Breaking News
चिनियाँ अधिकारी भन्छन् – हुम्लानजिक बनाइएका भवन चीनभित्रै

काठमाडौं, कार्तिक १-
चीनले आफूले हुम्लानजिक बनाएका भवन नेपालको सीमाभन्दा एक किलोमिटरवरै आफ्नै भूमिमा पर्ने दाबी गरेको छ ।
चिनियाँ सरकारको मुखपत्र दि ग्लोबल टाइम्ससँग बुराङका विदेशी मामिला निर्देशक बकीले मे महिनामा सो भवनहरु निर्माण गर्नुभन्दा पहिला सेना र सर्वेका अधिकारीहरुले सो भवन निर्माण चिनियाँ भूभागभित्र नै बनोस् भनी विस्तृत सर्बे र म्यापिङ गरेको बताएका छन् ।
उनले भनेका छन्, ‘सो भवन पूर्णरुपमा चीनको भूभागभित्र पर्छ र सबैभन्दा नजिकको भवन चीन–नेपाल सीमाभन्दा एक किलोमिटर टाढा रहेको छ ।’ उनले नयाँ गाउँ निर्माण गर्ने कार्य अन्तिम चरणमा पुगेकोसमेत जानकारी दिएका छन् ।
नेपालमा चीनले सीमा मिचेको विषय उठेपछि चिनियाँ अधिकारीहरुले दोस्रोपटक फिल्ड सर्वे र मापनको काम गरेका थिए । सो टोलीले भवन चीनको बुराङ गाउँमा नै पर्ने निष्कर्ष निकालेको थियो । चिनियाँ सरकारी अधिकारीहरुले सो गाउँ व्यापार बढाउन बनाइरहेको र निर्माण गर्ने समयमा नेपाली अधिकारीहरुसँग कुनै पनि विवाद नभएको उल्लेख गरेका छन् ।
नेपाल सरकारले पनि ती भवन चीनतर्फ निर्माण भएको जनाइसकेको छ। तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यस विषयमा अध्ययन गर्न प्राविधिक टोली पठाउन सरकारसँग माग गरिरहेको छ ।
साथै भारतीय मिडियाले चीनसँगको सीमा विवादलाई उचालेको आरोप पनि ग्लोबल टाइम्सले जनाएको छ ।
























