Breaking News

भरतपुर अस्पतालमा ५० बेडको अत्याधुनिक इमरजेन्सी भवन बन्दै, ९ करोडमा टेण्डर आव्हान

Banner

चितवन, पुस १५-

भरतपुर अस्पतालको इमरजेन्सीलाई विश्व स्वास्थ्य संगठनको मापदण्डको बनाउनको लागि टेण्डर आव्हान भएको छ । स्वास्थ्य मन्त्रालयको ९ करोड रुपैयाँमा सो टेण्डर माग गरिएको हो । २०२० सालमा बनेको अस्पतालको इमरजेन्सी जम्मा १० बेड क्षमताको भएकोले पनि समयअनुसार बिरामीको चापलाई ध्यान पु¥याएर नयाँ भवन बनाउन लागिएको अस्पतालले जनाएको छ । अब बन्ने इमरजेन्सी ५० बेड क्षमताको बनाउन लागिएको छ ।

एक तलाको बनाउने गरी मन्त्रालयले बजेट बिनियोजन गरे पनि भरतपुर अस्पतालले पछि बजेट थप्दै जाने गरी गुरुयोजना अनुसार तीन तले इमरजेन्सी भवन बनाउने गरी काम सुरु गरेको अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीले नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ अस्पतालमा कम्तीमा १० प्रतिशत इमरजेन्सी बेड हुनुपर्ने विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार ५० वटा बेडसहितको इमरजेन्सी बनाउन लागेका छौं ।’ अब बन्ने इमरजेन्सीमा अत्याधुनिक ट्रमा सेन्टरसहित अपरेसन कक्षसमेत रहने अध्यक्ष अधिकारीले बताए । उनले भने, ‘ नयाँ भवन बनेपछि इमरजेन्सी बेड नपुगेर बिरामी बाहिर अस्पताल पठाउनुपर्ने बाध्यता पर्ने छैन ।’ अहिलेको प्रशासनिक भवनको पछाडि रहेको खाली ठाउँमा इमरजेन्सी भवन बनाउने अस्पतालको योजना छ । अस्पतालको तथ्यांक अनुसार वार्षिक झण्डै एक लाखको हाराहारीमा इमरजेन्सीमा बिरामी आउने गर्छन् । तर, अस्पतालको इमरजेन्सीमा जम्मा १० बेड मात्र भएकोले अन्य निजी अस्पतालमा पठाउनुपर्ने बाध्यता रहेको छ ।

स्वास्थ्य मन्त्रालयले चितवनको भरतपुर अस्पताललाई शैक्षिक प्रतिष्ठानसँगै अति विशिष्ट सेवासहितको एक हजार शैयाको शिक्षण अस्पतालका रुपमा विकासका लागि दुई वर्ष अगाडि बनाइएको गुरुयोजनालाई स्वीकृत गरेको थियो । देशकै मध्यभागमा रहेकाले तराई र पहाडका बासिन्दालाई स्वास्थ्य सेवा पु¥याउन यो अस्पताल प्रभावकारी हुने विश्वास लिइएको छ ।

गुरुयोजनाअन्तर्गत १४ बिघा १० कट्ठा जग्गामा छुट्टाछुट्टै अस्पताल भवन, शैक्षिक भवन, आवास, बिरामी कुरुवा स्थल, पार्किङ, फूलबारीलगायतका संरचना निर्माण गरिनेछ । शुद्ध खानेपानीसँगै अस्पताल आफैंले अक्सिजन प्लान्ट निर्माण गरी अक्सिजन उत्पादन गर्नेछ । फोहर व्यवस्थापनका लागि इन्सिनेटर नामक उपकरण जडान गरिनेछ । छ अर्ब ५४ करोड रुपैयाँको लागतमा गुरुयोजनाअनुरुपको काम सम्पन्न गर्न सकिने प्रारम्भिक प्रस्ताव पेस गरिएको थियो ।

भरतपुर आँखा अस्पतालको नजिकको क्षेत्रमा आवास, सोही क्षेत्रमा व्यावसायिक भवन, हाल मुख्य प्रवेशद्वार रहेको पूर्वी क्षेत्रमा शैक्षिक भवन निर्माण गरिने गुरुयोजनामा उल्लेख छ । अस्पतालको आफ्नै ३१ बिघा जग्गा रहे पनि अन्य संघसंस्थालाई भाडामा र भोगचलनका लागि दिएकाले हाल ११ बिघामात्र बाँकी रहेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभिटी) ले उपयोग गर्दै आएको तीन बिघा १० कट्ठा जग्गासमेतलाई समेटेर गुरुयोजना निर्माण गरिएको अस्पतालले जनाएको छ ।

भरतपुर अस्पतालमा चितवन र छिमेकी जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्छन् । वार्षिक तथ्यांक हेर्दा विगत वर्षहरुमा अस्पतालमा एक लाख ५३ हजार बढी बिरामीले बहिरङ सेवा लिएका, ३३ हजार बिरामीले आकस्मिक सेवा लिएको देखिन्छ भने ३८ हजार बिरामी भर्ना भएर उपचार गराएका थिए । हरेक वर्ष ११ हजार बढी महिलाले प्रसूति सेवा लिने गरेका छन् । राजधानी बाहिर ठूलो संख्यामा बिरामीलाई सेवा दिने अस्पतालका रुपमा भरतपुर अस्पताललाई लिइन्छ । अस्पतालमा हाल ३०० शैया सरकारी र ३०० शैया अस्पताल विकास समितिको स्रोतमा सञ्चालनमा छन् । विसं २०१३ मा महेन्द्र आदर्श चिकित्सालयका नाममा स्थापना भएको यो अस्पताललाई हाल प्रादेशिक रिफरल अस्पतालका रुपमा लिने गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>