश्यका साथ जारी यो निर्देशिका सबैले बुझ्ने गरी सरल नेपाली भाषामा छ । सो निर्देशिकामा खोप, खोप लगाउँदा, लगाइसकेपछि अपनाउनुपर्ने सावधानी, खोप लगाइसकेपछि देखिनसक्ने सम्भावित असर वा स्वास्थ्य समस्या र त्यसपछिको स्वास्थ्य मापदण्डलगायतका विषयहरु समेटिएका छन् । यसैबीच स्वास्थ्य समितिले छिट्टै स्वास्थ्यसम्बन्धी एक सचेतनामूलक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । त्यसको आवश्यक तयारी र लक्षित समूह पहिचानको काम भइरहेको छ ।

खोप लिएको व्यक्तिबाट अन्यलाई भाइरस सर्न सक्ने

स्वास्थ्य समितिका संयोजक डा सन्जिव सापकोटाले कोभिड–१९ विरुद्धको खोप लिइसकेको व्यक्तिबाट पनि अन्यलाई भाइरस सर्न सक्ने भन्दै सतर्क रहन सुझाव दिएका छन् ।

हालसम्म कुनै पनि खोपको प्रभावकारिता शत प्रतिशत नदेखिएकाले खोप लगाइसकेपछि पनि संक्रमण हुँदैन वा आफूबाट अरुलाई सर्दैन भन्नेमा ग्यारेन्टी नहुने उनको भनाइ छ । खोपको दुवै मात्रा प्राप्त गरेका व्यक्तिलाई पनि पुनः संक्रमण भएको देखिएकाले स्वास्थ्य सावधानी अपनाउनुको विकल्प नभएको डा सापकोटाले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>