Breaking News
भरतपुरको वागेश्वरी आइसोलेसनबाट २५० जना कोरोना संक्रमित निको भएर घर फर्किए

चितवन, कात्तिक १९-
भरतपुर महानगरपालिका कोभिड–१९ आइसोलेसन केन्द्र वागेश्वरीबाट बुधबार थप आठ जना निको भई घर फर्किएका छन् ।
निको भएर घर फकिर्नेहरुलाई भरतपुर महानगर प्रमुख मेयर रेनु दाहालले गुर्जोको बिरुवा र निरोगिताको प्रमाणपत्र हस्तान्तरण गर्नु भएको थियो ।
यो केन्द्रमा हालसम्म ३१० जना भर्ना भएर उपचार लिएका छन् भने अहिलेसम्म २५० जना निको भएर घर फर्किएका छन् । बुधबारको बिदाई १७ औं भएको चिकित्सालयका पदाधिकारी बताउँछन् ।
योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय भरतपुर महानगरपालिका–१ वागेश्वरीमा २०७७ भदौंबाट महानगरको सहयोगमा आइसोलेसन केन्द्र सञ्चालन गरेको हो । यहाँबाट हालसम्म कुनै पनि बिरामी रिफर गरेर बाहिर पठाउन नपरेको चिकित्सालयका निर्देशक डा. हेमराज कोइरालाले बताउनु भयो ।
यहाँ संक्रमितहरुलाई आवधिक उपवास अर्थात् ८ घण्टा खाना खाने र १६ घन्टा भोकै राखेर उपचार गरिँदै आएको निर्देशक कोइराला बताउनु हुन्छ । चिकित्सालयमा भाइरस प्रतिकारी जडिबुटी र उच्च फाइबरयुक्त भोजन गराइने गरेको छ । योग, ध्यान, सत्संग पनि नियमित हुने गरेको कोइराला बताउनु हुन्छ । यहाँको वातावरणले बिरामीको मनोबल उच्च भई बिरामीहरु शत प्रतिशत निको भएको डा. कोइरालाको भनाइ छ ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोखरेलले भरतपुर महानगरपालिकाले सञ्चालन गरेको आइसोलेसन केन्द्र देशकै नमुना भएको दाबी गर्नुभयो । राज्य हुनुको साँचो अनुभूति भरतपुर महानगरपालिकाले देखाएको बताउँदै उहाँले यो कार्यको लागि आफू यस क्षेत्रको जनप्रनिधिको हैसियतले भरतपुर महानगर प्रमुख रेनु दाहालसहित भरतपुर महानगरपालिका परिवारलाई धन्यवाद व्यक्त गर्नुभयो ।
कोरोना संक्रमितको उपचारमा आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धति सार्थक बनेको पोखरेलको भनाइ छ । महामारीको अवस्थामा नागरिकको उपचार राज्यले गर्दिन भन्न नपाउने पोखरेलको भनाइ छ । नागरिकको जीवनरक्षाको दायित्वबाट राज्य कहिल्यै पछि हट्न नहुने बताउँदै उहाँले राज्यले गरेको निर्णय सच्याएर नागरिकप्रतिको दायित्व पूरा गर्ने बाटोमा राज्य अगाडि बढ्नु पर्ने तर्क समेत गर्नुभयो ।
कार्यक्रममा सांसद पोखरेलले यो आइसोलेसनमा आएका कुनै पनि बिरामी अस्पताल जानु नपर्ने र स्टार होटल जस्तो सुविधा प्राप्त गरी निको भएर घर फर्किने बताउनु भयो । यहाँका शत प्रतिशत बिरामी निको भएर घर फर्केको सुन्न पाउदा आफूलाई निकै खूसी लागेको बताउँदैं उहाँले नागरिकलाई राज्य अभिभावक हुन्छ है भन्ने अनुभुति दिलाउने काम भरतपुर महानगरले गरेको दाबी गर्नुभयो । कोरोना संक्रमितको उपचारमा आर्युर्वेद र प्राकृतिक चिकित्सा पद्धति सार्थक बनेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, ‘अब विदेशी औषधि भन्दा पनि यहीका हावापानीे तथा जडिबुटी प्रयोग गरेर अरु रोगहरुको पनि उपचार गर्नुपर्छ ।’ यस केन्द्रमा काम गर्ने चिकित्सक, कर्मचारीलाई पारिश्रमिक, बिमादेखि बिरामीहरुलाई खाना तथा यस केन्द्रको सञ्चालनका लागि भरतपुर महानगरपालिकाले सम्पूर्ण व्यवस्थापन गरेको महानगर प्रमुख रेनु दाहालले बताउनु भयो । बिरामीको उपचारमा प्राकृतिक उपचार पद्धति सार्थक साबित भएको दाहालको भनाइ छ । योग र प्राकृतिक चिकित्सा पद्धतिलाई अझै ब्यापक र विस्तार गर्न आफू लाग्ने समेत दाहालले बताउनु भयो ।
यो विश्वव्यापी महामारीसँग लडी महानगरवासीको जीवनरक्षाको लागि भरतपुर महानगरपालिकाले हरसम्भव प्रयास गरिरहेको बताउँदै मेयर दाहालले केन्द्र सञ्चालनको लागि सबै प्ररकारको प्रबन्ध गरेको बताउनु भयो । उहाँले संघीय सरकारले कोभिडका बिरामीहरुको उपचार राज्यले नगर्ने भने पनि भरतपुर महानगरपालिकाले यस केन्द्रमा उपचारको लागि आएका बिरामीहरुको पीसीआर परिक्षणदेखि उपचार निःशुल्क रुपमै गर्ने बताउनु भयो ।
भरतपुर महानगरले सञ्चालन गरेदेखि आजका दिनसम्म प्राकृतिक चिकित्सालय प्रभावकारी रूपमा सञ्चालन भइराखेको र यहाँबाट निको भएर जानेहरुले आफूलाई निकै भाग्यमानी महसुस गर्ने गरेको आईसोलेसन केन्द्रका संयोजक तथा भरतपुर महानगर वडा नम्बर १० का अध्यक्ष अरुणपीडित भण्डारीले बताउनु भयो ।


























