Breaking News

चितवनमा ६ अर्बभन्दा बढी राजस्व संकलन, भेटेन लक्ष्य

Banner

हिरालाल आचार्य ‘डायमण्ड’

चितवन, पुस २-

चालु आर्थिक वर्ष २०७७\७८ को पाँच महिनामा चितवनमा ६ अर्बभन्दा बढी राजस्व संकलन भएको छ ।

साउनदेखि मंसिर मसान्तसम्ममा ६ अर्ब एक करोड ५५ लाख रुपैयाँ राजस्व संकलन भएको आन्तरिक राजस्व कार्यालय भरतपुरका कर अधिकृत अवधेश कुमार यादवले जानकारी दिए । उक्त रकम लक्ष्यभन्दा कम अर्थात् लक्ष्यको ८३ प्रतिशतमात्र हो । पाँच महिनाको अवधिमा कार्यालयले सात अर्ब २५ करोड ८ लाख ९६ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । चालु आवमा कार्यालयले चितवनमा १८ अर्ब ९१ करोड ५८ लाख ८१ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ ।

पाँच महिनामा संकलन भएको राजस्वमध्ये अन्तःशुल्कबाट सबैभन्दा धेरै राजस्व संकलन भएको कर अधिकृत यादवले जनाए । तर, पनि अन्तःशुल्कमा राखिएको लक्ष्यको ७४ प्रतिशतमात्र राजस्व संकलन भएको छ । अन्तशुल्कपछि क्रमशः मूल्य अभिवृद्धि कर र आय करबाट बढी राजस्व संकलन भएको छ । मुअकरमा लक्ष्यभन्दा २९ प्रतिशत बढी र आय करमा १६ प्रतिशत बढी राजस्व संकलन भएको उनले बताए ।

कोरोना भाइरस (कोभिड–१९) का कारण आर्थिक गतिविधि कम भएकाले राजस्व संकलन लक्ष्यअनुसार गर्न नसकिएको कर अधिकृत यादवले बताए । तर, गत आर्थिक वर्षमा पनि पाँच महिनामा लक्ष्यअनुसार राजस्व संकलन हुन सकेको थिएन । १७ अर्ब आठ करोड एक लाख ९१ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा १२ अर्ब ७५ लाख ७७ हजार रुपैयाँ अर्थात् ७०.३ प्रतिशतमात्र राजस्व संकलन भएको थियो ।  कार्यालयले यस आवबाट चितवन जिल्लाभरीको मात्र राजस्व संकलन गरेको छ । विगतका वर्षमा कार्यालयले चितवन र नवलपुरको राजस्व संकलन गर्ने गर्दथ्यो ।

गत आवमा पनि कोरोनाका कारण राजस्व संकलनमा कमी आएको थियो । गत आवमा कुल ४३ अर्ब ३८ करोड ७७ लाख राजस्व संकलन गर्ने लक्ष्य राखिएको भए पनि कुल २३ अर्ब ६९ करोड ९५ लाख ९८ हजार रुपैयाँमात्र राजस्व संकलन भएको थियो । जुन लक्ष्यको २० अर्बभन्दा कम हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>