कर्पोरेट

एनआईसी एशिया बैँकद्वारा १९ प्रतिशत बोनस सेयर प्रदान

Banner

चितवन, मंसिर २१-

एनआईसी एशिया बैँक लिमिटेडको २३ औं वार्षिक साधारण सभा आज काठमाडौंको थापाथलीस्थित बैँकको केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ ।

बैँकले प्रेषित गरेको विज्ञप्ति अनुसार सो सभाले गत आर्थिक वर्ष २०७६\७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट १९ प्रतिशत बोनस शेयर ( एक अर्ब ८४ करोड ६३ लाख) र कर प्रयोजनार्थ एक प्रतिशत नगद लाभांश ( ९ करोड ७२ लाख) समेत वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ । बैँकले १९ प्रतिशत बोनस शेयर पारित गरेपश्चात् बैँकको चुक्ता पूँजी ११ अर्ब ५६ करोड ४० लाख पाँच हजार ३६६ पुगेको छ ।

बैँकको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६\७७ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०७७ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैँकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारबाट जारी गरिएका स्वास्थ्य सम्बन्धी निर्देशन एवम् मापदण्डहरूको परिपालना गर्दै वार्षिक साधारण सभामा अनलाइन (भर्चुअल) प्रविधिमार्फत सहभागी हुने व्यवस्था गरिएको थियो ।

बैँकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यस बैंक मुलुकभर ३३० शाखा कार्यालयहरू, ४७० एटीएम, ९९ वटा एक्स्टेन्सन काउण्टर एवम् ७४ वटा शाखा रहित बैंकिङमार्फत् बैँकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैँक बनेको विज्ञप्तिमा उल्लेख छ । २२ लाख बढी ग्राहकहरुका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेको बैँकको दाबी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>