चितवन विशेष
उवासंघ–चितवनद्वारा निवर्तमान अध्यक्ष प्रधानलाई सम्मान

चितवन, मंसिर २४-
उद्योग वाणिज्य संघ–चितवनले संघका निवर्तमान अध्यक्ष सहनलाल प्रधानलाई बधाई ज्ञापन गर्दै सम्मान गरेको छ ।
व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको काठमाडाँैमा हालै सम्पन्न ५४ औं वार्षिक साधारण सभा एवम् अधिवेशनबाट केन्द्रीय कार्यकारिणि समिति सदस्यमा निर्वाचित भएकोमा सहनलाल प्रधानलाई सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा बधाई ज्ञापन गर्दै संघका अध्यक्ष राजु श्रेष्ठले उद्योग वाणिज्य संघ–चितवनको विभिन्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघसँगको बलियो समन्वय, सहकार्य र सहयोगका कारण चुनाव जित्न सफल भएको बताए । उनले संघका पूर्वअध्यक्ष, कार्यसमिति सदस्य, पदाधिकारी एवम् शुभचिन्तकको सहयोग र सद्भावले पनि सफलता हासिल गर्नमा मद्दत पुगेको बताए ।
कार्यक्रममा अध्यक्ष श्रेष्ठले नवनिर्वाचित कार्यकारिणी समिति सदस्यले यस क्षेत्रको आर्थिक सम्भावनालाई उजागर गर्दै उवासंघको क्षमता अभिवृद्धिमा ध्यान दिनुपर्ने, कोभिडका कारण क्षतविक्षत भएको व्यवसायिक क्षेत्रलाई पूर्वअवस्थामा ल्याउन सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताउँदै उनले नवनिर्वाचित महासंघका अध्यक्ष, पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश सदस्यलगायत सबैलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
सम्मान ग्रहण गर्दै संघका निवर्तमान अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य सहनलाल प्रधानले निर्वाचनको परिणामले आफूलाई थप जिम्मेवारी प्रदान गर्नुका साथसाथै निजी क्षेत्रका लागि केही गर्ने सुअवसर प्रदान गरेको बताउँदै व्यवसायिक समस्यालाई सम्बन्धित निकायसम्म बहस पैरवी गर्ने सन्दर्भमा होस् वा जिल्ला नगर उवासंघहरुको विकासमा होस् आफू अनवरत रुपमा लागि रहने बताए । उनले निर्वाचनमा सफलता प्रदान गर्नका लागि सहयोग गर्ने सम्पूर्ण प्रतिनिधि, उवासंघका पदाधिकारी, कार्यसमिति, शुभचिन्तक ,सचिवालयका कर्मचारीलगायतलाई धन्यवाद ज्ञापन गरे । कार्यक्रममा सम्मानित व्यक्तित्व प्रधानले संघका वर्तमान अध्यक्ष राजु श्रेष्ठको अथक प्रयास र दूरदर्शी निर्णयका कारण सफलता प्राप्त गर्न सहज भएको बताउंदै अध्यक्ष श्रेष्ठ प्रति हार्दिक आभार ब्यक्त गरे । बधाई ज्ञापन एवम् सम्मान कार्यक्रममा संघका पूर्वअध्यक्ष प्रचण्डलाल प्रधान, डा. तिलचन्द्र भट्टराईलगायतले बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । संघको इतिहासमा नेउवामहासंघको संस्थापक सदस्य समेत रहेको उद्योग वाणिज्य संघ–चितवनले २०२४ सालदेखि हाल सम्म करिब सबै कार्यकालमा चितवनको प्रतिनिधित्व गर्दै आइरहेको संघका कार्यकारी निर्देशक निलबहादुर केसीले बताए । मंसिर ११ देखि १३ गते सम्म काठमाडौँमा सम्पन्न भएको महासंघको निर्वाचनमा संघका निवर्तमान अध्यक्ष सहनलाल प्रधानले वाग्मती प्रदेशको तर्फबाट निर्वाचित भएको संघको सचिवालयले जनाएको छ । संघका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठको धन्यवाद ज्ञापन गरेका थिए ।
























