Breaking News

चितवन बारमा चुनावी सरगर्मी, प्रगतिशिल र लोकतान्त्रिक समूह भिड्दै

Banner

मधुसूदन दवाडी

चितवन, कात्तिक ५

चितवन जिल्ला बार एसोसिएसनको चुनावी सरगर्मी बढ्दै छ । कोरोनाको वास्ता नगरी प्रत्यक्ष भेटेर वा सामाजिक सञ्जालमार्फत सबै उम्मेदबार भोट माग्न व्यस्त भएका छन् ।
कात्तिक २१ गते हुने २१ औँ अधिवेशनका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा निकट र प्रमुख प्रतिपक्षी कांग्रेस निकट कानुन व्यवसायीहरु प्यानल बनाएर असोज २९ गते निर्र्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन् ।

पेसागत तथा प्रगतिशील कानुन व्यवसायी संगठन (पीएलए) समूहले रामकृष्ण अधिकारीलाई अध्यक्ष पदको लागि अगाडि सारेको छ भने वृहत् लोकतान्त्रिक कानुन व्यवसायी (डीएलए) समूहले डा हरिहर पोखरेललाई अध्यक्षमा अगाडि सारेको छ । दुवै समूहबाट अध्यक्षमा जुझारू, अनुभवी अधिवक्तालाई उम्मेदवार छनोट गरिएको उनीहरुको दाबी छ । प्रगतिशील कानुन व्यवसायी संगठनबाट अध्यक्षका उम्मेदवार अधिकारीलाई साथ दिनको लागि उपाध्यक्षमा रामचन्द्र देवकोटा, सचिवमा विनोद मिश्र, कोषाध्यक्षमा बद्रीनाथ पण्डित र सहसचिवमा शोभा भट्टराई रहनु भएको छ । सदस्यहरुमा कुलचन्द्र खनाल, जनक पौडेल, रामनाथ घिमिरे, कृष्णप्रसाद पन्त, अजयकुमार तामाङ, विकास गुरुङ, सपि मिया र कल्पना लोहनी चुनावी मैदानमा हुनुहुन्छ । प्रगतिशिल पक्षबाट टेकनाथ अधिकारी, तुलसीराम पाण्डे, शिवराम महतो, कुमराज सिलवाल, पासाङ लामा, बामदेव अधिकारी, जीवनज्योति विश्वकर्मा र नारायण गिरी केन्द्रीय पार्षद पदमा उठ्नु भएको छ ।

त्यसैगरी वृहत् लोकतान्त्रिक कानुन व्यवसायीहरुको तर्फबाट अध्यक्ष पोखरेललाई उपाध्यक्ष मुन्ना विक्रम खाती, सचिवमा श्रीराम दवाडी, कोषाध्यक्ष बलराम पौडेल र सहसचिवमा पृथ्वीदेवी सुवेदीले साथ दिनु भएको छ । सदस्यहरुमा तृष्णा न्यौपाने, शेखरनाथ पोखरेल, हरिहर दवाडी, बासुदेव अचार्य, सुरेन्द्रराज सुवेदी, प्रेमकुमार श्रेष्ठ, तीर्थराज पोखरेल र विष्णुहरि कोइराला हुनुहुन्छ । हिरादत्त तिवारी, गोविन्द गौतम, दिवाकर भुसाल, रामचन्द्र भट्ट, लोकनाथ शर्मा, पदमकुमार श्रेष्ठ, पूर्णचन्द्र चापागाई र गोमा न्यौपाने भण्डारी केन्द्रीय प्रतिस्पर्धामा चुनावी मैदानमा हनुहुन्छ । दुवै समूहबाट १३ जना पदाधिकारी र ८ जना केन्द्रीय पार्षद् चुनावी मैदानमा हुनुहुन्छ ।

२०४९ सालबाट कानुन व्यवसायको क्षेत्रमा प्रवेश गर्नुभएका प्रगतिशिल समूहका अधिकारी रत्ननगरको टाँडी चोकको स्थायी बासिन्दा हुनुहुन्छ । २०५९ सालमा प्रतिद्वन्द्वी उम्मेदवार पोखरेल चितवन बारको केन्द्रीय पार्षद हुँदा सचिव पदमा रहेर काम गरिसक्नु भएको छ । उहाँले बिगतमा पापडको संयोजकदेखि केन्द्रीय बारको विभिन्न उपसमितिमा रहेर काम गरिसक्नु भएको छ । मानवअधिकार, महिला र बालअधिकारको क्षेत्रमा पनि उहाँसँग निकै राम्रो कार्यअनुभव छ ।

अधिकारीका प्रतिद्वन्द्वीका रुपमा उभिनुभएका डा हरिहर पोखरेल भरतपुर महानगरपालिका वडा नम्बर १० को स्थायी बासिन्दा हुनुहुन्छ । त्रिभुवन विश्वविद्यालयको सहप्राध्यापक भएर भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पसमा कार्यरत उहाँले राजनीति शास्त्रमा पीएचडी गर्नुभएको छ । उहाँ कानुन व्यवसायमा लाग्नुभएको ३५ वर्ष भएको छ । यसअघि पनि चितवन बारमा केन्द्रीय पार्षद बन्नु भएको पोखरेल अहिले  पहिलो पटक  चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

लोकतान्त्रिक पक्ष र प्रगतिशिल प्यानलको चुनावी घोषणापत्र हेर्दा खासै ठूलो सैद्धान्तिक र व्यवहारिक भिन्नता देखिँदैन । कानुनी शासन, मानवअधिकार र लोकतन्त्रका आधारभूत मूल्य मान्यतामा दुवै समूह प्रतिबद्ध देखिन्छन् । प्रगतिशिल पक्षले बारको भौतिक संरचना निर्माणदेखि बार र बेञ्चको सुमधुर सम्बन्धलाई आफ्नो चुनावी घोषणापत्रमा समेटेको छ । पुस्तकालय निर्माणदेखि वकिलहरुको एकेडेमी खोल्नेसम्मको विषयलाई प्राथमिकतामा राखेको छ । पेसाको आत्मसम्मान बढाउने विषयलाई पनि घोषणापत्रमा जोड दिइएको छ ।

त्यसैगरी लोकतान्त्रिक पक्षले पनि पुराना अधिवक्ताहरुको सम्मान र सिपको हस्तान्तरण गर्नेदेखि नयाँ पुस्तालाई पेसामा स्थायित्व बनाउने विषय घोषणापत्रमा उल्लेख गरेको छ । वकिलहरुको क्षमता अभिवृद्धि गर्ने देखि उनीहरुको सम्मान बढाउने विषयलाई पनि प्राथमिकतमा राखेको छ ।

आआफ्नै जितको दाबी

दुवै उम्मेदवारले नारायणी अनलाइनसँगको कुराकानीमा आफूले जित्ने दाबी गरेका छन् । पीएलए समूहका अध्यक्ष अधिकारीले भन्नुभयो ‘पीएलएको पूरै उम्मेदवारको जित सुनिश्चित छ, किनभने हाम्रो पक्षमा बहुमत सदस्यहरु हुनुहुन्छ । स्वतन्त्रको मत पनि हामीलाई आउँछ ।’ उहाँले चितवन बारमा आफ्नो जित भए बारको भौतिक संरचना बनाउने, ई–लाइब्रेरीको निर्माण गर्ने, बार र बेञ्चको सम्बन्ध सुमधुर बनाउने प्रतिबद्धतासमेत गर्नु भएको छ । सबैसँग घुलमिल हुन सक्ने र निरन्तको क्रियाशिलता तथा व्यापक जनसम्पर्कको कारणले पनि आफूले जित्ने अध्यक्ष पदका उम्मेदवार अधिकारीले दाबी गर्नुभयो ।

त्यसैगरी डीएलएका अध्यक्षका उम्मेदवार पोखरेलले भन्नुभयो, ‘चुनावमा जित्छु त सबैले भन्छन् । उनीहरुले पटक पटक जिते तर केही गरेनन् सुतेर बसे । बार एशोसिएसन भनेको बुद्धिजीवीहरुको संस्था हो त्यसैले विवेकशिल ढंगले मत दिएर मलाई जिताउनुहुन्छ भन्ने मलाई विश्वास छ ।’

कस्तो छ अंकगणित ?

चितवन बारमा १९८ जना मतदाताहरु छन् । जसमा प्रगतिशिल र लोकतान्त्रिक भनेर चिनिएका मतदाताहरु लगभग बराबर जस्तै देखिन्छ । थोरै संख्यामा मात्र प्रगतिशिलको बढी मत छ । जसमा कतिपय स्वतन्त्र ढंगले काम गरिरहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी निकटका २ जना कानुन व्यवसायीले एक जना प्रगतिशिल खेमातिर र अर्काे लोकतान्त्रिक खेमातिर उभिएका छन् । नेकपाभित्रको गुटउपगुट र विभाजनले प्रगतिशील पक्षको मत क्रस हुने लोकतान्त्रिक पक्षको दाबी छ भने सबै एकमत भएकोले जित सुनिश्चित भएको प्रगतिशील पक्षको दाबी छ । चितवन बार एशोसिएनको इतिहास हेर्दा २०५९ साल अघि एकछत्ररुपमा लोकतान्त्रिक पक्षले जितेको देखिन्छ भने २०५९ सालपछि निरन्तररुपमा प्रगतिशिल पक्षले जित्दै आएको छ । यसपटक कसको पल्ला भारी हुनेछ त्यसको लागि भने अझै केही दिन पर्खनुपर्ने हुन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>