अन्तर्वार्ता

चितवनमा खाद्य स्वच्छताको मापदण्ड उल्लंघन गर्नेलाई त्यसै छाड्दैनौं: अधिकारी

Banner

घननाथ अधिकारी खाद्य अनुसन्धानको क्षेत्रमा चिरपरिचित नाम नै हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भरतपुरका प्रमुख अधिकारीको जन्म २०३५ सालमा कास्की जिल्लाको साविक धिताल गाविसमा भएको थियो । अधिकारीको बाल्यकालको १० वर्ष कास्कीको पहाडी क्षेत्रमा नै बित्यो । उनले त्यहीबाट प्रारम्भिक शिक्षा सुरु गरे । परिवारको बसाइँसराइँसँगै उनी कक्षा ६ बाट कावासोतीको शिव माविमा आएर माध्यमिक तहको शिक्षा पूरा गरे । माध्यमिक तहको पढाइ पूरा गरेपछि उनले पृथ्वीनारायण क्याम्पस पोखराबाट आईएस्सी, भरतपुरको वीरेन्द्र क्याम्पसबाट रसायन शास्त्रमा बीएस्सी पूरा गरेपछि खाद्य निरीक्षकको रुपमा सरकारी सेवामा प्रवेश गरे ।

निजामती सेवामा प्रवेशले उनको अध्ययनशील बानीलाई रोक्न सकेन खाद्य प्रविधिमा धरानबाट स्नातकोत्तर गरेपछि पुन त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा पनि दोस्रो डिग्री पूरा गरे । यसअघि खाद्य प्रविधि विभाग काठमाडौँमा कार्यरत अधिकारी भदौंको पहिलो हप्तामा मात्र चितवन सरुवा भएका आइपुगेका हुन् । खाद्य पदार्थको स्वच्छतामा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहने उनी आफू पनि खाद्य वस्तुको उपभोगमा निकै सावधानी अपनाउने गर्छन् । फुर्सदको समयमा घुमफिर गर्न, गीत गुनगुनाउन र चर्चित पुस्तकहरु पढ्न रुचाउने खाद्य डिभिजन कार्यालयका प्रमुख अधिकारीसँग नारायणी अनलाइनले  गरेको छ । प्रस्तुत छ वार्ताको सम्पादित अंश : 

प्रश्न : चितवनमा भर्खर भर्खर सरुवा भएर आउनु भएको छ ? के छ तपाइँको नयाँ योजना ?

परिवर्तित समयमा खाद्य स्वच्छता कायम गर्नमा नै मेरो सम्पूर्ण ध्यान केन्द्रित हुनेछ । जसको लागि एकातिर बजारको अनुगमनलाई प्राथमिकता दिनुपर्ने हुन्छ भने अर्काेतिर उद्योगहरुको पनि अनुगमन गर्नुपर्ने हुन्छ । आम नागरिकलाई खाद्य स्वच्छताको बारेमा सूसुचित गर्ने पनि मेरो दायित्व रहने छ । यस क्षेत्रमा निर्माण भएर कार्यान्वयनमा आएका खाद्य ऐन–२०२३ र दाना ऐन–२०३३ को सफलरुपमा कार्यान्वयन गर्ने पनि मेरो मुख्य प्राथमिकता हुनेछ । कानुन विपरित कार्य गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउने काम पनि हामीले गर्ने छौं ।
विशेष त उत्पादन उद्योगहरुको अनुगमन गर्ने, बजारको अनुगमन गर्ने, रेष्टुरेन्टहरुको अनुगमन गर्ने, प्रविधिको हस्तान्तरण, तालिम, गोष्ठी सञ्चालन गर्ने जस्ता कामहरु नै मेरो प्राथमिकतामा रहनेछन् । छोटकरीमा बजार र उत्पादनहरुको अनुगमन, निरीक्षण र मूल्यांकन नै हाम्रो मुख्य दायित्व हो ।

प्रश्न : चितवनमा बजार अनुगमन देखावटी मात्र भयो ? भन्ने प्रश्न उठ्ने गरेको छ नि ?

सोही जनगुनासोलाई आत्मसाथ गर्दै अब चितवनमा खाद्य उत्पादन र वस्तुहरुबारे नियमित जसो अनुगमनलाई अगाडि बढाइरहेका छौं । दुई महिनामा एउटा स्थानीय तहमा पुग्ने योजना छ । चाडवाडको समयमा अनुगमनलाई अलि बढी प्राथमिकतामा राखेर सञ्चालन गर्ने गरिएको छ ।

हाम्रो यस कार्यालयमा चार जना कर्मचारीको दरबन्दी रहेको भए पनि अहिले तीन जना मात्र कर्मचारी हुनुहुन्छ । अनुगमनमा जानको लागि एउटा चार पाङ्ग्रेसवारी साधनको पनि जरुरी छ । बढ्दो व्यापार, व्यवसाय र उद्योगहरुको संख्यासँगै कामको चाप त बढिरहेको छ तर पनि हामीले आमउपभोक्ताको बानी व्यवहारमा परिवर्तन आउने गरी सीमित साधनस्रोतको बाबजुद काम गरिरहेका छौं ।
पहिले जिल्ला प्रशासन कार्यालयमा एक जना खाद्य निरीक्षक रहन्थे । एक जनाले नमुना संकलन गरेर परीक्षणको लागि हेटौंडा पढाउने गर्दथे । तर, अहिले खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको रुपमा हामीले निरन्तर काम गरिरहेका छौं । आशा छ भविष्यमा हाम्रो साधन स्रोत र कार्यक्षमता अझ बढ्दै जानेछ ।

प्रश्न : खाद्य पदार्थमा मनपरी मिसावट गर्नेलाई के कस्तो कारबाही भएको छ ?

गत आर्थिक वर्षमा यस कार्यालयमार्फत् विभिन्न गैरकानुनी कार्यमा १० वटा मुद्दा दर्ता भएको थियो भने यस आर्थिक वर्षमा ८ वटा मुद्दा दर्ताको तयारी हुँदै छ । यस्ता मुद्दाहरु जिल्ला प्रशासन कार्यालय वा अदालतमा दर्ता गर्न सकिने प्रावधान रहेको छ । अहिले दर्ता हुन लागेका अधिकांश मुद्दाहरु दूषित खाद्य पदार्थ बिक्री वितरण र उत्पादनसँग सम्बन्धित छन् ।

हामीले खाद्य स्वच्छता सम्बन्धी कानुन उल्लंघन गर्नेहरुलाई त्यसै छाडेका छैनौं । कतिजनाले अहिले पनि कारबाही भोगिरहेका छन् । दोषीहरु जेल नै बसेको अवस्था नभए पनि थुनामा बसेका प्रशस्त उदाहरणहरु छन् । उनीहरुलाई पाँच वर्षसम्म कैद गर्न सक्ने कनुनी प्रावधान रहेको छ ।

प्रश्न : तपाइँहरुको कारबाही निष्पक्ष हुन्छ ?

अवश्य पनि हुन्छ । हामीले मुद्दा दायर गसिकेपछि त्यसको सम्पूर्ण अभिलेख मन्त्रालयमा हुन्छ । कारबाही नगरी कसैलाई पनि छाड्ने कुरा त कल्पना पनि गर्न सकिँदैन । मुद्दाको प्रक्रियामा केही ढिला हुने अवस्था त छ तर पनि चितवनमा म आइसकेपछि समयमा नै अगाडि बढिरहेको छ ।

प्रश्न : अन्त्यमा तपाइँ चितवनमा आमसर्वसाधारण नागरिकहरुलाई के भन्न चाहनुहुन्छ ?

खुलारुपमा राखिएको र अत्यधिक रंग मिसिएको खाद्य पदार्थहरु सकभर प्रयोग नगरिदिन सबैमा अनुरोध गर्दछु । खाना प्याकेट गर्दा कागजमा पोको पार्ने गर्दा कागजको रंग खाद्यपदार्थमा सर्ने पनि गरेको छ । त्यो झनै खतरनायक हुन्छ । यस्ता अद्याध्य वस्तुहरु मिसावट भएका खाद्य पदार्थले क्यान्सर रोग समेत निम्त्याउन सक्छ ।

बजारबाट किनेर ल्याएको तरकारीलाई आमउपभोक्ताले १० मिनेट नुनपानी वा कागती पानीमा डुबाएर राख्न मात्र सकियो भने पनि हानीकारक विषादीको मात्र धेरै कम हुन जान्छ । उपभोक्ताले प्याकिङ भएका खाद्य पदार्थमा उत्पादन मिति, उपभोग्य मिति, ब्याच नम्बर, तौल, आयतन र उद्योगको पूरा नाम र ठेगाना हेरेर मात्र खरिद गर्नुपर्छ । त्यस्तै दूध तथा दुग्धजन्य पदार्थ, माछा, मासुलगायतका खाद्य वस्तुलाई भण्डारण गर्दा ४ डिग्री सेन्टिग्रेड वा सो भन्दा कम तापक्रम राख्ने तर्फमा पनि ध्यान दिनुपर्छ । अखाद्य रंग प्रयोग भएका रंगीचंगी मिठाईलगायतका खाद्य पदार्थ खरिद नगर्न पनि सबैमा आव्हान गर्न चाहन्छु ।

धन्यवाद ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>