Breaking News

विश्वका १९ देशमा २९३ जना प्रवासी नेपालीको कोरोनाको कारणले मृत्यु

Banner

लण्डन, मंसिर ७-

विश्वका विभिन्न मुलुकमा कोरोना भाइरसको संक्रमणबाट संक्रमित नेपालीमध्ये ९१ प्रतिशत कोरोनामुक्त भएका छन् ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म ४५ मुलुकमा ४६ हजार ५७८ जना गैरआवासीय संक्रमित भएकोमा हालसम्म ४२ हजार ८०३ जना कोरोना संक्रमणबाट मुक्त भएका हुन् । कोरोना संक्रमण सुरु भएयता विदेशका १९ देशमा रहेका २९३ जना नेपालीको कोरोना संक्रमणका कारणले निधन भएको छ । समितिका अनुसार कोरोना भाइरसका कारणले हालसम्म सबै भन्दा बढी साउदी अरबमा ८४ जना र यस्तै युकेमा ६९ जना र भारतमा ४० जना नेपालीको निधन भएको छ ।

भारतमा निधन भएका ४० जना मध्ये १० जना महिला भएको नयाँ दिल्लीस्थित अलइन्डिया इन्टिच्यूट अफ साइन्समा कार्यरत डा.सागर पौडेलले जानकारी दिएको स्वास्थ्य समितिले जनाएको छ ।

समितिका संयोजक डा सापकोटाका अनुसार यो साता स्पेन, युके, यस्तै युएई, कतार, साउदी अरब र जापानमा थप संक्रमण देखिएको छ । यसका साथै नेपाली समुदायमा संक्रमण देखिएको देशको सूचीमा नर्बे पनि थपिएको छ ।
हालसम्म नेपालमा मात्र दुई लाख १८ हजार ६३९ जना कोरोना भाइरसबाट संक्रमित पुगेका छन भने ती मध्ये एक लाख ९३ हजार ३२५ जना कोरोना मुक्त भएका छन् । नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ८८ दशमलब ४ प्रतिशत रहेको छ । नेपालमा कोरोना भाइरसको संक्रमणको कारणले एक हजार ३०५ जनाको ज्यान गएको छ ।

संघअन्तर्गतको स्वास्थ्य समितिले विदेशस्थित नेपाली कुटनीतिक नियोग, गैरआवासीय नेपाली संघका राष्ट्रिय शाखा, विदेशका विभिन्न अस्पतालमा कार्यरत नेपाली चिकित्सक, सामाजिक संघसंस्थालगायतबाट प्राप्त सूचनाको आधारमा विगत ३२ सातादेखि लगातार विदेशमा कोरोना भाइरसबाट प्रभावित नेपालीहरुको तथ्यांक संकलन गर्दै आएको छ ।

तथ्यांक संकलन गर्न डा. कुश श्रेष्ठ (अष्ट्रेलिया), डा. सागर पौडेल (भारत), एलिजा केसी (जापान), सांग्रिला सुन्दरी लामा (स्पेन), संर्घष केसी (नेदरल्याण्ड), चिरञ्जीवी खड्का (चेक रिपव्लिक), सागर सुवेदी (अष्ट्रिया), डा. बोध सुवेदी (पोल्याण्ड), सरिता पाण्डे भट्टराई (साउथ अफ्रिका), वसन्त गौतम (फिन्ल्याण्ड) डा. देवी बस्नेत (कोरिया), डा. नितेश अर्याल (कतार), सत्य चौधरी (अमेरिका), यासमिन बेगम सैयद (साउदी अरेबिया) , डा. दीलिप कुमार यादव र शुनिल शाह (युके) ले एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिलाई सहयोग गर्दै आएका छन् ।
गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिले विवाह, विभिन्न पारिवारिक समारोहलगायतका मानिसको जमघट बढी हुने कार्यक्रममा सकेसम्म सावधानी अपनाउन अनुरोध गरेको छ । त्यस्ता समारोहमा कम संख्यामा मात्रै उपस्थित हुने र डेढदेखि दुई मिटरसम्मको भौतिक दूरी कायम गर्न समितिका संयोजक डा सञ्जिव सापकोटाले आग्रह गरेका हुन् ।

कोरोना महामारी थप तीव्ररुपमा फैलिँरहेको अवस्थामा स्वास्थ्य मापदण्ड अपनाउनुको विकल्प नभएको उनको भनाइ छ । विश्वका विभिन्न खोप निर्माण कम्पनीले कोरोनाविरुद्धको खोपको परीक्षण ९५ प्रतिशत बढी प्रभावकारी र सफल भएको दाबी गरिरहेको प्रसंग जोड्दै डा सापकोटाले आशाका नयाँ किरण देखिए पनि अहिले नै ढुक्क हुन सक्ने समय नआएकोले स्वास्थ्य सावधानी नै एक मात्र उपाय भएको बताए ।

जाडो मौसम सुरु भएका विभिन्न मुलुकमा इन्फ्लुएञ्जा, फ्लूलगायतका स्वास्थ समस्या समेत देखिने भएकोले त्यसतर्फ समेत सचेत रहन डा सापकोटाले अनुरोध गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>