चितवन विशेष
इच्छाकामनाका विपन्नलाई भरतपुर हाइट टोल विकास संस्थाद्धारा न्यानो लुगा वितरण

चितवन,माघ १४-
भरतपुर महानगरपालिका–१० मा रहेको भरतपुर हाइट टोल विकास संस्थाले चितवनको इच्छाकामना गाँउपालिका–७ भालुमारामा न्यानो कपडा वितरण गरेको छ । भालुमारामा रहेका विपन्न परिवारका ५० घर धुरीलाई प्रति परिवार एक थान कम्बलका साथै पुराना लुगा समेत समावेश गरी वितरण गरेको हो । इच्छाकामना गाँउपालिका–७ का वडाअध्यक्ष बमबहादुर थापा प्रमुख अतिथि रहनुभएको न्यानो लुगा वितरण कार्यक्रममा भरतपुर हाइट टोल विकास संस्थाका अध्यक्ष शिवराज गिरीले अध्यक्षता गर्नुभएको थियो । न्यानो लुगा वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि थापाले विपन्न बस्तीमा गरिएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो ।
पहाडी भेगमा जाडो बढी हुने र त्यस क्षेत्रमा आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरु छन् भन्ने जानकारीमा आएपछि न्यानो कार्यक्रम गर्दा बढी प्रभावकारी हुने उद्देश्यले सो स्थान छनौट गरिएको कार्यक्रम संयोजक अनिता खनालले बताउनुभयो । सम्पूर्ण टोलबासीको सहयोगमा कार्यक्रम सम्पन्न गरिएको खनालको भनाइ थियो । कार्यक्रममा भरतपुर हाइट टोल विकास संस्थाका सचिव इन्दिरा भुसालले स्वागत मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा बोल्दै भरतपुर हाइट टोल विकास संस्थाका अध्यक्ष शिवराज गिरीले संस्थागत रूपमा सामाजिक उत्तरदायित्व निर्वाह गर्ने परम्पराको थालनी गर्ने उद्देश्यले कार्यक्रम गरिएको बताउनुभयो । विकट क्षेत्रमा रहेका विपन्न परिवारमा नयाँ लुगाको साथमा आफ्ना लगाउन योग्य पुराना लुगाहरू समेत समावेश गरेर प्रदान गर्दा सहयोग अझै प्रभावकारी हुने गिरी बताउनुभयो । साथै आगामी दिनहरुमा पनि यस्तो कार्यलाई अभियानको रुपमा निरन्तरता दिने गिरीले प्रतिवद्धता जनाउनुभयो ।
























