Breaking News
देश संकटकाल हुँदै गृहयुद्धतर्फ जाँदैछः डा. सुरेन्द्र केसी

काठमाडौं, पुस ६-
राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले सर्वोच्च अदालतले संसद बिघटन गराउने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सदर नगरे देश संकटकालमा जाने र गृहयुद्धमा जाने बताएका छन् ।
रिपोटर्स क्लबले आज गरेको साक्षात्कार कार्यक्रममा विश्लेषक केसीले देशलाई झन् खतरनाक भड्कालोमा हाल्ने गतिविधिहरु भइरहेको बताए । उनले भने,‘सर्वोच्च अदालतले संसद बिघटनलाई सदर गरेन भने देश संकटकालमा जान्छ र तयसपछि गृहयुद्ध हुन्छ ।’ ओलीको कदम असंवैधानिक भए पनि विगतमा बामदेव गौतम प्रकरणमा अदालतले उनको पक्षमा गरेको फैसला अनुसार बढेमा संसद बिघटनलाई सदर गर्ने विश्लेषण गरे । देशमा लोकतन्त्र नभई लुटतन्त्र मच्चिइरहेको तर्क गरे ।
अहिलेको विकसित घटनाक्रमले देशलाई सिध्याउन चाहनेलाई फाइदा पुगेको बताए । उनले भने,‘देशमा गम्भीर संकट बढ्दैछ, जनता तत्काल जाग्नुपर्छ र यी नेताहरुलाई दण्डित गर्नुपर्छ ।’ देश सिक्किमिकरणतर्फ बढेको भन्दै देश नै रहने हो होइन भन्ने अवस्था सृजना भएको बताए । डा. केसीले भने,‘अब यो देश रहने छैन, रह्यो भने पनि धान्न सक्नेछैनौं ।’ नेताहरुले यो खतराको बेवास्ता गरेको बताए । डा. सुरेन्द्र केसीले देशमा अहिलेको नेताहरु असफल भइसकेकाले नयाँ विचार र नयाँ अनुहार आउनुपर्ने बताए । ओली र प्रचण्डको मिलन हुँनु नै अन्त हुनु हो भने । केसीले भने,‘अब नेकपा एक हुनै सक्दैन ।’ देशमा ओली र प्रचण्ड दुवैले पार्टी हाँक्न खोज्दा संकट आएको बताए । प्रधानमन्त्रीको सिफारिशलाई अदालतले कसरी हेर्छ ? बामदेवको पक्षमा फैसला गरेको स्मरण गराउँदै अदालतले यही शैलीमा बढे सिफारिशलाई सदर गर्ने बताए । प्रधानमन्त्रीको सिफारिश बदरभागी छ भन्दै बामदेवको प्रकरण हेर्दा बदरभागी नहुने बताए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले आफ्नो दल चुनावमा जान तयार भएको बताएका छन् । रिपोटर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै उनले कांग्रेस लोकतान्त्रिक दल भएकाले घोषित चुनावदेखि नभाग्ने स्पष्ट पारे ।
‘कांग्रेस चुनावबाट भाग्दैन सामना गर्छ,’ नेता साउदले भने,‘चुनाव स्वतन्त्र, धाँधलीरहित र निष्पक्ष गर्ने वातावरण बनाउनुपर्छ ।’ उनले चुनाव सुनिश्चित गर्ने कार्य सबैले गर्नुपर्ने बताए । यद्यपि, प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गर्न चालेका कदमहरुलाई असंवैधानिक भने । ओलीको कदमले देशलाई अनिश्चिततातर्फ धकेलेको बताए । नेकपालाई जनताले बहुमत दिदादिँदै जनतामाथि धोका भएको बताए । उनले भने,‘जनतामाथ नेकपाको अन्र्तद्वन्द्वको कारण धोकाधडी गर्ने काम भएको छ ।’
पूर्वसांसद गणेशमान पुनले प्रधानमन्त्री केपीशर्मा ओलीलाई केन्द्रीय सदस्य र पार्टीबाटै निस्काशन गर्नुपर्ने बताए । उनले भने,‘प्रधानमन्त्रीबाट असंवैधानिक र अलोकतान्त्रिक कदम चालिएकाले केन्द्रीय सदस्य र पार्टी सदस्यबाट समेत निष्काशन गर्नुपर्छ ।’ ओलीमाथि कारबाही गरी नेकपालाई एकताबद्ध बनाएर जानुपर्ने बताए । संसद बिघटनलाई गैरसंवैधानिक भन्दै संसद पुनःस्थापित हुनुपर्ने तर्क गरे । ओलीको कदमलाई प्रतिगामी भन्दै देश र जनतामाथि धोका दिएको आरोप लगाए । उनले प्रधानमन्त्री ओलीले मूर्ख कदम चालेको आरोप लगाए । उनले भने,‘यसविरुद्ध आन्दोलनका रुपमा जानुपर्छ ।’
नेकपा नेता तथा बिघटित प्रतिनिधिसभाका सांसद खेम लोहनीले राष्ट्रलाई जोगाउन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन गरेको तर्क गरे । नेकपाभित्रको ग्याङ अफ फोरले कामै गर्न नदिएको र षड्यन्त्रहरु गरेको भन्दै उनीहरुले नै प्रधानमन्त्रीलाई संसद बिघटनका लागि बाध्यकारी अवस्था सृजना गरेको बताए । प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठतर्फ संकेत गर्दै लोहनीले भने,‘ग्याङ अफ फोरले खतरनाक कदम चाल्न बाध्य पारे ।’ उनले प्रतिनिधिसभाको बिघटन खतरनाक बाटो भए पनि त्यो अवस्थामा पु¥याउने जिम्मेवार भएको बताए । लोहनीले भने,‘संसद बिघटन बाध्यकारी कदम हो, यो वास्तवमा राष्ट्र, लोकतन्त्र,सार्वभौम जनतालाई जोगाउन र विदेशी अगाडि नझुकी देशको प्रतिष्ठाका लागि हो ।’ निरंकुशताको दाउ खेल्नेहरुको षड्यन्त्र बुझेर प्रधानमन्त्री ओलीले कठोर कदम चालेको बताए । प्रधानमन्त्रीको कदमलाई संवैधानिक भने । ताजा जनादेशका लागि प्रधानमन्त्री जनताको बीचमा जान तयार हुनुभएको बताउँदै भने,‘अब जनताबाट ताजा जनादेश लिन सबैलाई अवसर छ ।’ लोहनीले सूर्य चिन्ह लिएर चुनावमा जाने र जनादेश प्राप्त गर्ने दाबी गरे ।
नागरिक अगुवा सुन्दरमणि दीक्षितले प्रधानमन्त्री केपीशर्मा ओलीले सबै अधिकार सर्वोच्च अदालतलाई बुझाइदिएको तर्क गरे । उनले भने,‘अविश्वासको प्रस्तावको सामना गर्न डराएर ओलीले अधिकार सर्वोच्च अदालतलाई बुझाइदिए ।’ प्रधानमन्त्री ओलीले चालेको कदमलाई असंवैधानिक भन्दै देश संकटमा परेको बताए । उनले नेपाल कम्युनिस्ट पार्टीका सबै प्रमुख नेताहरु दोषी भएको बताए । मुख्य दोषी ओली भए पनि प्रचण्ड, माधवकुमार नेपाललगायत मुख्य नेताहरु पनि उत्तिकै दोषी भएको बताए ।
देश कोरोना भाइरसविरुद्ध संघर्षरत हुँदा मध्यावधि चुनाव घोषणा गर्नु जनहित विपरितको कदम भने । उनले भने,‘अहिले मान्छे बचाउने हो, कुनै नेताको राजनीति बचाउन खर्च गर्ने बेला होइन ।’ जनता बचाउन गर्नुपर्ने खर्च चुनावमा लगाउन खोजिएको भन्दै आलोचना गरे ।
जनता समाजवादी पार्टीका नेता मनिष सुमनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बहुलाहाको संज्ञा दिदै तत्काल राजनीतिबाट सन्यास दिनुपर्ने बताए । संसद बिघटन असंवैधानिक भन्दै सभामुखले विशेष संसद बोलाएर राष्ट्रपतिलाई जानकारी दिनुपर्ने बताए । उनले जनता यो कदमविरुद्ध सडकमा उत्रन तयार हुने समेत बताए । प्रधानमन्त्री ओलीले कुनै पनि बेला गलत कार्य गर्ने भनी आफूहरुले विगतमै सजग गराएको बताए । उनले भने,‘यो बहुलाहा सनकी प्रधानमन्त्रीले कुनै पनि बेला खतरनाक कदम चाल्नेछन् भनी सजग गराएका थियौं तर नेकपा र कांग्रेसका नेताहरुले चासो दिएनन् ।’ कुनै एक नेताको व्यक्तिगत स्वार्थका लागि संसद बिघटन गर्ने र संविधान नै समाप्त पार्ने कदम स्वीकार्य नभएको बताए । प्रधानमन्त्री ओलीले देशमा चुनाव गर्न नसक्ने ठोकुवा गरे । ओलीलाई सबैभन्दा पहिले आफ्नै दलको महाधिवेशन गर्न चुनौती दिदै भने,‘पहिलो आफ्नो दलको महाधिवेशन गराएर देखाउनुहोस् अनि चुनावको कुरा गर्नुहोस् ।’
























