Breaking News

चितवनमा नमुना एकीकृत कृषि सर्वेक्षण: व्यवसायिक कृषिमा किसानको आकर्षण बढ्न सकेन

Banner

चितवन, असोज २६-

चितवनमा गरिएको नमुना एकीकृत कृषि सर्वेक्षणले व्यवसायिक कृषिमा किसानहरुको खासै आकर्षण बढ्न नसकेको पाइएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय र केन्द्रीय तथ्यांक विभागको सहकार्यमा नेपालमा नै पहिलो पटक चितवनको खैरहनी नगरपालिकामा भएको सर्वेक्षणमा व्यवसायिक कृषि खेती गर्ने किसानको संख्या निकै कम पाइएको हो । त्यस्तै किसानमा कृषि खेतीसम्बन्धी व्यवसायिक ज्ञानको पनि अभाव रहेको सर्वेक्षणले देखाएको छ ।

सर्वेक्षण अनुसार चितवनमा व्यवसायिक कृषि कार्य गर्ने कृषक परिवारको संख्या दुई हजार १५४ जना रहेको छ भने गैरव्यवसायिक कृषक परिवार संख्या एक लाख चार हजार ६४६ जना रहेको छ । जुन तथ्यांकले व्यवसायिक कृषि पेसा अपनाउनेहरुको संख्या धेरै कम देखिन्छ । जसमा २३ जना व्यवसायिक किसानले आफ्नो जग्गा नभए पनि अरुको जग्गामा खेती गरेका छन् । गैर व्यवसायिक कृषक परिवार संख्या एक हजार ६४७ समेत गरी कूल एक लाख ८ हजार ५७० कृषक परिवार कृषि कार्यमा संलग्न रहेको देखिन्छ ।

त्यसैगरी सर्वेक्षणमा किसानले खेती गरेको जम्मा जमिनको क्षेत्रफल पनि घट्दै गएको देखिन्छ । सर्वेक्षणमा ३९ हजार ८.३ हेक्टरमा खेती भएको देखिएको छ जुन गत कृषि गणनाको भन्दा एक हजार ६२३.३ हेक्टरले कम छ । त्यस्तै अध्ययनमा कृषि परिवार औषत शून्य दशमलब ३६ हेक्टरमा खेती गरेको देखाएको छ जुन गत कृषि गणनाको भन्दा ०.१ हेक्टरले कम हो । सर्वेक्षणमा धान र मकै खेती गरिएको जग्गाको क्षेत्रफल पनि घट्दै गएको पाइएको छ । चितवनमा केरा र आँप खेती गरिएको जग्गाको क्षेत्रफल गत कृषि गणनाको भन्दा क्रमशः ९४७.६ र १३.४ हेक्टरले बढी छ । यसबाट परम्परागत खेती प्रणाली छाडेर नयाँ फलफूल खेती तर्फ किसान आकर्षित भए जस्तो देखिन्छ ।

सर्वेक्षणको नतिजाअनुसार केरा र आँपलाई चितवनको प्रमुख स्थायी बालीको रुपमा देखाएको छ । जसअनुसार ११ हजार १५८ कृषक परिवारले एक हजार ४७०.७ हेक्टरमा केरा खेती गरी ६९ हजार ८८२.५ मेट्रिक टन केरा उत्पादन भएको छ । यसैगरी ८७.७ हेक्टर जग्गामा बगैँचाको रुपमा खेती गरी २६ हजार १५५ मेट्रिक टन आँप उत्पादन भएको पाइन्छ । कम्पोष्ट मलको तुलनामा रासायनिक मल प्रयोग गर्ने किसानको संख्या बढी रहेको अध्ययनले देखाएको छ ।

त्यस्तै नमुना सर्वेक्षणमा भैँसी, बाख्रा र सुँगुरको संख्या क्रमशः ३, १७ र ४७ प्रतिशतले घटेको छ तर गाई र कुखुराको संख्या भने ३३ र ४७ प्रतिशतले बढेको देखिन्छ । किसानले उत्पादनपछि बाली भण्डारण गर्दा हजारौ किलो धान, मकै र आलु क्षति हुन गएको अध्ययनमा पाइन्छ । सर्वेक्षण अनुसार ९ प्रतिशत कृषक परिवारले मात्र कृषि ऋण लिएका छन् भने जम्मा २० प्रतिशत किसानले मात्र कृषि बिमा र १९ प्रतिशतले पशु बिमा गरेको भेटिएको छ ।

अर्काेतर्फ अध्ययनमा धेरै कम किसानले मात्र माटो परीक्षण गराउने गरेका छन् । माटो परीक्षण गराउने कृषकको संख्या ७.१ प्रतिशत छ भने ३.३ प्रतिशतले पाँच वर्षमा माटो परीक्षण गराएका छन् । माटो परीक्षणपछि यसको गुणस्तरमा सुधार ल्याउन कृषि चुनको प्रयोग गर्ने किसान ४९.५ प्रतिशत रहेका छन् ।  सर्वेक्षणको लागि खाद्या तथा कृषि संगठनको एकीकृत कृषि सर्वेक्षण कार्यक्रमले आर्थिक तथा प्राविधिक सहयोग गरेको थियो । यस नमुना सर्वेक्षणमा घरपरिवार तथा गैरघरपरिवारले दर्ता गरी वा नगरी दुवै प्रकारले सञ्चालन गरेका सम्पूर्ण कृषि कार्यहरु समावेश भएको दोहोरो फ्रेम विधिको प्रयोग गरिएको थियो । घर परिवार स्तरका विवरणहरु दुई चरणमा आधारित स्तरीकृत नमुना छनौट विधिको प्रयोग गरी विवरणहरु सर्वेक्षणमा संकलन गरिएको छ । सर्वेक्षणमा चितवन जिल्लाका लागि कुल ८९७ गैरव्यवसायिक कृषक परिवार र ३०७ वटा व्यवसायिक कृषक परिवारबाट र खैरहनी नगरपालिकामा कुल ३१५ गैरव्यवसायिक कृषक परिवारबाट नमूना छनोट मार्फत् कृषि क्षेत्रका विवरणहरु संकलन गरिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>