Breaking News
चितवनका दुई आयोजनाको प्रधानमन्त्रीले गर्ने शिलान्यास नाटक होः प्रचण्ड–माधव समूह

चितवन, माघ १६–
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूह चितवनले प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार भरतपुरमा गर्न लागेको दुई आयोजनाको शिलान्यास नाटक भएको टिप्पणी गरेको छ ।
आज (शुक्रबार) दिउँसो सो समूहले भरतपुरमा पत्रकार सम्मेलन गरी शिलान्यास कार्य नौटङकीयुक्त भन्दै त्यसको विरोध गरेको छ । ‘विगत केही महिनादेखि निर्माण कार्य अघि बढीसकेको उक्त दुवै आयोजनालाई बीच अवधिमा आइ कामचलाउ प्रधानमन्त्रीबाट शिलान्यासको नाटक मञ्चन गरिनु हास्यास्पद रहेको छ, नौटङकीयुक्त कार्यको नेकपा चितवन जोडदार विरोध गर्दछ’–जिल्ला अध्यक्ष यमबहादुर परियारले भने ।
यस्तै दाहाल–नेपाल समूहले सिटी हल र ६ लेन सडकखण्डको शिलान्यास कार्यक्रम निर्वाचन आचारसंहितको ठाडो उल्लंघन भएको बताउँदै शिलान्यास कार्य रोक्न निर्वाचन आयोग समक्ष माग गरेको छ ।
प्रधानमन्त्री ओलीले भोलि (शनिबार) सिटी हल र ६ लेन सडकखण्डको समुद्घाटन गर्न चितवन आउँदै छन् । साथै उनले ओली समूहको आमसभालाई सम्बोधन गर्नेछन् ।
























