Breaking News
सर्वोच्चले दर्ता गर्यो स्वास्थ्यमन्त्री विरूद्धको निवेदन, १ वर्षसम्म कैद र १० हजार जरिवाना तिराउन माग

काठमाडौं, कात्तिक १७-
स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध अदालतको अवहेलना निवेदन दर्ता भएको छ ।
कोरोनाको सबै उपचार सेवा निःशुल्क गर्न सर्वोच्च अदालतले दिएको परमादेश कार्यान्वयन नगरी अदालतको अवहेलना गरेको भन्दै आइतबार अधिवक्ता लोकेन्द्र वली र केशरजंग केसीले प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल विरूद्ध अवहेलनाको निवेदन सर्वोच्चमा पेश गरेका थिए ।
प्रधानमन्त्री ओली र स्वास्थ्यमन्त्री ढकाल विरूद्ध पेश भएको अवहेलना निवेदनबाट प्रधानमन्त्रीको नाम हटाउन लगाएर सर्वोच्च अदालतले दर्ता गरेको छ ।
हिजो पेश भएको निवेदन आज दर्ता गरिएको सर्वोच्च अदालतले जनाएको छ ।
यो निवेदन दर्ता प्रकृयाको अन्तिम चरणमा पुगेपछि अदालत प्रशासनले नमिलेको भन्दै रोकेको थियो।
मूल मुद्दामा जसलाई विपक्षी बनाइएको हो अवहेलनामा पनि त्यसलाई मात्रै विपक्षी बनाउनुपर्ने तर्क सर्वोच्चले गरेको थियो।
रिट निवेदकले भने सर्वोच्चको आदेश विपरित कोरोना परीक्षणदेखि उपचार गर्दासम्म शुल्क लाग्ने निर्णय मन्त्रिपरिषदले गरेकाले नेतृत्व प्रधानमन्त्रीलाई पनि विपक्षी बनाइएको बताएका थिए ।
सर्वोच्चले निवेदनमा प्रधानमन्त्रीलाई विपक्षी नबनाई मूल मुद्दाका विपक्षीलाई मात्र विपक्षी बनाएर ल्याए दर्ता गर्ने, नभए नगर्ने बताएपछि निवेदकले सच्याएका हुन्।
























