प्रवास

पोर्चुगलमा नियन्त्रण भन्दा बाहिर कोरोना, जर्मनले सैन्य स्वास्थ्य विज्ञ टोली खटायो

Banner

पुनम गौतम

पोर्चुगल, माघ १६–

अस्पतालमा बेड खाली नहुँदा कोरोनाका बिरामी बोकेका २३ एम्बुलेन्स १२ घण्टादेखि खाना र पानी बिना हस्पिटलको गेटमा बस्न बाध्य भएका छन् । पोर्चुगलकै सबैभन्दा ठूलो सान्ता मारिया अस्पतालको गेटमा एम्बुलेन्सको लाम देख्न सकिन्छ ।

स्थानीय टेलिभिजनमा सो सम्बन्धी समाचार प्रशारण भएपछि नागरिक स्वयम् सेवकहरुले एम्बुलेन्स चालक, फायर फाइटर र बिरामीका लागि खाना, पानी र जुस ल्याईदिएर सहयोग गरेका छन् । पोर्चुगलको अवस्था दिनदिनै दयनीय हुँदै गएको छ । पोर्चुगलमा कोरोना भाइरस कारण विहीबार मात्रै ३०३ जनाको ज्यान गएको छ । सोही समयमा १६ हजार ४३२ जना संक्रमित थपिएका छन् । कोरोनाका कारण एकै दिन ज्यान गुमाउनेहरुको यो संख्या अहिलेसम्मकै अत्याधिक हो । राजधानी लिस्वन स्थित सान्ता मारिया अस्पतालको आपत्तकालिन क्षेत्रमा बिरामी बोकेका एम्बुलेन्सहरु सेवा अभावमा घण्टौंदेखि लाइन लागेर बस्दै आएका छन् ।

त्यस्तै, पोर्चुगलका अस्पतालहरुमा कोरोनाका बिरामीको चापले स्थिति नियन्त्रण बाहिर भएपछि जर्मनीले पठाएको आफ्नो सैन्य स्वास्थ्य विज्ञ टोली पोर्चुगल आइपुगेको छ । पोर्चुगललाई कोरोना बिरुद्धको लडाई र उपचारमा सहयोग गर्न विहीबार सैन्य चिकित्सकको टोली पोर्चुगल आएको छ । सहयोगार्थ आएको सैन्य चिकित्सकहरुको टोलीले कोरोनाका बिरामीहरुलाई उपचारका लागि जर्मनी लैजान हवाई अस्पताल तयारी अवस्थामा राखेको जनाएको छ । जर्मनीको सैन्य चिकित्सक टोलीले पोर्चुगलमा आएर यहाँको स्वास्थ्य सेवामा कसरी सहयोग गर्न सकिन्छ भनेर अध्ययन गरेको थियो ।

सो हवाई अस्पतालमा कोरोनाको आइसियुमा उपचार गर्नुपर्ने बिरामीलाई मात्रै लगिनेछ । जर्मनी युरोप मै सबैभन्दा बढी आइ सी यु सेवा भएको देश हो । त्यहांको स्वास्थ्य सेवा युरोपमै सबैभन्दा बलियो मानिन्छ । युरोपमा कोरोनाको पहिलो र दोश्रो प्रभावमा जर्मनीले फ्रान्स, स्पेन, बेल्जियमर, इटाली लगायत देशका बिरामीलाई यसरी नै लगेर उपचार सहयोग गरेको थियो ।

सो हवाई अस्पताल बाहिरबाट हेर्दा सामान्य सैन्य बिमान जस्तो देखिएतापनि त्यस बिमान भित्र ठुल्ठुला एम्बुलेन्स नै बोक्न सकिने, सिकिस्त अवस्थाका ४० जना र आइसियुमा १६ जनाको एकै पटक उपचार गर्न सकिने व्यवस्था रहेको छ । यी हवाई अस्पताल पोर्चुगलको राजधानी लिस्बनमा बढी चाप भएका अस्पतालबाट सिकिस्त बिरामी जर्मनी लगेर उपचार गर्न प्रयोग गरिनेछ । त्यस्तै पोर्चुगलभित्रै पनि बढी चाप भएका क्षेत्रबाट कम चाप भएका क्षेत्रमा समेत बिरामी ओसारपोसार गर्न प्रयोग गर्न सकिनेछ ।

तस्विरः भोईस अफ नेपाल

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>