Breaking News

सञ्चारमन्त्री गुरुङ भन्छन् : नेपालमा पार्टी पत्रकारिता मौलाउनु दुःखद्

Banner

चितवन, कात्तिक २५-

सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङले नेपालमा नकारात्मक कुरालाई प्राथमिकता दिँदै पार्टी पत्रकारिता मौलाउनु दुःखद् भएको बताएका छन् ।

मिडिया एक्सन नेपालले नेपालस्थित अमेरिकी दूतावासको सहयोगमा गलत र भ्रामक समाचारको रोकथामसम्बन्धी चितवन र नवलपरासीका पत्रकारहरुको लागि सञ्चालन गरेको दोस्रो चरणको तालिमको भर्चुअल समापन कार्यक्रममा नेपाली पत्रकारिताको पछिल्लो अवस्थाबारे चिन्ता व्यक्त गरेका हुन् । कार्यक्रममा मन्त्री गुरुङले समृद्ध राष्ट्र निर्माणको लागि महत्वपूर्ण भूमिका खेल्नुपर्ने पत्रकारिता क्षेत्रमा पार्टीगत, नेतागत र व्यक्तिगत प्रभाव हाबी हुँदै जानु दुःखद् भएको बताए । उनले प्रतिप्रश्न गरे , ‘नेपाली मिडिया कतातिर लाग्दै छ ?’ फलानो नेताको मिडिया भनेर बुझ्ने दिन आउनु पक्कै पनि राम्रो नभएको मन्त्री गुरुङको विचार थियो ।

कार्यक्रममा मन्त्री गुरुङले भने, ‘ नेपाली पत्रकारिता सकारात्मक सोचबाट अगाडि बढ्नुपर्छ । यस क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउनको लागि पत्रकार महासंघले पनि मर्यादित पत्रकारिता गर्ने पत्रकारलाई मात्र सदस्यता दिनुपर्छ । ’ उनले अबको नेपाली पत्रकारितालाई मर्यादित बनाउन सञ्चार कानुनमा पनि मर्यादित पत्रकारिताको विषय उठाउने दाबी गरे । सञ्चारमन्त्री गुरुङले नेपाली पत्रकारितामा देखिएका समस्याहरु समाधानको लागि आफूले नीतिगत सुधारको दृष्टिकोण बनाएको पनि जानकारी दिए । उनले भने, ‘नेपाली सञ्चार र पत्रकारिता क्षेत्रलाई पुर्नसंरचना गरेर अगाडि बढ्नुपर्छ । हामी कता जादैँछौं सबै पत्रकारले सोच्न आवश्यक छ ।’ मन्त्री गुरुङले महामारीको समयमा पनि पत्रकारहरुले जोखिम मोलेर समाचार संकलन गरेकोमा पत्रकारहरुको उच्च प्रशंसा पनि गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले पत्रकारिता समाजिक उत्तरदायित्वको पेसा हो भन्दै पत्रकारिताको विश्वसनियता दर्शक, स्रोता र पाठकले मूल्यांकन गरिरहने विचार राखे । उनले नेपाली पत्रकारिता क्षेत्रलाई मर्यादित र जिम्मेवार बनाउन यस्ता भ्रामक समाचारको रोकथामसम्बन्धी तालिम अझ बढी जरुरी रहेको बताए ।

कार्यक्रममा नेपालस्थित अमेरिकी राजदूत र्‍यान्डी बेरीले पत्रकारिता समाजको शक्तिशाली पेसा भएकोले यो पेसा सधै तथ्य र विश्वसनियतामा आधारित हुनुपर्ने बताए । उनले भने, ‘ गलत र भ्रामक समाचारहरु सम्प्रेषण भएमा समाज मिसलिड हुन सक्छ, पत्रकारिता क्षेत्रले विश्वसनियता गुमाउँदै जान्छ ।’ राजदूत बेरीले नेपाली पत्रकारितालाई थप विश्वसनिय बनाउनको लागि सबैप्रकारको सहयोग गर्नको लागि अमेरिकी राजदूताबास सधै तयार रहेको बताए ।


कार्यक्रममा प्रेस काउन्सिलकी सदस्य संगिता खड्काले नेपालमा धेरै समस्या आचारसंहिता पालना नगरेकोले भइरहेको बताइन् । उनले नेपालमा दुई हजार ५०० बढी अनलाइन दर्ता भएको भन्दै अपवाह फैलाएर डर र त्रास सिर्जना गर्ने अनलाइनहरुलाई स्पष्टिकरण लिएर गल्ती नदोहो¥याउने शर्तमा छाड्ने काम गरिएको जानकारी दिइन् । कार्यक्रममा सहभागी सबैलाई स्वागत गर्दै मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले तालिमले नेपाली पत्रकारितालाई विश्वसनिय बनाउन सहयोग पु¥याउने विश्वास व्यक्त गरे । कोरोना महामारीको समयमा लिइएको यस तालिमबाट महामारीमा फैलन सक्ने भ्रामक समाचारहरु रोकथाममा सहयोग पुगेको अपेक्षा पनि अध्यक्ष पन्तले गरे ।

कार्यक्रममा तालिममा सहभागी चितवनका पत्रकार आनन्द पोखरेलले तालिमबाट भ्रामक र सही सूचना राम्रोसँग पहिचान गर्न सिकेको अनुभव सुनाए । त्यसैगरी पूर्वी नवलपरासीबाट सहभागी अर्की पत्रकार ज्ञानु पंगेनीले कार्यक्रममा पत्रकारिता क्षेत्रमा धेरै तालिम लिएर पनि भ्रामक समाचारको पहिचान र रोकथामबारे यसपटक लिएको तालिम  नितान्त नयाँ भएको अनुभव सुनाइन् । उनले भनिन्, ‘ तालिमबाट समाचार ब्रेक गर्न हतार नगरिकन तथ्य प्रमाणित भएपछि मात्र प्रसारण गर्न सचेत गराएको छ । गल्ती सच्याउन र सूचनालाई थप प्रमाणित गर्न सिकाएको छ ।’ मिडिया एक्सनका वाग्मती प्रदेश संयोजक मधुसूदन दवाडीले संयोजन गरेको तालिममा चितवन र नवलपरासीका ३२ जना पत्रकारको सहभागिता रहेको थियो । यसअघि मिडिया एक्सनले यस्तै खाले तालिम चितवन र नवलपरासीसहित ६ वटा जिल्लामा सञ्चालन गरिसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>