चितवन विशेष
भरतपुरको वागेश्वरी आइसोलेसन केन्द्रलाई रेडक्रसको सहयोग

चितवन, मंसिर ८-
भरतपुर महानगरपालिका–१ वागिश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयमा भरतपुर महानगरपालिकाद्वारा सञ्चालित कोभिड १९ आइसोलेसन केन्द्रलाई विभिन्न दाताहरुले पनि सहयोग पु¥याउँदै आएका छन् ।
आइतबार नेपाल रेडक्रस सोसाइटीबाट २५ थान कम्बल र १० थान त्रिपाल सहयोग भएको हो । आइसोलेसन सेन्टरमै पुगेर नेपाल रेडक्रस सोसाइटी चितवन शाखा सभापति ज्ञानशाली न्यौपानेले चिकित्सालयका अध्यक्ष कमल मल्ल र आइसोलेसन केन्द्र संयोजक ऋषिराज पाण्डेलाई संयुक्तरुपमा सामग्री हस्तान्तरण गरे । थप सहयोगका लागि सोसाइटीको केन्द्रमा कुराकानी भइ नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले उपचाररत संक्रमितहरुलाई जाडोमा न्यानोका लागि केही सहयोग सामग्री प्रदान गरेको उनले बताए ।
कार्यक्रममा वागिश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमका अध्यक्ष शैलेन्द्र पियाको अध्यक्षतामा सञ्चालित कार्यक्रममा रेडक्रसका पदाधिकारी सदस्यहरु, चिकित्सालयका पदाधिकारी एवम् डाक्टर, कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित भरतपुर(१४ का वडा अध्यक्ष ओमप्रसाद पोखरेलले यहाँ उपचार गरेका सबै बिरामीले उपचार सेवा राम्रो भएको बताइरहँदा खुसी लाग्ने गरेको बताए । भरतपुर महानगरपालिका विपद् व्यवस्थापन फोकल पर्सन जीवलाल कुँवरले यो आइसोलेसन केन्द्र सञ्चालनमा चिकित्सालयको अतुलनीय योगदान रहेको भन्दै सहयोगी हातहरुप्रति आभार प्रकट गरे । प्राप्त सहयोगले केन्द्रको व्यवस्थापन तथा सञ्चालनमा निकै सहयोग पुगेको र महानगरलाई राहत मिलेको उनले बताए ।
भदौ १४ गतेबाट सञ्चालनमा आएको यस आइसोलेसन केन्द्रमा हालसम्म ३६६ जना कोरोना संक्रमित भर्ना भएकामा ३४६ निको भएर घर फर्किसकेको चिकित्सालयका निर्देशक डाक्टर हेमराज कोइरालाले जानकारी दिए । यसअघि यस आइसोलेसन केन्द्रमा राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुनबाट २ थान सीप्याप मेसिन सहयोग भइसकेको छ । यसैगरी लण्डनमा बस्ने नेपालीहरुले रकम संकलन गरी अक्सिजन दिने मेसिन उपलब्ध गराएको पनि सो अवसरमा डा. कोइरालाले बताए । यसैगरी गृह मन्त्रालयबाट २२ लाख रुपैयाँ मूल्य पर्ने एउटा ठूलै टेन्ट अनि रोटरी क्लबबाट गिजर, खेलसामग्री, हेलोजन बत्ती सहयोग प्राप्त भएको पनि उनले बताए । यसैगरी लायन्स क्लब र केदार श्रेष्ठबाट ३०÷३० थान कुर्सी, नारायणगढस्थित लोकमान प्लाजाका सञ्चालक ज्ञानेन्द्रमान शाक्यबाट योगा स्टेज, डिस्प्ले बोर्ड, उपचारपश्चात् निको भइ गएका मनोज बरनवालबाट पाँच थान कुर्सी सहयोग भएको उनले जनाए । सहयोग सानो ठूलो वा धेरै थोरै जति भए पनि सबै सहयोगले केन्द्रको सञ्चालन एवम् व्यवस्थापनमा ठूलै टेवा पुगिरहेको परिषद्का अध्यक्ष शैलेन्द्र पिया बताउँछन् । अन्य हस्पिटलको औषधिउपचारबाट थाकेर आएका पीडितहरुको पनि यहाँ सफलताकासाथ उपचार भइरहेको भन्दै उनले चिकित्सालयप्रति गर्व लागेको र आफूहरुको आत्मशक्ति अझ बढेको बताए । डा. कोइरालाद्वारा सञ्चालित कार्यक्रममा चिकित्सालयका प्रशासक कमल पाण्डेले स्वागत मन्तव्य राखेका थिए ।
























