Breaking News
खैरहनी उवासंघ अध्यक्षका उम्मेद्वार श्रेष्ठ भन्छन्ः ‘मेरो प्रतिस्पर्धी नै छैन’

चितवन, माघ १७–
पूर्वी चितवनको उद्योग वाणिज्य संघ खैरहनीमा नयाँ नेतृत्वको लागि चुनावी सरगर्मी बढेको छ । यही सोमबार हुने निर्वाचनका लागि लोकतान्त्रिक समूह र प्रगतिशिल समूह मैदानमा उत्रिएका छन् । दुवै समूहले आफ्नो समूह विजयी हुने दावी गरेका छन् ।
लोकतान्त्रिक समूहले पत्रकार सम्मेलन गरी आफ्नो समूहको जित सुनिश्चित भएको दावी गरेको छ । यसै समूहका अध्यक्षका उम्मेद्वार दिपेन श्रेष्ठ (हिरा)ले आफ्नो प्रतिस्पर्धी नै नभएकाले आफ्नो समूहको जित सुनिश्चित भइसकेको दावी गरे । ‘कति मतले जित्ने भन्ने कुरै छैन, मेरो अहिलेसम्म अध्यक्षमा प्रतिस्पर्धी नै छैनन्, औपचारिक घोषणा हुन मात्रै बाँकी छ’–अध्यक्षका उम्मेद्वार श्रेष्ठले भने ।
उनले व्यवसायीको संस्थामा व्यवसायी नै नेतृत्वमा आउनु पर्ने भन्दै गैरव्यवसायिक व्यक्ति नेतृत्वमा आउन नसक्ने बताए । उनले प्रगतिशिल समूहका अध्यक्षका उम्मेद्वार शेषकुमारी सडौला ओलीलाई संकेत गैरव्यवसायी उम्मेद्वार संस्थामा प्रवेश गर्न खोजेको बताए ।
अध्यक्षका उम्मेद्वार श्रेष्ठले आफू संस्था स्थापनादेखिनै हरेक कार्यकालमा विभिन्न स्थानमा रहेर संस्थालाई अगाडि बढाउँदै आइरहेको स्मरण गराउँदै सबै व्यवसायीहरुको साथ रहने विश्वास व्यक्त गरे । उनले चौविसकोठी बजारलाई पार्किङ व्यवस्थित गर्नेदेखि संस्थाको भवन निर्माणसम्मका काममा आफूले नेतृत्वदायी भूमिका खेलेको बताए ।
यस्तै श्रेष्ठले प्रथम खैरहनी महोत्सव सम्पन्न गर्न जिम्मेवारीपूर्वक शसक्त भूमिका निर्वाह, बजार क्षेत्रमा उत्पादन हुने फोहोरमैला व्यवस्थापन गर्नेलगायतको काममा पनि आफ्नो समूहको सक्रियता रहेको बताए ।
अध्यक्षका उम्मेद्वार श्रेष्ठले चुनावी मैदानमा होमिदै गर्दै विभिन्न प्रतिवद्धता समेत व्यक्त गरेका थिए । व्यवसायकि स्वतन्त्रताको लागि आवश्यक वातावरण निर्माण गर्ने, दोहोरो करको मारमा रहेका व्यवसायीहरुको उत्थानको लागि आवश्यक पहल गर्ने, सार्वजनिक–निजी साझेदारी कार्यक्रमलाई प्रोत्साहन गरिनेलगायतको प्रतिवद्धता जनाएका छन् ।
यस्ता छन् अन्य प्रतिवद्धताहरुः
–उवासंघ खैरहनीका हरेक सदस्यहरुलाई दश लाख रुपैयाँसम्मको दुर्घटना बिमा कार्यक्रम ल्याइने ।
–संघका साधारण सदस्यहरुलाई ठूला अस्पतालहरुसंगको सहकार्यमा विशेष छुटसहितको औषधोउपचारको व्यवस्था मिलाइने ।
–नयाँ उद्योग तथा व्यवसाय स्थापना, दर्ता र संचालन गर्न सहयोग पु¥याइने छ ।
–सचिवालय सुदृढीकरण र प्रशासनिक पारदर्शीता कायम गर्दै लेखा र कानून सम्बन्धी समितिहरु गठन गरिने छ ।
–बस्तुगत संघहरुको गठन तत्कालन सुरु गरिने छ ।
–ग्राहकमैत्री बजार व्यवस्थापनमा आवश्यक पहल गरिने छ ।
–स्थानीय उत्पादनलाई उचित मूल्यांकन र बजारीकरणमा सरल पद्धतिको थालनी गरिने छ ।
–दीगो औद्योगिक तथा व्यवसायिक विकासका लािग पहल गरिने छ ।
–कोभिड–१९बाट प्रभावित व्यवसायको पुनरुत्थानका लागि आवश्यक पहल गरिने छ ।
–इको फ्रेण्ड्ली स्मार्ट सिटी निर्माणको अवधारणा अगाडि बढाइने छ ।
–उद्योगी तथा व्यवसायीहरुको कल्याणको लागि रु.एक करोडसम्मको कल्याणकोष स्थापना गरिने छ ।
–महिला उद्यमशिलताको प्रोत्साहनका लागि महिलाहरुको नाममा दर्ता गरिने फर्मलाई निःशुल्क दर्ता गर्ने प्रवन्ध मिलाइने छ ।
–पर्यटन विकासका लागि कंकालीकोटदेखि दराई बोटे तालसम्मका ग्रामीण भेगहरुमा होम स्टे संचालनका लागि आवश्यक पहल गरिने छ ।
यी हुन् लोकतान्त्रिक समूहका उम्मेद्वारहरुः
अध्यक्षः दिपेन श्रेष्ठ ‘हिरा)
वाणिज्यतर्फका सदस्य उम्मेद्वारहरुः
–कुमार खनाल, विनोद अर्याल, विक्रम खड्का, केदारनाथ बर्तौला, अनिल श्रेष्ठ, प्रशान्त अधिकारी, रामेश्वरप्रसाद चौधरी, रामचन्द्र विश्वकर्मा, क्षेत्रबहादुर रावल ।
उद्योगतर्फका सदस्य उम्मेद्वारहरुः
–किरण बुर्लाकोटी, अनुप अधिकारी, शंकर कँडेल, कृष्णबहादुर श्रेष्ठ, जगतबहादुर पाण्डे र विक्रम चौधरी ।






















