Breaking News

भरतपुरको गणेशधाम निर्माणले लियो गति,तलाउ बनाउन झण्डै ६ करोडको टेण्डर

Banner

चितवन,पुस १४-

कोरोनाको संक्रमण बढ्दै गएसँगै निर्माण कार्य सुस्त भएको गणेशधाममा अहिले निर्माणले गति लिएको छ । वाग्मती प्रदेश सरकारले पौने ६ करोडको टेण्डर आव्हान गरेको छ । भरतपुर महानगरपालिका–११ स्थित गणेशस्थान मन्दिर क्षेत्रलाई गणेश धामका रूपमा विकास गर्नको लागि दुई वर्ष अघिबाट काम सुरु गरिएको थियो ।
गणेशस्थान संरक्षण सम्वद्र्धन समितिका संरक्षक एवंम प्रदेश सांसद विजय सुवेदीले गणेशधामको महत्वपूर्ण बाँधको काम प्रदेश सरकारको बजेटमा गरिब डेढ वर्षमा सम्पन्न हुने बताए । उनले यो योजना भरतपुरको गौरबको योजना समेत भएको बताए ।

गणेशस्थान संरक्षण सम्वद्र्धन समितिका अध्यक्ष दिनेश चुकेले धामको गुरुयोजना अनुसार अहिले गणेशधाम परिसरमा कैलाश पर्वत बनाउने, तलाउको वरिपरी आइल्याण्ड बनाउने लगायतका कामहरु सुरु भएको नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘कोरोनाको कारणले केही काम ढिला भए पनि अहिले कामले गति लिएको छ ।’ गत चैतदेखि जेठसम्म खासै धाममा काम नभए पनि असारबाट तलाउको वरिपरी ७० वटा बेञ्च राखेर कामलाई गति दिने प्रयास गरिएको बताए ।

मन्दिर क्षेत्रलाई धाम बनाउन संरक्षण समितिले काम गरिरहेको छ । २.४३ हेक्टर क्षेत्रफलमा रहेको मन्दिरलाई धाम निर्माण गर्न थप ३० हेक्टर क्षेत्रफल विस्तार गरेर पूर्वाधार निर्माण भइरहेको छ । गणेशस्थान क्षेत्र विकासका लागि बनाइएको डीपीआर अनुसार ८० करोड रुपैयाँ लागतमा गणेश धाम तयार गरिने योजना छ ।

महानगरपालिका क्षेत्रमा रहेका ऐतिहासिक तथा धार्मिक स्थलमध्ये एक गणेशस्थानमा रहेको पौराणिक इनार पाल्पाका राजा मणिमुकुन्द सेनको पालामा बनेको विश्वास गरिन्छ । विसं २०१४ मा रूखमुनि फेला पारिएको गणेशको अर्धकद मूर्ति स्थापना गरेर मन्दिर निर्माण गरिएको बताइन्छ । मन्दिर परिसरमा सरस्वती, मनकामना, सन्तोषी, विश्वकर्मालगायतका मन्दिर छन् ।

धामका रूपमा विकास गर्न ३० फिट अग्लो गणेश मूर्ती, जल विनायक, शिव–पार्वती, कुमारको मूर्तिसमेत बनाउने गरी डीपी आर बनेको थियो । यसैगरी धाम क्षेत्रमा व्यवस्थित पार्किङ, पिकनिक स्पट, बोटानिकल गार्डेन, धर्मशालालगायत निर्माण हुने योजना छ । त्यसैगरी धाममा योगा तथा धार्मिक कार्यक्रम सञ्चालन गर्न हल पनि निर्माण हुने छ । गणेशस्थानदेखि देवघाटको दूरी पाँच किलोमिटर छ । धामका रूपमा विकास गरेर धार्मिक पर्यटक भित्र्याउँन सकिने संरक्षण समितिको विश्वास छ । मन्दिर परिसर आडैमा पुंगी खोला छ । ऐतिहासिक महत्वको गणेशस्थान पछाडिका वन क्षेत्रलाई समेटेर बनाउन थालिएको धामले धार्मिक क्रियाकलाप मात्र नभई जिल्लाकै पर्यटक स्थल बन्ने संरक्षण तथा सम्वद्र्धन समितिको विश्वास छ ।

२५ बिघा क्षेत्रफलमा बन्ने तलाउ पुंगी खोलाको पानी ड्याम बाँधेर बनाउन लागिएको हो । तलाउ वरपर हिँड्न र साइकल चलाउन मिल्ने बाटो पनि निर्माण हुँदै छ । केन्द्रीय तथा प्रदेश सरकार, स्थानीय तह, संघसंस्था तथा व्यक्तिगत सहयोग संकलन गरी पाँच वर्षभित्र धाम निर्माण गरिसक्ने लक्ष्य थियो । पाँच वर्षमा दुई वर्ष बितिसकेको छ । गणेशधाम संरक्षण तथा सम्वद्र्धन समितिका अध्यक्ष चुकेले कुनै अवरोध नभएमा अबको तीन वर्षमा धाम निर्माणको सम्पूर्ण काम सकिने दाबी गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>