Breaking News
चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई रत्ननगर नगरपालिकाद्वारा १० लाख रुपैयाँ सहयोग

चितवन, पुस ८-
रत्ननगर नगरपालिकाले चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई १० लाख आर्थिक सहयोग प्रदान गरेको छ ।
रंगशाला निर्माणको लागि सो नगरपालिकाले प्रदान गर्ने १७ लाख रुपैयाँ मध्ये पहिलो चरणमा १० लाख रुपैयाँ प्रदान गरेको हो ।
नगरपालिकाको तर्फबाट १५ लाख, जनप्रतिनिधिको तर्फबाट एक लाख र कर्मचारीको तर्फबाट एक लाख गरी १७ लाख आर्थिक सहयोग गर्ने यस अघिनै घोषणा गरिएको लेखा अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिए । बुधबार रत्ननगर नगरपालिकाका मेयर नारायण वन, प्रमुख प्रशासकीय अधिकृत भिमबहादुर कुँवरले धुर्मुस–सुन्तली फाउण्डेसनका लेखा प्रमुख मुक्ति तिमिल्सिनालाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए ।
सो अवसरमा मेयर वनले कोरोना महामारीका कारण रंगशाला निर्माणको लागि आर्थिक सहयोग हस्तान्तरणमा ढिलाइ भएको बताए । चितवनमा अन्तर्राष्ट्रिय गौरवको आयोजना बनिरहेको छ । उनले भने, ‘रंगशाला अन्तर्राष्ट्रिय महत्वको विषय भएकाले सहयोग जारी राख्नेछौं ।’
चितवन मुलुकको तेस्रो पर्यटकीय गन्तव्य भएकाले रंगशालाले जिल्लामा खेलकुदको माध्यमबाट पर्यटनको विकास हुने उनको विश्वास छ । प्रमुख प्रशासकीय अधिकृत कुँवरले बाँकी सात लाख रुपैयाँ पछि छिट्टै हस्तान्तरण गरिने बताए ।
























